काठमाडौं। विवाहको सिजनमै बजारमा सुनको कारोबारमा ‘मन्दी’ देखिएको छ। व्यवसायीहरुले सिजन मान्ने गरेको मंसिर सुरु भएको ९ दिन भइसक्दा पनि सुनको कारोबार बढ्न सकेको छैन।
विगतका वर्षमा मंसिर नलाग्दैदेखि गहनाको अर्डर आउने गरेकामा यसपालि अहिलेसम्म ग्राहक खासै नआएको व्यवसायीहरुले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विवाहका कारण मंसिरमा दैनिक ४० किलोसम्म सुन बिक्री हुने गरेकामा यसपालि १५ किलो पनि गएको छैन।
महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले बजारमा सुनको कारोबार नगन्य रहेको बताए।
‘विवाहको सिजन भएपनि बजारमा चलपहल कम छ। सुनको माग छैन भने पनि हुन्छ,’ शाक्यले भने, ‘विगतका वर्षमा मंसिर नलाग्दै गहनाको अर्डर आउँथ्यो। यसपालि ग्राहकको फ्लो नै निक्कै कम छ। भाउ धेरै बढेका कारण पनि ग्राहकले आँट नगरेको हुनसक्छ।’
सुनको भाउ अहिले प्रति तोला २ लाख ४७ हजार ९०० रुपैयाँ छ। मंगलबार मात्र तोलामा ५ हजार २०० रुपैयाँ बढेको हो। बजारमा भने फागुनसम्म तोलामा २५ हजार रुपैयाँसम्म घट्ने आकलन छ।
‘ग्राहकले सुन खरिद गर्न धेरै नै कम गरेका छन्,’ शाक्यले भने, ‘धेरैजसो ग्राहकले आफूसँग भएको पुरानो सुन ल्याएर नयाँ डिजाइनका गहना बनाउन लगाइरहेका छन्।’
अर्का व्यवसायी राजेश साहले पनि सुनको कारोबार बढ्न नसकेको बताए। ‘सिजनमा जुन हिसाबले सुन बिक्री हुनुपर्थ्यो त्यो छैन। गहना चाहिने ग्राहकले पुरानो सुन ल्याएर त्यसमा केही थपेर लैजाने गरेका छन्,’ उनले भने।
बजारमा माग नरहेको भन्दै व्यवसायीहरुले यसपालि स्टक राखेका छैनन्।
बैंकमा स्टक
बजारमा माग नबढेका कारण सुन बैंकमा स्टक हुन पुगेको छ। वाणिज्य बैंकले तिहारपछि आयात गरेको सुन बिक्री नभएर थुप्रिएको हो। नेपाल बैंकर्स संघका अनुसार हाल १ सय ७३ केजी सुन स्टक छ।
व्यवसायीले माग नरहेको कारण देखाएर नकिनेका कारण बैंकले अहिले सुन आयात गरेका छैनन्। ‘यसअघि आयात गरेको सुन नै स्टक रहेका कारण संघले अहिले आयातका लागि बैंकहरुलाई सिफारिस नै गरेको छैन,’ संघका एक कर्मचारीले भने।
नेपाल राष्ट्र बैंकले गत असोज अन्तिम साता सुन आयातको दैनिक कोटा बढाएर २५ किलो पुर्याएको थियो।
चार महिनामा पौने १६ अर्बको आयात
सुनको कारोबार सुस्ताएको आयातको तथ्यांकले पनि देखाउँछ। चालु आर्थिक वर्षको चार महिनामा १५ अर्ब ७१ करोड ११ लाख रुपैयाँको ९०२ केजी सुन आयात भएको छ। त्यसमध्ये ५ अर्ब ४६ करोड ७५ लाख ५९ हजारको ३०१ केजी सुन कात्तिकमा आयात भएको हो।
दैनिक २५ किलो आयात गर्न पाउने व्यवस्था रहेकामा विवाहको सिजनअघिको महिनामा दैनिक औसतमा १० किलोका दरले भित्रिएको छ।
गत वर्ष चार महिनामा जम्मा एक अर्ब ४२ करोड ७५ लाख रुपैयाँको १३२ केजी मात्र सुन आयात भएको तथ्यांक छ।
पोहोर सरकारले भन्सार घटाउनुअघि व्यवसायीहरुले भारतबाट तस्करी गरेर सुन ल्याएका कारण पनि तथ्यांकमा कम देखिएको हो।