काठमाडौं। कागेश्वरी मनोहरा बाबाचोकमा बस्ने शर्मिला तामाङ शनिबार बेलुकी नजिकै रहेको तरकारी पसलमा गोलभेंडा किन्न पुगिन्।
गोलभेंडाको भाउ सुनेर तामाङ सुरुमा तर्सिइन्। दुई दिनअघि किलोको १ सय २० रुपैयाँमा लगेको गोलभेडा १ सय ८० पुगिसकेको थियो। भाउ अचाक्ली किन बढ्यो भन्ने उनको प्रश्नमा पसलका संचालकले उत्तर दिए- ‘खै उतै बढेर आयो। त्यसमा हामीले केही नाफा जोडेर बेच्नै पर्यो।’
तामाङजस्तै तरकारी किन्न जाने सबै मूल्य सुनेर तर्सिनुपर्ने अवस्था आएको छ। सिजनकै तरकारीको भाउ पनि डेढ सयभन्दा कममा पाइँदैन।
काउली, भिन्डी, सिमी, साग, मुला, गोलभेंडा मूल्य आकासिएको छ। सिजनका तरकारी सस्तिनुपर्नेमा बढिरहेको छ।
कालिमाटी तरकारी बजारका अनुसार मागअनुसार आपूर्ति नभएकै कारण तरकारीको भाउ उकालो लागिरहेको छ। समितिमा अहिले दैनिक ५ लाख किलो तरकारी भित्रिने गरेको छ। गत वर्ष यही समयमा दैनिक ७ देखि ८ लाख किलो तरकारी आपूर्ति हुने गर्थ्यो।
समितिका अनुसार गत महिना परेको पानीले तरकारीलाई असर गरेकाले उत्पादन घटेर आपूर्ति कम भएको हो। समितिका सूचना अधिकारी विनय श्रेष्ठले आपूर्ति नै कम भएर तरकारीको मूल्य बढेको जानकारी दिए। उनका अनुसार सिजनका तरकारीकै आपूर्ति कम भएको र केही दिनपछि बढ्ने जानकारी आएको छ।
तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष भरत खतिवडाका अनुसार गत महिना पानी पर्दा सिजनको तरकारीमा क्षति भएकाले उत्पादन कम भएको हो।

‘कात्तिकमा परेको पानीले बागमती र मधेश प्रदेशको तरकारीमा क्षति पुर्यायो। सिजनको तरकारीमा क्षति पुर्याएकाले मूल्य बढेको हो,’ उनले बिजमाण्डूसँग भने, ‘नुवाकोट, धादिङ, बनेपा, पाँचथर, मकवानपुर र चितवनबाट १० दिनपछि काउली र तरकारी आउन थाल्नेछ। त्यसपछि भने मूल्य सस्तिन थाल्छ।’
अहिले काउलीको थोक मूल्य नै किलोको ७० रुपैयाँ छ। बजारमा खुद्रा काउली किलोको १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। गत वर्ष यही बेलामा थोक बजारमा काउली किलोको ३० रुपैयाँ थियो। खतिवडाका अनुसार भन्टाकै मूल्य किलोको ७० रुपैयाँ पाउनुपर्नेमा १ सय २० रुपैयाँमा बिक्री भइरहेको छ।
गत वर्ष यति सस्तो थियो तरकारी
कालिमाटी तरकारी बजार समितिको गत वर्षको तथ्यांक केलाउँदा मंसिरमा गोलभेडा, मुला, सिमी, बोडी, करेलाको भाउ किलोको सय रुपैयाँ हाराहारी थियो।
गत वर्ष मंसिर ६ गते प्रति किलो ९५ रुपैयाँमा पाइने भारतीय गोलभेडा यो वर्षको प्रति किलो ११५ रुपैयाँ भएको छ। गत वर्ष किलोको ७२ रुपैयाँ रहेको सानो गोलभेँडाको भाउ अहिले ९३ रुपैयाँ छ।
टनेलको गोलभेंडा प्रति किलो ८९ रहेकोमा यो वर्ष ११५ रुपैयाँ पुगेको छ। तराईको गोलभेंडा ९० रुपैयाँ रहेकोमा यो वर्ष १ सय २५ रुपैयाँ छ। गत वर्ष ४५ रुपैयाँ रहेको मुलाको भाउ अहिले बढेर ५५ रुपैयाँ भएको छ।

मकै बोडीको भाउ गत वर्ष ६५ रुपैयाँ रहेकोमा अहिले ८५ रुपैयाँ पुगेको छ। त्यस्तै, घिउ सिमी लोकल प्रति किलो १६७ रुपैयाँ छ। गत वर्ष सोही अवधिमा सिमीको मूल्य ११७ किलो रहेको थियो। गत वर्ष १ सय १५ रुपैयाँ किलो रहेको टाटे सिमी १ सय ५० रुपैयाँ पुगेको छ।
करेलाको भाउ यो वर्ष १ सय ४५ रुपैयाँ पुगेको छ। जबकी गत वर्ष यही दिन करेलाको भाउ किलोको ९५ रुपैयाँ मात्रै थियो। परवरको भाउ यो वर्ष १ सय ५ रुपैयाँ रहेको छ भने गत वर्ष ९५ रुपैयाँ मात्रै थियो।
रायोको साग किलोको ८० रुपैयाँ छ। गत वर्ष ५५ रुपैयाँ किलो थियो। पालुंगोको साग किलोको १ सय ५७ रुपैयाँ रहेको छ। जबकी गत वर्ष ९५ रुपैयाँ मात्रै थियो।
गत वर्ष १२५ रहेको ब्रोकाउली यो वर्ष भाउ बढेर १५० पुगेको छ। हरियो खुर्सानीहरूको भाउ पनि धेरै बढेको छ। गत वर्ष ५८ रुपैयाँमा पाइने हरियो खुर्सानी अहिले १०३ रुपैयाँ छ।
यो वर्ष हरियो धनियाँ प्रति किलो ४०० रुपैयाँ पुगेको छ। गत वर्ष हरियो धनियाँ किलोको १२६ रुपैयाँ मात्रै थियो।