विराटनगर । कोशी प्रदेशका व्यवसायीले सरकारले लक्ष्यअनुसार कर संकलन गर्ने हो भने सबैभन्दा पहिले करमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
१४ औं राष्ट्रिय करदिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा सहभागी व्यवसायीले करमैत्री वातावरण र कानुन निर्माण गर्न जोड दिएका हुन्।
नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका अध्यक्ष पवनकुमार शारडाले सरकारले यथार्थ विवरणमा आधारित भएर राजस्व संकलन गर्नुपर्ने चर्चा गर्दै व्यवसायीले दिइहाल्छन् भनेर जबर्जस्ती असुलउपर गरिनु नहुने आग्रह गरे।
शारडाले जेनजी विद्रोहपछि बनेको सरकार करमैत्री वातावरणका लागि प्रतिबद्ध र सक्रिय देखिएको उल्लेख गर्दै अनलाइन भन्सार मूल्यांकन प्रणाली र करपरीक्षणमा रोक यसका मुख्य उदाहरण भएको जिकिर गरे।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले चोरीपैठारीको नियन्त्रण नभएसम्म लक्ष्यअनुसारको कर संकलन नहुने बताए।
त्यस्तै, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सरकारले राजस्व संकलनमा लक्ष्यअनुसारको प्रगति हासिल गर्न समयको माग बमोजिमका कानुन र वातावरण आवश्यक पर्ने धारणा व्यक्त गरे।
नेउवा महासंघ कोशीका राजस्व परामर्श समितिका अध्यक्ष देवकीनन्दन अग्रवालले राजस्व प्रशासन प्रतिवर्ष अत्याधुनिक र समयसापेक्ष भइरहे पनि कतिपय परम्परागत आग्रह र धारणालाई अझै त्याग्न नसकेको टिप्पणी गरे ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ विराटनगरका अध्यक्ष अश्विनी वंशलले राजस्व कानुनको अनुपालन बढिरहेको र यसलाई अझ सफल बनाउन सरकार र निजीक्षेत्रबिच विश्वास र सहकार्यको वातावरण हुनुपर्ने बताए।

कार्यक्रममा सबैभन्दा बढी आयकर तिर्ने प्राणनाथ भट्टराईको एमएडब्लु हायर पर्चेज प्रालि, उद्योगबाट सबैभन्दा बढी राजस्व बुझाउने भावेश राठीको हेल्थ एन्ड हाइजिन प्रालि र आयातकर्ताबाट दिनेश राठीको अम्बे इम्पोर्टलाई सम्मान गरिएको थियो।
उक्त अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कर दिवसका दिन व्यवसायी र राष्ट्रसेवक कर्मचारी दुबैले आत्मसमीक्षा र मूल्यांकन गरेर भोलिको मार्गचित्र बनाउनु पर्ने धारणा राखे।
त्यस्तै, आन्तरिक राजस्व विराटनगरका प्रमुख केशव उप्रेतीले आधुनिक युगमा करकानुन करदाताकै सुझाव र सल्लाहमा निर्माण गरिने चर्चा गर्दै करदाताले नीतिनिर्माताको भूमिका पनि पूरा गरिरहेको दाबी गरे।
प्रमुख उप्रेतीले व्यवसायी र करप्रशासन दुबै आफ्नो भूमिकामा स्पष्ट हुने हो भने करको अनुपालनमा समस्या नहुने बताए।