BIZMANDU
www.bizmandu.com

इन्धन गाडीको आयात ३९ प्रतिशतले वृद्धि, खुम्चियो इभीको बजार, यस्तो छ चार महिनाको तथ्यांक

२०८२ मंसिर ७

इन्धन गाडीको आयात ३९ प्रतिशतले वृद्धि, खुम्चियो इभीको बजार, यस्तो छ चार महिनाको तथ्यांक
इन्धन गाडीको आयात ३९ प्रतिशतले वृद्धि, खुम्चियो इभीको बजार, यस्तो छ चार महिनाको तथ्यांक

काठमाडौं। इन्धन सवारीसाधनको आयात बढेको छ। गत आर्थिक वर्ष साउनदेखि कात्तिकसम्मको तुलनामा चालु आवको सोही अवधिमा इन्धन चार पाङ्ग्रे (प्यासेन्जर, कमर्सियल र प्यासेन्जर क्यारिङ कमर्सियल) सवारीसाधनको आयात सबैभन्दा धेरै ३९ प्रतिशतले बढेको छ।

Tata
GBIME
Nepal Life

चार महिनामा इन्धन चार पाङ्ग्रे ४ हजार ९५८ युनिट आयात भएका छन्। ती गाडी ६ अर्ब ३४ करोड रुपैयाँ बराबरका हुन्। यसबाट सरकारले ११ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

यसमा १२ सय ४५ युनिट अनएसेम्बल सवारीसाधन आयात भएका छन्। जुन हालसम्मकै धेरै हो।

पोहोर चार महिनामा ३ हजार ७८ युनिट इन्धन चार पाङ्ग्रे आयात गरिएको थियो।

यसैगरी, चालु आवको साउनदेखि कात्तिकसम्म १२ अर्ब ६४ करोड रुपैयाँ बराबरका १ लाख ६१७ युनिट इन्धन दुई पाङ्ग्रे सवारीसाधन आयात भएका छन्। यसमा अनएसेम्बलको हिस्सा ८५ प्रतिशत छ। १४ हजार २७८ युनिट तयारी सवारी आउँदा बाँकी सबै अनएसेम्बल हुन्। इन्धन बाइक आयातबाट सरकारले १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

इन्धन दुई पाङ्ग्रे सवारीसाधन कात्तिकमा मात्र २० हजार ९३४ युनिट आयात गरिएको छ। गत वर्ष चार महिनामा ८१ हजार ८५७ युनिट मात्रै बाइक आयात भएको तथ्यांक छ।

यसपालि चार पाङ्ग्रे विद्युतीय (प्यासेन्जर, कमर्सियल र प्यासेन्जर क्यारिङ कमर्सियल) सवारीसाधनको आयात घटेको छ।

चार महिनामा ३ हजार ५७४ युनिट आयात भएका छन्। ८ अर्ब ५३ करोड रुपैयाँ बराबरका ती गाडी आयातबाट सरकारले ४ अर्ब ९५ करोड रुपैयाँ राजस्व पाएको छ। गत वर्ष साउनदेखि कात्तिकसम्म ४ हजार २१७ युनिट चार पाङ्ग्रे विद्युतीय गाडी आयात भएको तथ्यांक छ।

यसपालि कात्तिकमा जम्मा ७९२ वटा चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्।

यस्तै इलेक्ट्रिक दुई/तीन पाङ्ग्रे सवारीसाधन १२ हजार ५३६ युनिट आयात भएका छन्। १ अर्ब ३० करोड रुपैयाँ बराबरका ती सवारीसाधनबाट सरकारले ४५ करोड ७५ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।