हङकङ। अलिबाबाको क्लाउड व्यवसायको आम्दानी यसपटक ३४ प्रतिशत बढेको छ। यसलाई एआइको बढ्दो प्रयोगलाई मुख्य कारण मानिएको छ। तर कम्पनीको कुल आम्दानी भने धेरै बढेको छैन।
अघिल्लो वर्षको तुलनामा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिक आम्दानी ५ प्रतिशत मात्र वृद्धि भई २४७.८ अर्ब युआन (३५ अर्ब डलर) पुगेको छ। मुनाफा भने ५२ प्रतिशतले घटेको छ। चीनमा ई–कमर्स र फूड डेलिभरी क्षेत्रमा चलेको तीव्र मूल्य प्रतिस्पर्धाले नाफामा दबाब परेको बताइएको छ। यसको प्रतिद्वन्द्वी जेडी डटकमको पनि यो अवधिमा नाफा ५५ प्रतिशतले घटेको थियो।
अलिबाबा सुरुमा ई–कमर्स कम्पनी थियो, तर पछिल्लो समय कम्पनीले क्लाउड सेवा र एआइमा ध्यान केन्द्रित गरेको छ। यस वर्ष अलिबाबाले तीन वर्षभित्र ३८० अर्ब युआन (५३ अर्ब डलर) क्लाउड र एआइ पूर्वाधार विकासमा लगानी गर्ने घोषणा गरिसकेको छ। सीइओ इडी वुले एआइमा गरिएको ठूलो लगानीले आम्दानी बढ्न सहयोग गरेको बताएका छन्। गत त्रैमासिकको तुलना गर्दा क्लाउड आम्दानी वृद्धि दर यसपटक अझ बढी छ। अघिल्लो त्रैमासमा २६ प्रतिशत रहेकोमा यसपटक ३४ प्रतिशत भएको छ।
कम्पनीले एआइको माग झनै बढ्दै गएको र भविष्यमा यसको बजार अझ ठूलो हुने विश्वास व्यक्त गरेको छ। हाल घोषित ३८० अर्ब युआनभन्दा पनि बढी लगानी गर्नुपर्ने सम्भावना रहेको कम्पनीको भनाइ छ।
सोमबार मात्र अलिबाबाले आफ्नो उन्नत एआइ च्याटबोट क्वेन सार्वजनिक गरेको थियो, जसले ओपनएआइको च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने उद्देश्य राखेको छ। सार्वजनिक भएको पहिलो सातामै यो एक करोड पटक डाउनलोड भएको कम्पनीले जनाएको छ।
हङकङमा अलिबाबाको सेयर २ प्रतिशतले बढ्यो, र न्युयोर्क स्टक एक्सचेञ्ज खुल्नु अघि पनि २.४ प्रतिशतले बढेको थियो। यस वर्ष अहिलेसम्म अलिबाबाको सेयर मूल्य ९० प्रतिशतभन्दा बढी वृद्धि भइसकेको छ, जसको मुख्य कारण एआइ क्षेत्रमा कम्पनीको प्रगति हो।
यसैबीच टेन्सेन्टले १५ प्रतिशत आम्दानी वृद्धि गरे पनि ‘बैडु’को आम्दानी सोही अवधिमा ७ प्रतिशतले घटेको छ। एआइ बजारमा आवश्यकताभन्दा बढी चमक देखिएको हो कि भन्ने विश्लेषकहरुले चिन्ता गर्दा गत हप्ता एनभिडियाले राम्रो कमाइ देखाएपछि लगानीकर्तामा डर केही कम भएको सेयर बजारमा देखिएको छ। (एपी)