BIZMANDU
www.bizmandu.com

डेटा मनिटाइजेसन र एआईको उपयोग अब वित्तीय संस्थाको टिकाउपनको आधार

२०८२ मंसिर ३

डेटा मनिटाइजेसन र एआईको उपयोग अब वित्तीय संस्थाको टिकाउपनको आधार
डेटा मनिटाइजेसन र एआईको उपयोग अब वित्तीय संस्थाको टिकाउपनको आधार


नेपाल राष्ट्र बैंकका गभर्नरले हालैका कार्यक्रमहरूमा नेपाली बैंकिङ क्षेत्रको भविष्य अब स्पष्ट रूपमा प्रविधिमुखी हुनुपर्ने संकेत प्रस्टसँग दिएका छन्। यो संकेत केवल एक टिप्पणी मात्र होइन, यो विश्वव्यापी वित्तीय प्रणालीले लिइरहेको तीव्र मोडको अनिवार्य स्वीकारोक्ति हो।

Tata
GBIME
Nepal Life

छिमेकी देशका बैंकहरूले स्तरीय प्रविधिमा गइसकेर हजारौँको संख्यामा डेटा वैज्ञानिकहरूलाई परिचालन गरिरहेको अवस्थामा, नेपालको वित्तीय क्षेत्र अब परम्परागत बैंकिङको खोलबाट बाहिर निस्केर डेटामा आधारित सञ्चालनको युगमा प्रवेश गर्नैपर्ने दबाबमा छ।

राष्ट्र बैंकका अनुसार नेपालमा हाल एउटा पूर्वाधार बैंकसहित १०७ वटा बैंक तथा वित्तीय संस्था छन्। २० वटा वाणिज्य बैंक, ५ हजार १०१ शाखा, १७ विकास बैंक, शाखा संख्या १ हजार १३४  छ। १७ वित्त कम्पनी, शाखा २९१ छ। ५२ लघुवित्त वित्तीय संस्था छन् भने शाखा संख्या ४ हजार ९८६ छ।

गत कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कुल ७५ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जसमध्ये कुल कर्जा प्रवाह ५६ खर्ब ४२ अर्ब रुपैयाँ छ। वाणिज्य बैंकहरूले मात्रै ६७ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब २० अर्ब कर्जा लगानी गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरूले ७ खर्ब ५५ अर्ब निक्षेप संकलन गर्दा ६ खर्ब २२ अर्ब रुपैयाँ लगानी विस्तार गरेका छन्।

दिनहुँ कारोबारको परिमाण बढेको छ। डिजिटल भुक्तानी कारोबार बढ्दै जाँदा नोटरहित व्यवहारमा मुलुक अघि बढिसकेको छ। अब कारोबार गर्न नगद नोट नै लेनदेन गरिरहनु जरुरी रहेन। ग्राहकले वित्तीय कारोबार मोबाइल एपमार्फत गर्न सक्छन्। यो सेवाले समयअनुसार अझ विस्तार हुने बाटो पर्खिरहेको छ। बैंक तथा वित्तीय संस्थाले एकातिर ग्राहक आकर्षित गर्न सेवा प्रवाहलाई सरल बनाइरहनुपर्छ, अर्कातिर कारोबारको डेटा सुरक्षित र व्यवस्थित राख्नुपर्छ।

कोभिड-१९ महामारीले वित्तीय क्षेत्रमा डिजिटल कारोबारको खाँचोलाई तीव्रताका साथ देखायो। त्यसपछि आएको जेनेरेटिभ एआई क्रान्तिले यस परिवर्तनलाई झनै बलियो जग दियो। अबको बैंकिङ केवल नाफानोक्सान र वासलात (ब्यालेन्स सिट) व्यवस्थापन गर्ने सीपमा मात्र सीमित छैन। यो ग्राहकको अनुभव सुधार गर्न, जोखिम व्यवस्थापन गर्न र नयाँ वित्तीय उत्पादनहरू सिर्जना गर्नका लागि डेटाको गहिरो विश्लेषणमा पूर्ण रूपमा निर्भर छ।

