काठमाडौं । २०६२/६३ सम्म चितवन हाइ इन्ड पर्यटकहरुका लागि पहिलो रोजाइमा पर्थ्यो। एड्भेन्चर र वाइल्ड लाइफमा चासो राख्ने पर्यटकहरु देश विदेशबाट चितवन पुग्थे। उनीलाई तान्ने गर्थ्यो चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ७ वटा रिसोर्टले। जसले राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी सहित विभिन्न प्याकेज दिने गर्थे।
तर, सरकारले २०६२/६३ मा जंगलभित्र रहेका ती रिसोर्ट बन्द निर्णय गर्ने निर्णय गर्यो। उक्त निर्णयसँगै जंगलभित्रका ७ वटा रिसोर्टमात्र बन्द भएनन् त्यहाँ विदेशबाट आउने पर्यटक पनि घट्न थाले।
अहिले भने व्यवसायीहरु फेरि हाइ इन्ड पर्यटक फर्काउन लागिपरेका छन्।
अनिश्चयको बादलबीच चितवन पुगेका छन् केटीएम ग्रुपका अध्यक्ष रामेश्वर शाह। सेक्युरिटी सर्भिस, मोटर्स, ह्युमन रिसोर्स सोलुसन, ट्रेर्निङ एन्ड कन्सल्ट्यान्ट लगायतको क्षेत्रमा काम गर्दै आएको केटीएम ग्रुप अहिले हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हो।
शाहले लक्जरी सेगमेन्टको पाँच चारे चेन रिसोर्ट ‘रोयल टुलिप चितवन’ संचालनमा ल्याएका छन्।

रोयल टुलिप हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्स अन्तर्गतको एउटा ब्राण्ड हो। लुभ्र होटल्स युरोपकै दोस्रो ठूलो होटल ब्राण्ड हो। यसले विश्वका ६० भन्दा बढी देशमा १ हजार ६०० भन्दा बढी होटल संचालन गर्दै आएको छ।
‘रोयल टुलिप’ चितवनको पहिलो पाँच तारे रिसोर्ट हो। विश्व सम्पदा सूचीमा पर्ने चितवन राष्ट्रिय निकुञ्जसँगै एडभेन्चर र वाइल्ड लाइफ पर्यटनका लागि चर्चित क्षेत्रमा फेरि गुण्स्तरीय पर्यटक भित्र्याउने लक्ष्यसहित यो रिसोर्ट खोलिएको हो।
‘रिसोर्टको मुख्य उद्देश्य नै विदेशीका साथै हाइ इन्ड स्वेदशी पर्यटकलाई चितवनमा ल्याउनु रहेको हो। २०६२/६३ पछि यहाँका रिसोर्ट बन्द भए पछि आउन छाडेका पर्यटकहरुलाई फेरि फर्काएर लिएर चितवनसम्म ल्याउने हो,’ शाहले आफ्नो लक्ष्य सुनाउँदै भने।

उनले लक्जरी रिसोर्ट संचालनका लागि जग्गामा मात्र २२ करोड रुपैयाँ लगानी गरेका छन्। त्यस्तै, भौतिक संरचना निर्माणमा ७० करोड, फर्निसिङमा १९ करोड लगानी भएको छ।
कूल १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर हाल संचालनमा आएको रिसोर्टमा सुप्रियर, डिलक्स, प्रिमियम, पुल भिल्ला, वाटर भिल्लाज् र मछान हाउस क्वीन स्वीट गरि ६५ वटा रुम छन।
यो लक्जरी रिसोर्टमा कोठाको मूल्य १७ हजार रुपैयाँदेखि सुरु हुन्छ। र, १ लाख रुपैयाँसम्मका रुममा बस्न सकिन्छ।

रिसोर्टमा ३ वटा वाटर भिल्ला पनि बनाइएको छ। १५ लाख लिटर पानी राखेर बनाइएको वाटर भिल्ला अहिले रिसोर्टको आकर्षण बनेको छ। यहाँ पुग्नेले बोटिङ र फिसिङको मज्जा पनि उठाउन पाउँछन्।
यस्तै, रिसोर्टमा ४ वटा पुल भिल्ला पनि छन्। ति भिल्लामा प्राइभेट स्वीमिङ पुल रहेको छ। यस्तै, विभिन्न सेमिनारका लागि आवश्यकता अनुसार ५० देखि ५०० क्षमताको ३ वटा हल पनि बनाइएको छ।
लक्जरी खोज्ने विदेशीसँगै स्वदेशी पर्यटकलाई रिसोर्टको संरचना र सेवाले तान्नेमा शाह विश्वस्त छन्।
‘हामीले बाहिरका हाइ इन्डका पर्यटकलाई नेपाल ल्याउने भइ नै हाल्यो। त्यसका साथै नेपाली पर्यटकलाई चितवनसम्म ल्याउने हाम्रो टार्गेट हो,’ उनले भने,‘ अहिले पनि नेपालबाट बिदा मनाउन होस् वा रिफ्रेसमेन्टका लागि बाहिर जाने पर्यटक पनि छन्। उनीहरुलाई पनि चितवन ल्याउने हाम्रो लक्ष्य छ।’

