देश उठाउने हातहरूका पक्षमा कहिलेकाँही नसोचेको विषयमा पनि बोल्नुपर्ने रहेछ। लेख्नुपर्ने रहेछ। राष्ट्र, समाज र समुदायका विषयमा आफूले आफैंलाई प्रमाणित गर्नुपर्ने अवस्था आइलाग्नु पक्कै पनि सुखद कुरा होइन।
नोबेल पुरस्कार विजेता लेखक अमर्त्य सेनले पहिचानको हिंसाको सन्दर्भबारे भनेका छन् – ‘यस्तो समाज वास्तवमै कठिन र विभेदपूर्ण समाज हो।’ नेपालमा मारवाडी समुदायका उद्योगी–व्यवसायीका हकमा जसरी ‘प्लटिङ’ गरेर स्तरहीन र गैरव्यावसायिक ढंगमा आक्रमण र दुष्प्रचारको शृंखलाबद्ध कुत्सित यत्न भइरहेको छ, त्यसले एउटा पहिचानको हिंसा पैदा गरेको मात्र होइन, नेपालको संविधान, समाज र हाम्रा तमाम मानवीय मान्यताको मर्मविरोधी रुप प्रकट गर्छ।
आधुनिक र कर्मशील युगमा व्यावसायिक उपक्रमसहित यही माटो, यहीँका दुःखसुख र यही समाजको उतारचढावको साक्षी र सत्य बनिरहेका नेपालका मारवाडी व्यवसायीहरूले कहिलै हामी ‘महान् छौं’ भनेर दाबी गरेका छैनन्। न त हामी ‘अलग’ र ‘विशेष’ हौँ भनेर कुनै बनावटी कथ्य तयार पारेका छन्।
हामी त साधारण कामदारका सपना बोकेर, बिहान लगानी गर्ने र साँझ थकाइभन्दा बढी सन्तुष्टि लिएर फर्कने मानिस हौँ। हामी जोखिमलाई साथी बनाउँछौँ, चुनौतीलाई अवसरमा बदल्ने आँट राख्छौँ, र हरेक चोटपछि फेरि उठ्ने हिम्मत राख्छौँ। किनकि हामीलाई आफ्नै परिवार मात्र होइन, हामीसँग रोजगारीका लागि जोडिएका हजारौँ परिवारको भविष्यको चिन्ता हामीलाई बराबरी हुन्छ। त्यसैले हार मान्ने छुट हामीसँग हुँदैन। तर बिडम्वना यस्तो छ कि, जसले लगानी गर्छ, कल–कारखाना खोल्छ, उद्योग–धन्दा चलाउँछ, कर तिर्छ, रोजगारी सिर्जना गर्छ र देशलाई आर्थिक रूपमा चलायमान राख्छ, त्यही वर्गलाई ‘ठग’, ‘तस्कर’ र ‘माफिया’ जस्ता उपमाले अपमान गरिन्छ।
देशको समृद्धि र समुन्नतिका लागि सेतु बनेर कर्मशील बनिरहेको वर्ग र समुदायलाई लान्छित् गरेर जुन उन्नयनविरोधी भाष्यको मलजल गरिँदैछ, त्यसले हामीलाई उन्नतपथमा लैजाँदैन। कुनै एक व्यक्तिविशेषको गल्तीलाई सम्पूर्ण समुदायमाथि सामान्यीकरण (जनरलाइज्ड) गर्ने प्रवृत्ति घातक छ। यसले न न्याय प्रकट गर्छ न त बुद्धिमता।
हो, हरेक समुदायमा राम्रा–नराम्रा दुवै प्रकारका मानिस हुन्छन्। तर एकाध घटना-परिघटना र आचरणका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहराउनु पूर्वाग्रह मात्र हो। पूर्वाग्रह पनि हिंसा हो। विभेद हो।
आज नेपालमा एउटा गलत भाष्य फैलिँदैछ – गरिब भने सबै सज्जन, इमान्दार र धनी, विशेषतः मारवाडी समुदाय भने बेइमान। यो सोचले पुस्तौँको मिहिनेत, सोच, लगानी र निष्ठापूर्वक गरेको योगदानको अवमूल्यन गरिरहेको छ।

आज नेपालमा एउटा गलत भाष्य फैलिँदैछ – गरिब भने सबै सज्जन, इमान्दार र धनी, विशेषतः मारवाडी समुदाय भने बेइमान। यो सोचले पुस्तौँको मिहिनेत, सोच, लगानी र निष्ठापूर्वक गरेको योगदानको अवमूल्यन गरिरहेको छ।
लगानीकर्ताको मनोबल खस्किंदो छ र श्रम र सफलतालाई हेर्ने समाजको दृष्टिकोण नै गलत दिशातिर मोडिएको छ। गरिबी गर्व गर्ने विषय होइन, यो समाजको घाउ हो। यसलाई महिमामण्डित होइन, अन्त्य गर्नुपर्छ। तर, समाधान के हो? उद्योगधन्दा ध्वस्त पारेर लगानीकर्ताको आँटलाई कमजोर बनाउने, रोजगारी सिर्जना गर्ने, आर्थिक क्रियाकलापमा सशक्त रूपमा भाग लिने हातहरूलाई काटेर अपांग बनाउनु अवश्य नै समाधान होइन।
धनी–गरिब बीचको खाडल घटाउनु एक मात्र उपाय हो। र, यसका लागि दुवै पक्ष इमान्दारीका साथ एक–अर्काका पूरक बन्नै पर्छ। हाम्रो दृष्टिकोण, हाम्रो सोच, हाम्रो व्यवहारमा परिवर्तन आउनु नै पर्छ। यसका लागि सरकार, मिडिया, नागरिक समाज र तत् तत् विषयसम्बद्ध सरोकारवालाहरु सबैको दायित्व बन्दछ कि, हामी जसरी पनि यो गलत भाष्यको चंगुलबाट बाहिर आउन सकियोस्।
म सत्यमा विश्वास गर्छु– र, त्यो सत्य के हो भने, देश आर्थिक रूपमा तब मात्र माथि उठ्छ जब उद्योग–धन्दा चलायमान हुन्छन्। कल–कारखाना चले देशमा रोजगारी बढ्छ। रोजगारी बढे घर–घरको चुलो बल्छ। स्थिर र धिमा अर्थतन्त्रले त्यतिबेला मात्र गति लिन्छ। त्यसैले देशको आर्थिक मेरुदण्ड मजबुत चाहिन्छ भने रोजगारी दिने हातहरूलाई राष्ट्रले बलियो बनाउनु नै पर्छ। किनभने ती हातहरू नै राष्ट्रको समग्र अर्थतन्त्रको वास्तविक साझेदार हुन्।
यदि हामी सम्पन्न नेपाल, विकसित नेपाल चाहन्छौँ भने–रोजगारी सिर्जना गर्ने हातहरूलाई कमजोर होइन, ताकतवर बनाउनुपर्छ।

यदि हामी सम्पन्न नेपाल, विकसित नेपाल चाहन्छौँ भने–रोजगारी सिर्जना गर्ने हातहरूलाई कमजोर होइन, ताकतवर बनाउनुपर्छ। ती हातहरू बलिया भए भने मात्र समाजका कमजोर हातहरूलाई दह्रोसँग समातेर देशलाई अघि बढाउन सक्छन्।
उद्योग–व्यवसाय कमजोर भयो भने हरेक नागरिकको चुल्हो चिसिन्छ, राष्ट्रको अर्थतन्त्र डाबाडोल हुन्छ। संक्रमण र संकटका बेला विवेक र संयमको पनि बहुत् गहिरो अर्थ हुन्छ। विविध जात, धर्म, समुदाय र मूल्यमान्यताले ओतप्रोत समाजमा जटिलता र विभेदहरुलाई न्यूनीकरण गर्न एउटा मात्र तह र तप्काको प्रयास काफी हुँदैन। यसमा सबैको हातेमालो जरुरी हुन्छ।
झन्, अर्थतन्त्र जस्तो महत्त्वपूर्ण विषयका आयामहरु बलियो बनाउन योसँग जोडिएका सबै जरा-जुइना सशक्त हुन जरुरी हुन्छ। त्यसैले निष्कर्ष स्पष्ट छ– रोजगारी दिने हात काट्ने होइन, ती हातहरूलाई बलियो बनाउनु नै आजको सबैभन्दा ठूलो राष्ट्रिय जिम्मेवारी हो। किनकि अर्थतन्त्र उठाउने हातहरू भनेका यिनै हातहरू हुन्। देश उठाउने हातहरु भनेका यिनै हातहरु हुन्।