डेटा विश्लेषण नगरी एआईको जमानामा बैंकिङलाई अगाडि बढाउन सहज छैन। हिजो नै हामी बैंकहरूको डिजिटल रुपान्तरणमा निकै पछि थियौं, र आज पनि धेरै अगाडि बढिसकेको अवस्था भनेर गर्व गर्ने ठाउँ छैन। डेटामा आधारित बैंकिङ सेवाको द्रुत गतिमा भइरहेको सफल प्रयोगले हामीलाई ठूलो चुनौती र अवसर दुवै प्रदान गर्दैछ।

यतातिर जान ढिला गर्दा बैंक तथा वित्तीय संस्थाको सञ्चालनमा सफल हुन गाह्रो छ। डेटा मनिटाइजेसन र एआईको उपयोगमा ढिला गर्ने संस्था असफल हुनेछन्। यस्तो नेतृत्व तहको कमजोरीले प्रविधिलाई पूर्णरूपमा आत्मसात गर्न नसक्दा हुने समस्या अहिलेको अवस्थाबाट आकलन गर्न सकिन्छ। नेतृत्व तहले हिम्मत राखेर अगाडि बढ्ने हो भने अबको ३-५ वर्षभित्र कुनै पनि  बैंक शीर्ष स्थानमा उक्लनेछ। होइन भने भविष्य छैन भन्ने बुझ्नु उपयुक्त हुन्छ, चाहे वाणिज्य बैंक होस्, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त या सहकारी अथवा बीमा वा रेमिट्यान्स कारोबारी कम्पनी नै किन नहोस्। डेटा र डिजिटल प्रविधिमा आधारित सेवा प्रवाह नगरी अब अगाडि बढ्न सकिँदैन भन्ने सबैले बुझ्दा हुन्छ।

एआई र डेटाको अपरिहार्यता : क्रान्तिका प्रमुख क्षेत्रहरू

नेपालमा अहिले पनि डेटाको महत्त्वलाई पूर्ण रूपमा बुझ्ने र त्यसलाई मौद्रिकीकरण (मनिटाइजेसन)गर्न सक्ने प्राविधिक जनशक्तिको ठूलो अभाव छ। तर, डेटा मनिटाइजेसन गर्न सकिने अवसरहरू अपार छन्। जेन-एआइसँगै एजेन्टिक एआइको प्रयोगले बैंकिङ प्रणालीलाई स्वायत्त र आत्म-सुधार गर्ने क्षमता प्रदान गर्छ। हामीसँग एआईमा लागेका जनशक्ति तयार गर्न सक्ने ठूलो अवसर छ।  हाल पनि हामीसँग डेटा र एआई मा काम गर्ने युवाहरू छन्। तर, बैंक र वित्तीय क्षेत्रको डोमेन नलेज उनीहरूलाई दिनु पर्छ – यो त्यति गाह्रो पनि होइन। नेतृत्व तहको इच्छाशक्ति चाहियो।

एआईले बैंकिङका प्रमुख क्षेत्रमा यसरी सघाउँछ  

  • जोखिम व्यवस्थापन र कर्जा मूल्यांकन : एआई मोडलहरूले परम्परागत क्रेडिट स्कोरिङभन्दा फरक तरिकाले ग्राहकको समग्र व्यवहार, कारोबार इतिहास र डिजिटल फुटप्रिन्ट विश्लेषण गरी वास्तविक समयमा कर्जा जोखिम मूल्यांकन गर्न सक्छन्। यसले ग्रामीण क्षेत्रका विश्वसनीय ग्राहकलाई समेत कर्जा दिन मद्दत गर्छ, जसबाट वित्तीय समावेशीतामा सीधा प्रभाव पार्छ।
  • ठगी र जालसाजी पत्ता लगाउने : एआईले ठगीका जटिल ढाँचाहरू र असामान्य व्यवहारलाई मान्छेभन्दा कयौं गुणा छिटो पहिचान गर्छ र शंकास्पद गतिविधिलाई कारोबार हुनुअघि नै रोक्न सक्छ।
  • सञ्चालन दक्षता र आरपीए : आरपीए र एआईले किन्ने/बेच्ने प्रक्रियाहरू, जस्तै: डकुमेन्ट प्रशोधन, केवाइसी भेरिफिकेसन र नियामक रिपोर्टिङलाई पूर्ण रूपमा स्वचालित गर्न सक्छ। यसले मानव त्रुटि हटाउँछ र सञ्चालन लागतलाई उल्लेख्य रूपमा घटाउँछ।

पारम्परिक बैंकहरूमा रूपान्तरणको दबाब

नेपालमा सञ्चालित लगभग सबै बैंक तथा वित्तीय संस्थाहरू लिगेसी अर्थात् पारम्परिक सञ्चालन प्रणाली र मानसिकतामा आधारित छन्। यी संस्थाहरू लामो समयदेखि ‘ब्रिक-एन्ड-मोर्टार’ शाखा सञ्जाल, कागजी प्रक्रिया र पी एण्ड एल व्यवस्थापनको पुरानो सीपमा निर्भर रहँदै आएका छन्।

तर, प्रविधिको यो युगमा र नयाँ पुस्ताको बैंकिङ तथा वित्तीय क्षेत्रसँगको अपेक्षामा यी संस्थाहरूलाई आफ्नो लिगेसीको खोलबाट बाहिर निस्केर तीव्र गतिमा डिजिटल र डेटा-युक्त वित्तीय संस्था को रूपमा रूपान्तरण हुन दबाब दिएको छ।

यो रूपान्तरण केवल मोबाइल एप लन्च गर्न मात्र होइन। यो सम्पूर्ण ब्याक-एन्ड प्रणाली, जोखिम मूल्यांकन, र निर्णय प्रक्रियालाई डेटा र एआई मार्फत स्वचालित र उन्नत बनाउनु हो। यदि यी पारम्परिक संस्थाहरूले यो रूपान्तरणलाई ढिलो गरेमा, उनीहरूले चुस्त फिनटेकहरूसँग प्रतिस्पर्धा गर्न सक्ने छैनन्। त्यसैले अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै पुरानो प्रविधि र मानसिकताको भारी बोकेका यी वित्तीय संस्थाहरूलाई कसरी छोटो समयमा ‘भविष्यको बैंक’मा परिणत गर्ने भन्ने हो।

चुनौती र रूढिवादी मानसिकता

एआई क्रान्तिलाई आत्मसात गर्न हामीले तत्कालै डेटा वैज्ञानिक, एआई इन्जिनियर र डेटा विश्लेषकको अभावलाई पूर्ति गर्नुपर्छ। ‘नेपालमा हुँदैन, जनता तयार छैनन्’ जस्ता रूढीवादी सोचले अब काम गर्दैनन्। वित्तीय समावेशिताको लक्ष्य प्राप्त गर्न, समाजको तल्लो तहसम्म वित्तीय सेवाको पहुँच पुर्‍याउन, डिजिटल र स्वचालित प्रविधि नै एक मात्र प्रभावकारी माध्यम हो।

