काठमाडौं । नेपाल चिनाउने तस्विर अन्तर्राष्ट्रिय स्तरमा देखिन पाउनु एउटा गर्वको क्षण हो। तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तस्विर र भिडियो खिच्नु मेरो लागि निकै कठिन पल बन्यो।
भदौ २३ बिहानैदेखि सुरु भएको जेन जी विद्रोह सरकारी पक्षको दमन र कलिला युवाको सहादतले आन्दोलनमा परिणत भयो। फलस्वरुप २४ गते कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका नै जल्यो। देशकै प्रशासन चलाउने सिंहदरबार आगोले दनदनी भयो।
जति पीडा पहिलो दिनको त्रासदी खिच्दा, आफूसँगै तस्विर खिच्दै गरेका साथीहरुलाई गोली लाग्दा र आँखै अगाडी गोली जाँदा महसुस भएको थियो त्यस्तै त्रास र दोमन थियो भोलिपल्टको क्षण पनि।

बानेश्वरमा गोली चलेको रात कार्यालयमै भोलिको दिनबारे सोच्दै ननिदाएका आँखा, भोलिपल्ट बिहानैदेखि फिल्डमा खटिँदाको अनुभव, दुःख, संघर्ष र जिम्मेवारीका बहनको भाव भने अझै गहिरो छ।
विदेशमा देश नै जलेका तस्विरहरु वायर एजेन्सी र अन्तर्राष्ट्रिय संचारमाध्यममा नदेखिने होइन। त्यस्तै परिवेशमा फोटो पत्रकारिता कति कठिन होला भन्ने जहिलै मेरो मनमा रह्यो। नभन्दै जेनजी विद्रोहले अहिलेसम्मको पत्रकरिता यात्राकै सबैभन्दा जोखिमपूर्ण क्षण कभरेज गरायो मलाई।
२४ गते ठाउँ ठाउँमा टायर बलिरहेको थियो। सरकारी भवन तोडफोड र आगजनी हुँदै थियो। सिंहदरबार क्षेत्र तिर भिड बढ्दै थियो। रामशाह पथभर चिर्किएका सिसाका टुक्रा छरिएका थिए। र चारैतिर चर्को नाराबाजी गुञ्जिरहेको थियो।

केही प्रदर्शनकारीहरुले सर्वोच्च अदालत परिसरबाट लुटेका प्रहरीका बन्दुक निकालेर हिँड्न थालेका थिए। जसले वातावरणलाई थप तनावपूर्ण बनाइरहेको थियो।
बन्दुकसहितको एउटा भीड बलपूर्वक अघि बढ्यो सिंहदरबार तर्फ। तस्विर खिच्दै हिँडेको म पनि प्रदर्शनकारीलाई पछ्याउँदै पुगें सिंहदरबारको गेटमा। प्रदर्शनकारीलाई रोक्ने सामर्थ्य त्यसबेला सुरक्षाकर्मीमा भएन। बलपूर्वक उनीहरुले गेटलाई हिर्काउँदै सिंहदरबार प्रवेश गरे। तोडफोड गर्न थाले र सुरु भयो आगजनी।

म पुग्दा प्रदर्शकारीले सिंहदरबार जलाउन थालिसकेका थिए। पुरै धुवाले ढाकेको थियो देशकै प्रशासन सम्हाल्ने दरबार। केही प्रदर्शनकारी फर्निचर, कागजपत्र समेत बोक्दै बाहिर निक्लिरहेका थिए। यहि बेला हो मैले अहिले विश्वभर चर्चामा रहेको सिंहदरबारमा आगो दन्किरहेको तस्विर खिचेको क्षण।
२४ गते दिउँसो ठिक ४:४८ बजे यो तस्विर खिचिएको हो। ग्राउन्ड जिरोमा खटिएर तस्विरको माध्यमबाट शब्द भन्न खिचिएको त्यो तस्बिर टाइम म्यागेजिनको ‘२०२५ का उत्कृष्ट १०० तस्विर’ मा परेको छ। अहिले यही तस्विरले पाएको उपलब्धी नेपाली संचारमाध्यममा साझा भइरहेको छ।



त्यो तस्विर उत्कृष्ट १०० मा पर्दा मलाई लागेको छ- त्यो क्षण केवल पेशागत उपलब्धि मात्र होइन। यसले फोटो पत्रकारिता किन महत्वपूर्ण छ भन्ने कुरालाई समेत बुझाएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कथा, नेपाली युवाहरूको आवाज र संवेदनशील वास्तविकता देखाउन पाउनु मलाई पत्रकारिताले दिएको प्रेरणा हो।
हो, त्यो तस्विरले देशलाई त चिनायो तर, तस्विरले दिएको सन्देश भने पक्कै पनि देशको लागि राम्रो होइन। त्यसैले यस्ता तस्विर अब फेरि फेरि खिच्न नपरोस, देशले शान्ति, समानता र सुशासन रोजोस्।
