काठमाडौं। टायर र स्पेयर पार्ट्सको बिजनेसमा रमाइरहेका नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेती अब गाडी आयातकर्ता बन्ने भएका छन्। उनले विद्युतीय सवारीमा आकर्षण उच्च रहेको नेपाली अटोमोबाइल बजारमा दुई ब्रान्ड भित्र्याउने भएका हुन्।
उनले ल्याउन लागेका सवारीमा चिनियाँ कम्पनीको १४ सीटर मिनीबस छ भने भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर पनि छ। जसका लागि उत्पादक कम्पनीहरुसँग सम्झौता प्रक्रिया अघि बढिसकेको उप्रेतीले बताएका छन्। उनको कम्पनीले आयातसँगै सवारी बिक्री गर्ने र ग्राहकलाई आफ्टर सेल्स सर्भिससमेत दिने तयारी छ।
जीनबेई ब्रान्डको १४ सिटर मिनीबसहरु नेपाल ल्याउन लागेका हुन्। टोयोटाका प्रविधिमा आधारित उत्पादन बिक्रीसँगै जीनबेइ सन् १९९१ देखि चिनियाँ सवारी बजारमा रहेको कम्पनी हो। कम्पनीमा उत्पादन विविधीकरणका लागि २०१७ पछि साझेदार थपिए। हाल ब्रिलियन्स अटोको ५१ प्रतिशत र रेनल्टको ४९ प्रतिशत सेयर छ।
मिनी बसको पछिल्लो मोडल रेनल्ट ब्रिलियन्स जीनबेई अटोमोटिभ कम्पनी लिमिटेडको उत्पादन हो। कम्पनीले लाइट कमर्सियल भेहिकलहरु उत्पादन गर्ने गरेको छ।
यस्तै हालै यो ब्रान्ड ग्रान्ड हायस भियतनामको कम्पनीले ३० करोड युआन मूल्य बराबरको अर्डर पनि गरेको छ। जिनबेइ ग्रान्ड हायस टोयोटा हायसको पाँचौं संस्करणसँग मिल्दोजुल्दो मोडल हो। उक्त गाडी आगामी ५ वर्षसम्म सप्लाई गर्नुपर्ने र यसलाई भियतनामले लोकलाइजेसन गर्ने योजना समेत बनाएको छ।
उप्रेतीको स्वामित्व रहेको एसटीसी अटो सोलुसन प्रालिले उक्त गाडी नेपाली बजारमा ल्याउन केही साताअघि निर्माता कम्पनीसँग सम्झौता गरेको हो।
यस्तै अर्को ब्रान्ड ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीको इलेक्ट्रिक स्कुटर एम्पियर पनि उप्रेतीले ल्याउन लागेका छन्। भारतीय बजारमा १३ प्रतिशतभन्दा बढी बजार हिस्सा रहेको एम्पियर ब्रान्ड केही हप्ताभित्र डीएसएम ग्लोबलमार्फत नेपाल भित्रिने तयारीमा छ। उप्रेतीले अहिले स्पेयर पार्ट्स् र सिएट टायर नेपाली बजारमा बिक्री गरिरहेका छन्। साथै ब्याट्री पनि नेपालमा उत्पादन गरिरहेका छन्।
सन् २००८ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी लिमिटेडले खरिद गरेको थियो। डीएसएम ग्लोबलले हाललाई रियो र जिल मोडेलका एम्पियर इस्कुटर नेपाल ल्याउने तयारी गरेको छ। यी दुवै लिथियम-आयन ब्याट्री-पावर्ड छन्।
ग्रिभ्सले अल न्यु रियओ ८०, नेक्सस, माग्नस निओ/ईएक्स, म्याग्नस ग्रान्ड जस्ता स्कुटरहरु उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ। एम्पियर भेहिकलले लीड-एसिड ब्याट्री स्कुटरका लागि सुरुमै कम लागतको चार्जर लन्च गरेको थियो। त्यसपछि, कम्पनीले लिथियम-आयन ब्याट्री पावर स्कुटरको लागि इलेक्ट्रिक मोटर्स, ब्याट्री कन्ट्रोलर र चार्जरहरू आफैंले बनाउन थालेको छ।
नेपालमा अहिले भारतीय ब्रान्ड एथरले आफ्नो बजार बढाउदै लगेको छ। उप्रेतीले अर्को प्रतिस्पर्धी बजारमा ल्याउने भएका हुन्।
यी दुई ब्रान्डका लागि शोरुम बनाउने काम भइरहेको उप्रेतीले बताए। ‘हामीले यी दुई वटा ब्रान्ड ल्याउने पक्का भएको छ। शोरुम बनाउँदै छौँ। छिटै बिक्री वितरण सुरु गर्छौं,’ उनले भने।