BIZMANDU
www.bizmandu.com

युवराजका पालामा सिर्जित २ अर्ब दायित्व तिर्न दुई सातामै एनएसीमा नेतृत्व परिवर्तन, आए श्रेष्ठ

२०८२ मंसिर ३

युवराजका पालामा सिर्जित २ अर्ब दायित्व तिर्न दुई सातामै एनएसीमा नेतृत्व परिवर्तन, आए श्रेष्ठ
युवराजका पालामा सिर्जित २ अर्ब दायित्व तिर्न दुई सातामै एनएसीमा नेतृत्व परिवर्तन, आए श्रेष्ठ


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)मा यसअघिका कार्यकारी अध्यक्ष युवराज अधिकारीका पालामा सिर्जित ठूलो दायित्व भुक्तानीमा कानुनी अड्डचन आएपछि दुई सातामै व्यवस्थापकीय नेतृत्व परिवर्तन भएको छ।

Tata
GBIME
Nepal Life

अधिकारीले जहाज मर्मत र इन्जिनको भाडाबापतको रकम ९ महिनादेखि नतिरेपछि प्रधानमन्त्री सुशीला कार्कीले दुई सातामै एनएसीको व्यवस्थापकीय नेतृत्व परिवर्तन गर्नु परेको हो।

प्रधानमन्त्री कार्कीले निमित्त महाप्रबन्धक जनक कालाखेतीले आर्थिक अधिकार नभएका कारण काम गर्न असहज भएको बताएपछि उनको साटो सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई अगाडि सारेकी छन्।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले एनएसीका सञ्चालक श्रेष्ठलाई महाप्रबन्धकको काम कारबाही गर्ने जिम्मेवारी दिएको हो।

श्रेष्ठले सञ्चालकको रुपमा नियुक्ति पाउनुअघि एनएसीमा २८ वर्ष काम गरी निर्देशकबाट अवकाश पाएका थिए। एनएसीभित्र उनलाई ‘काबिल’ नै मानिन्छ।

कालाखेतीले आर्थिक अधिकार नभएको र ठूलो दायित्व भुक्तानी गर्न समस्या हुने निगमको संचालक समिति समक्ष राखेका थिए। संचालक समितिले पर्यटन मन्त्रालयलाई आर्थिकसहित कार्यकारी अधिकार संचालकलाई दिन प्रस्ताव गरेको थियो।

नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा ४ को उपदफा ५ मा कुनै पनि सञ्चालकलाई सरकारले महाप्रबन्धकको काम कर्तव्य सुम्पिन सक्ने व्यवस्था छ।

यसअघिका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल कात्तिक ७ गते सकिएपछि कार्कीले १४ गते उपप्रबन्ध निर्देशक कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएकी थिइन्।

लगत्तै उनले कालाखेती र अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको काम गर्ने जिम्मेवारी तोकिएका विक्रम राईलाई बोलाएर न्यारोबडी जहाजको इन्जिन इजरायलबाट ल्याउन र इजरायली कम्पनी आईएआईको भाडाको इन्जिन फिर्ता गर्न निर्देशन दिएकी थिइन्।

आईएआईले कात्तिक पहिलो साता आफूले लिजबापत साढे ४४ करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै सम्झौता रद्द गरिएको पत्र एनएसीमा पठाएको थियो।

‘आईएआईले हाम्रो जहाजका तीनवटा इन्जिन मर्मत गरेकामा एउटाको रकम राफसाफ भइसकेको छ। दुई वटा इन्जिनमध्ये एउटाको ४.९ मिलियन डलर भुक्तानी गरिएकामा २.१ मिलियन डलर तिर्न बाँकी छ। तेस्रो इन्जिनको त भुक्तानी नै भएको छैन। इन्जिन ९ महिना अगाडि नै बने पनि ६.७ मिलियन डलर भुक्तानी नगरिएका कारण उतै अड्किएको हो,’ एनएसी स्रोतले भन्यो।

यसबाहेक एनएसीले लुफथान्सालाई ५ लाख डलर तिर्न बाँकी छ। यस्तै आईएआईको इन्जिन लिजमा लिएबावतको भाडा २६ लाख डलर हो। तर, कम्पनीले सम्झौता अनुसार भाडा नपाएको भन्दै क्षतिपूर्तिसहित ३१ लाख डलरभन्दा बढी दाबी गरेको छ।

‘एनएसीले आईएआईलाई तिर्नुपर्ने दायित्व दुई अर्ब रुपैयाँ हाराहारी छ। त्यो रकम नबुझाएसम्म हामीले आफ्नो इन्जिन फिर्ता ल्याउन सक्ने कुरा हुँदैन। त्यति ठूलो रकम भुक्तानीको अधिकार निमित्त महाप्रबन्धकलाई हुँदैन। कालाखेतीजीले सञ्चालक समितिमा आफ्नो अप्ठेरो राख्नुभएपछि सञ्चालकबाटै महाप्रबन्धकको काम गर्ने जिम्मेवारी तोकिएको हो,’ स्रोतले भन्यो।

आईएआईले भाडा रकम नपाएको प्रतिक्रियास्वरुप लिज सम्झौता रद्द गरिएको भनेका कारण एनएसीले यो साताभित्र पैसा भक्तानी गर्न नसके ९ एन एकेएक्स कलसाइनको जहाजमा रहेको इन्जिन झिक्नुपर्छ।

‘यो हप्ता भुक्तानी गर्न नसके आईएआईको इन्जिन झिकेर राख्नुपर्छ। यो भनेको जहाज ग्राउण्डेड हुने हो,’ एनएसी स्रोतले भन्यो, ‘तर महाप्रबन्धकको जिम्मेवारी पाउने सञ्चालकलाई कार्यकारी अधिकार हुन्छ। त्यसैले भुक्तानी गरेर इन्जिन फिर्ता ल्याउन सकिन्छ।’