बैंकिङ क्षेत्रका लागि ६ प्रमुख कार्ययोजना

  • नेतृत्वमा ‘डिजिटल माइन्डसेट’ र डेटा साक्षरता : सञ्चालक समिति र कार्यकारी नेतृत्वलाई प्रविधिमा गरिएको लगानीलाई ‘रणनीतिक सम्पत्ति’का रूपमा बुझ्नका लागि विशिष्ट प्रशिक्षण दिनु पर्छ।
  • बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापन तहमा वित्तीय प्रविधि (फिन्टेक) र डेटा बुझ्ने विशेषज्ञहरूलाई पनि नियुक्ति गर्दा उपयुक्त हुन सक्छ।
  • मानव संसाधनको द्रुत पुनःदक्षता : कार्यरत कर्मचारीलाई डिजिटल सीप र डेटा साक्षरतामा प्रशिक्षित गर्न सघन तालिमहरू सञ्चालन गर्ने। साथै, डेटा वैज्ञानिक, सफ्टवेयर इन्जिनियर, साइबर सुरक्षा विज्ञ आदि प्राविधिक जनशक्तिलाई उनीहरूको सीप अनुसार बजारको तलबमान अनुसार भित्र्याउनुपर्छ।
  • डेटा गभर्नेन्स र ‘डेटा लेक’को स्थापना : एआई र उन्नत विश्लेषणका लागि बैंक भित्र छरिएर रहेको सम्पूर्ण डेटालाई एकीकृत, सफा र संरचित स्वरूपमा केन्द्रीय डेटा भण्डार स्थापना गर्ने।
  • ‘एआई-पाइलट’ परियोजनाहरूको सुरुवात : ठगी पत्ता लगाउने, ग्राहक सेवा र कर्जा प्रक्रियाको स्वचालितीकरणमा साना र नियन्त्रित एआई-पाइलट परियोजनाहरू सुरु गर्ने।
  • नीतिगत सहकार्य र रेगुलेटरी स्यान्डबक्सको उपयोग : नियामक निकाय (नेपाल राष्ट्र बैंक)सँग सहकार्य गरी नियामक स्यान्डबक्सलाई पूर्ण रूपमा उपयोग गर्ने, जसले नयाँ प्रविधिको परीक्षणलाई सुरक्षित अनुमति दिन्छ।

नेपालको बैंक तथा वित्तीय कारोबारको क्षेत्रलाई अब ‘गर्छु वा गर्दिनँ’ भन्ने विकल्प छैन, बरु ‘कहिले गर्छु’ भन्ने प्रश्न मात्र बाँकी छ। अबको सफलता पी एण्ड एलसँगै ‘प्रविधि र नेतृत्व’मा निर्भर हुनेछ। हामीले तत्कालै डेटालाई सम्पत्तिको रूपमा हेर्न, दक्ष जनशक्ति तयार गर्न र नेतृत्वलाई डिजिटल माइन्डसेटमा रूपान्तरण गर्न ढिलो गर्नुहुँदैन।

डेटा मनिटाइजेसन र एआईको उपयोगले वित्तीय संस्थाको भविष्य निर्माण गर्ने सबैभन्दा निर्धारक शक्ति बनिसकेको छ। आजको बैंकिङ केवल बचत, कर्जा र दैनिक कारोबारमा सीमित छैन। यसले ग्राहकको व्यवहार, जोखिम प्रोफाइल, बजारको चाल र आर्थिक प्रवृत्तिलाई वास्तविक समयमा बुझ्नुपर्ने अत्याधुनिक प्रणाली माग गर्छ। बैंककहाँ वर्षौँदेखि संकलन भएको विशाल डेटा उचित संरचनामा उपयोग गर्न सके महसुल वृद्धि, लागत घट्ने, ठगी नियन्त्रण, व्यक्तिगत सेवा र नयाँ उत्पादन विकास सम्भव हुन्छ। यही प्रक्रियालाई व्यवस्थित रूपमा ‘डेटा मनिटाइजेसन’ भनिन्छ। यसमा डेटालाई सिधै आर्थिक मूल्य सिर्जना गर्ने स्रोतमा रूपान्तरण गर्न सकिन्छ।

एआईले यसलाई अझ शक्तिशाली बनाउँछ। एआई मोडलहरूले कर्जा जोखिम मूल्यांकनदेखि ठगी पहिचान, ग्राहकको व्यक्तिगत आवश्यकता बुझेर सेवा दिनेजस्ता काम तत्काल र उच्च शुद्धताका साथ गर्छन्। विश्वभर बैंकहरूको प्रतिस्पर्धा अब प्रविधिमा आधारित छ, र नेपालले पनि टिकाउपन कायम राख्न डेटा र एआईलाई आफ्नो मूल संचालन आधार बनाउनैपर्छ।

हालको नेतृत्व तहले छिटोभन्दा छिटो डेटायुक्त र डिजिटल प्रविधिमा बैंक, वित्तीय संस्था, लघुवित्त आदिलाई लानु नै उत्तम विकल्प हो।

(तीन दशकदेखि बैंक र फिन्टेक क्षेत्रमा कार्यरत सुब्बा काठमाडौं फिन्टेकका संस्थापक हुन्)