प्राइम लोकेसन र पारिवारिक वातावरण
रत्न नगरमा रहेको रिसोर्ट हरेक हिसाबले प्राइम लोकेसनमा पर्ने शाह बताउँछन्। ‘रिसोर्टबाट हरेक ठाउँ पदैल यात्रा मै पुग्न सकिन्छ। हामी हिँडेरै सहर क्षेत्रमा पनि पुग्न सक्छौं। जंगल नजिकै छ। यस्तै हस्पिटल पनि नजिकै छ,’ उनले भने।
परिवार लिएर घुम्न जानेहरुका लागि रिसोर्टको वातापरण ‘पर्फेक्ट’ रहेको शाह भन्छन्। सहरी कोलाहलबाट केही क्षणको शान्ति खोज्दै आउनेहरुका लागि रिसोर्ट उत्कृष्ट गन्तव्य बन्नेमा दुई मत नरहेको उनी बताउँछन्।
‘परिवार लिएर घुम्न आउनेहरुका लागि रिसोर्ट पर्फेक्ट छ। बच्चाको लागि किड्स प्ले जोन छुट्याइएको छ। त्यो पनि इन डोर र आउट डोर। वलेनेस सेन्टर पनि छ। र्किटेक्चरल स्वीमिङ पुल छ,’ उनले पारिवारिक मनोरञ्जनका लागि रहेको सेवाहरुबारेको जानकारी दिँदै भने।

फरक क्षमता भएका पर्यटकहरुका लागि पनि रिसोर्टले रुमसम्म पुग्नका लागि लिफ्टको व्यवस्था गरेको छ। साथै, रिसोर्ट वरिपरि घुम्नका लागि ह्लिल चियरको पनि सुविधा उपलब्ध गराइएको छ।
त्यस्तै, रिसोर्टभित्रै हेलिप्याड पनि बनाइएको छ। हेलिकप्टरबाट सिधै रिसोर्ट आउन चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड बनाइएको हो।
रिसोर्टभित्र स्विमिङ पुल, जिम, ब्याटमिन्टन कोर्टको पनि व्यवस्था छ। यस्तै, जंगल सफारीका लागि कम्पनीले वातावरणलाई कमभन्दा कम असर पर्ने गरि व्यवस्था मिलाइको शाह बताउँछन्।
हाइ इन्ड पर्यटक तान्ने लक्ष्य लिएको रिसोर्टमा छिट्टै क्यासिनो समेत संचालन गर्ने लक्ष्य रहेको शाहले खुलाए।

स्थानीयलाई प्राथमिकता
रिसोर्टमा हाल कूल ९४ जना कर्मचारी कार्यरत छन्। ९१ जना नेपाली कर्मचारीमा स्थानीयलाई नै प्राथमिकता दिइएको उनले बताए।
‘सबैभन्दा पहिलो प्राथमिकता सौरहाका स्थानीयलाई दिएका छौं। त्यसपछि चितवनका अन्य भेगका जनशक्तिलाई अवसर छ। त्यहाँ पनि नभेटिएपछि अन्य जिल्लाबाट पनि जनशक्ति खोजेका छौं,’ शाहले भने।
त्यस्तै, लग्जरीसँगै खानपिनमा स्वाद स्थानीय स्वाद दिलाउन स्थानीय उत्पादनकै प्रयोग गरिने उनी बताउँछन्।
‘हामीलाई चाहिने सागसब्जी यहिँ उत्पादन गरिदिओस् भन्ने हो। त्यसका लागि हामीले बिउको लागि पहिला नै पैसा दिने र मूल्य पनि पहिले नै तय गरिदिएका छौं,’ उनले भने, ‘हामीलाई चाहिएको भन्दा धेरै भएमा उनीहरुले अन्यत्र पनि बेच्न पाउँछ।’

स्थानीय कला संकृतिलाई प्रवर्धन गर्नका लागि हरेक दिन बेलुका स्थानीय कलाकारहरुसहितको सांस्कृति कार्यक्रम पनि आयोजना गरिँदैछ। यसले पर्यटकले स्थानीय आतिथ्य पाउनुका साथै स्थानीय कला संस्कृतिबारे जानकारी पाउन सकिने विश्वास छ।