BIZMANDU
www.bizmandu.com

कंक्रिटका भवनबीच सुनौलो गिंको फूलले सजिएको टोकियो सहर (तस्विरहरु)

२०८२ मंसिर ११

कंक्रिटका भवनबीच सुनौलो गिंको फूलले सजिएको टोकियो सहर (तस्विरहरु)
कंक्रिटका भवनबीच सुनौलो गिंको फूलले सजिएको टोकियो सहर (तस्विरहरु)


टोकियो । यस वर्षको शरद ऋतु सुरु भएपछि जापानको टोकियोका सडक र पार्कहरु सुनौलो फूलले सजिएका छन्। गिंको रुखमा फलेका फूलको रंगको जादूले मलाई क्यामेरा बोकेर बाहिर निस्कन बाध्य बनायो।

Tata
GBIME

व्यस्त र कंक्रिटको जंगलबीच फैलिएको रातो र सुनौलो रंग देखेर कुनै पनि फोटोग्राफर मोहित हुने ने भए।

गिंकोका पातहरुले सडकलाई पूरै सुरुङ जस्तै परिदृश्यमा परिवर्तन गरेको छ। म एउटै ठाउँमा बसेर लगातार आफ्नो क्यामेराको सटर बटन थिचिराखेको थिएँ, किनकि हरेक सेकेन्डमा दृश्य बदलिइरहेको थियो।

हरेक परिवर्तनको कथा छुट्टाछुट्टै थियो। कतिपय ठाउँमा बच्चाहरु हाँस्दै रमाउँदै पातका थुप्राहरू उचाल्दै खेलिरहेका थिए। उनीहरुको त्यो खुसीले त्यो सुनौलो वातावरणलाई झन् जीवन्त बनाइरहेको थियो।

टोकियोको अर्को कुनामा मेपलका राता पातहरूले सहरलाई अर्कै भावनामा रंग्याइरहेको छ। म पार्कको एक कुनामा बसिरहँदा मानिसहरु मेपलको छहारी मुनि हिडिँरहेका थिए। कोही फोटो खिच्दै थिए, मेपल र आफूलाई क्यामरामा कैद गर्दै थिए। म पनि स्थानीय भावनामा बगेँ।

शरद ऋतुको यो सुन्दरता फेरि देखे पछि मात्र मैले महसुस गरें कि जापानको बसाइ पनि एक वर्ष भइसकेछ। टोकियोको सुनौलो गिंकोले छोपेको यो सडक र रातो मेपलले रंगिएको पार्कहरु र सहरको चहलपहलबीच मलाई लाग्यो टोकियो केवल भविष्यतिर दौडिने सहर होइन।

यो सहर प्रकृतिको न्यानो अंगालोमा बास बस्ने सहर पनि हो। म यसअघि पनि वसन्तमा फुलेको साकुरा चेरी ब्लसम मुनि पनि क्यामेरा बोकेर उभिएको थिएँ। टोकियोको यो परिवर्तित दृश्य हेर्न र यसमा रमाउन यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ।