BIZMANDU
www.bizmandu.com

बैंकका कर्मचारीलाई अभियन्ता भन्दै धम्की, घरको ठेगाना र बच्चाको स्कुलको नामबाट त्रास देखाइँदै

२०८२ मंसिर १०

बैंकका कर्मचारीलाई अभियन्ता भन्दै धम्की, घरको ठेगाना र बच्चाको स्कुलको नामबाट त्रास देखाइँदै
बैंकका कर्मचारीलाई अभियन्ता भन्दै धम्की, घरको ठेगाना र बच्चाको स्कुलको नामबाट त्रास देखाइँदै


काठमाडौं। ‘तपाइँको घर कहाँ छ त्यो पनि देखेका छौं। छोराछोरी कुन स्कुल पढ्छन् त्यो पनि थाहा छ।’

Tata
GBIME

फोनको अर्को छेउबाट थर्काउने शैलीमा आएको यो आवाजले नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ महाशाखाका एक कर्मचारीको मनमा चिसो पस्यो।

‘तिमीहरुले मलाई कालोसूचीमा राख्न लगाएको होइन’ भन्दै ती ‘अभियन्ता’ले घरको लोकेसनदेखि बच्चा पढ्ने स्कुलको नामसमेत भने। धम्क्याउँदै फोन र एसएमएस आउन थालेपछि कर्मचारी आत्तिए।

‘सर, मलाई त डर लाग्न थाल्यो,’ ती कर्मचारीले आफ्ना हाकिमसामु भने। ती हाकिम आफैं पनि पीडित थिए। केही दिनअघि जिल्ला घुम्न जाँदा उनलाई त्यसै गरी केही व्यक्तिले धम्क्याएका थिए। 

फोनमा धम्क्याउनेहरु आफैं ऋणी भने होइनन्, कसैको ‘उद्दारक’ बन्न खोजेर ऋणीको पक्षबाट बोलिरहेका हुन्। 

‘एकाधले धम्क्याउने, तर्साउने भन्ने त जहिले पनि हुन्थ्यो,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘अहिले संगठित रुपमै धम्क्याउन थालेको महशुस भएको छ। गिरोह नै सक्रिय छ कि जस्तो लाग्छ।’

राष्ट्र बैंकका कर्मचारीले अहिलेसम्म प्रहरीमा उजुरबाजुर गरेका छैनन्। तर, कार्यालयभित्र भने यस बारेमा के गर्ने भनेर कुराकानी चलेको छ।

‘अहिले बैंकरहरूलाई पनि धम्की दिन थालेका छन्। ऋण उठाउन जानेहरुलाई रोक्ने, अवरोध गर्ने काम बढेको गुनासो आइरहेको छ,’ ‍धम्की पाएका ती उच्च अधिकारीले बिजमाण्डूसँग भने, ‘जेनजी आन्दोलनपछि विभिन्न गिरोह, अभियन्ताका नामबाट आतङ्कित पार्न थालिएको छ।’

भदौ २३ र २४ को आन्दोलनपछि बढ्दो अराजकताले व्यावसायिक क्षेत्रमा जस्तै बैंकिङ क्षेत्रमा पनि त्रास फैलिएको छ। 

बैंकले आवश्यक धितो राखेर ऋण दिएको हुन्छ। केही समयपछि ऋण भुक्तान हुन छाड्छ। बैंकले ऋण उठाउन कानुनी बाटोबाट कारबाही सुरु गर्छन्। त्यो कारवाही रोक्नका लागि धम्क्याउने, तर्साउने गर्न थालिएको छ।

‘कतिपय गुनासा जायज पनि हुन्छन्। त्यसमा त राष्ट्र बैंकले ऋणीलाई सहयोग गरिदिने गरेको छ। तर, यहाँ कानुनी प्रकृया नै हातमा लिएर अहिले धम्क्याउन थालिएको छ’ उनले भने। 

भदौ २३ र २४ को आन्दोलनपछि अभियन्ताको नाममा उच्छृङ्खल व्यक्तिले टोली बनाएर बैंकका शाखामा जाने, म्यानेजरको कोठामा गएर बस्ने, अश्लिल भाषा प्रयोग गर्ने गर्न थालेका छन्। त्यसमाथि विवादास्पद व्यवसायी दुर्गा प्रसाइँसँग सरकारले गरेको पछिल्लो सम्झौतापछि धम्क्याउने क्रम अझ बढेर गएको छ।

सरकारले प्रसाइँसँग २० लाख रुपैयाँसम्मको ऋण मिनाहाका लागि सरोकारवालासँग छलफल गर्ने भन्ने समझदारी गरेको छ। यससँगै कालोसूचीबाट हटाउने सम्बन्धी प्रक्रिया अगाडि बढाउन राष्ट्र बैंकसँग कुराकानी गर्ने भनेर सम्झौता गरिएको छ। त्यसपछि प्रसाइँदेखि अन्यले बैंकमै गएर कर्मचारी थर्काउने घटना बढ्न थालेको हो।

जेनजी आन्दोलनअघि पनि ऋण उठाउन जाने कर्मचारीमाथि हातपातका एकाध घटना भइरहेका थिए। लिलाम गर्दा वडाध्यक्षले ‘घरबाटो सिफारिस’ नगरेर असहयोग गर्दै आएका थिए।

तर, जनेजी आन्दोलनपछि भने ‘गभर्नरको, अर्थमन्त्रीको घर डढाएको थाहा छ कि छैन? अब तिमीहरुको पनि डढ्ला नि’ भन्दै धम्की आउन थालेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले सुनाए।

कोभिडका कारण गरिएको लकडाउनपछि अर्थतन्त्र समस्यामा गएको थियो। त्यसले गर्दा धेरै व्यापार व्यवसायदेखि व्यक्तिगत ऋण समस्यामा परेका थिए। त्यसलाई राहत पुर्‍याउन राष्ट्र बैंकले एकपछि अर्को सहुलियत दिँदै आएको थियो।

तर नियतवश ऋण नतिर्नेहरुलाई बैंकले दबाब दिन थालेका थिए। जेनजी आन्दोलनपछि त्यस्ता ऋणीको पक्षमा विभिन्न ‘अभियन्ता’को नाममा धम्क्याउन सुरु गरिएको छ।

‘केही समय लिलामी रोक्दा पैसा उठ्छ भने त्यस्तोमा सहजीकरण गर्ने गरिएको छ। तर यहाँ तिर्नका लागि होइन नतिर्नका लागि धम्क्याउन सुरु भयो,’ जिल्ला दौडाहामा रहेका एक बैंकरले सुनाए।

पहिले पनि ऋणीहरुले धम्की दिन्थे। तर त्यो व्यक्तिगत हुन्थ्यो। अहिले संगठितरुपमा धम्की आउन थालेपछि बैंकरहरु डराउन थालेका छन्। 

‘वास्तविक ऋणीले धम्की दिएको भए त्यो अर्कै कुरा हुन्थ्यो,’ ती बैंकरले भने, ‘अहिले समूहबाट धम्की आइरहेको छ। यस्ता संगठित धम्कीले काम गर्ने वातावरण बिगार्छ।’

कतिपय बैंकमा काम गर्ने कर्मचारीले आफूहरूलाई राजनीतिक समूहले पनि दबाब दिन थालेको बताउने गरेका छन्। असुरक्षा र अराजकताको अवस्था लम्बियो भने बैंकिङ क्षेत्र नै संकटमा पर्ने बैंकरहरुले बताउन थालेका छन्।

‘कर्मचारीहरू डराए भने कसरी काम हुन्छ?’ एक बैंकरले भने, ‘ऋण कसैले नतिर्ने, बैंकले पनि उठ्दैन भनेर ऋण दिन छाड्यो भने त्यसको असर के हुन्छ?’ 

बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले व्यक्तिगत पहुँचका आधारमा प्रहरीका हाकिमसँग सुरक्षा माग गर्न थालेका छन्। तर, प्रहरीका अधिकृतहरु नै आफैं निरीहजस्तो भएर प्रस्तुत हुने गरेका छन्।

प्रसाइँको समूहसँगै अहिले जेनजीका नाममा चन्दा माग्ने र धम्काउने क्रम देखिएको छ। काठमाडौं प्रहरी परिसरले केहीलाई नियन्त्रणमा लिएर मुद्दा समेत चलाएको छ।

‘हामीले समात्न थालेपछि यस्ता समूह त्यति सक्रिय भएको पाइएको छैन। हामी यस्ता समूहलाई निगरानीमा राखेका छौं,’ काठमाडौंका एसपी पवन भट्टराईले भने।