काठमाडौं। काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न उद्घाटन खेलमा जनकपुरमाथि ५ विकेटको जित निकाल्दै काठमाडौंले विजयी सुरुवात गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले दुई ओभर बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।
१३१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्ल्सवर्थले सानदार सुरुवात दिलाए। आक्रमक ब्याटिङ गरेका बेनले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए। उनलाई जनकपुरल जन लफ्टी इटनले पभेलियन फर्काए। त्यसपछि आएका भीम सार्की भने ३ रनमै समेटिए। तेस्रो विकेट आकाश त्रिपाठीको गुम्यो। उनी ३९ रन बनाएर सञ्जय कृष्णमुर्तीको बलमा बोल्ड आउट भए।
बलिङमा काठमाडौंका लागि उत्कृष्ट प्रदर्शन गरेका मिलिन्द कुमार २२ बलमा १९ रन बनाएर पभेलियन फर्किए। लगत्तै जोन सिम्सन पनि १३ रन बनाएर अनिलकुमार साहको बलमा बोल्डआउट हुन पुगे। मोहम्मद आदिल आलम ४ बलमा ८ रन बनाएर अविजित रहे।

बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी, जन लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले फितलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो।
जनकपुरको स्कोर उकास्न आशिफ शेखको महत्वपूर्ण योगदान रह्यो। अर्धशतकीय इनिङ्स खेलेका उनले ४१ बलमा ६ चौका र १ छक्काको सहायतामा ५४ रन बनाए। अर्का ओपनर लाहिरु मिलन्थाले ७ रन बनाउँदै फर्कँदा कप्तान अनिलकुमार साह डकआउट भए। त्यस्तै, जन निकल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले समान २ रन बनाएर पभेलियन फर्किँदा जनकपुर सुरुबाटै दवाबमा रह्यो।
१३.३ ओभरमा ७८-५ को अवस्थामा रहेको जनकपुरको इनिङ्स उकास्न मयन यादव र लाहिरु समरकुनले ४८ रनको साझेदारी गरे। मयनले २९ बलमा ३४ रन बनाउँदा लाहिरु २२ रनमा अविजित रहे।

बलिङतर्फ काठमाडौंका लागि घातक बलिङ गरेका मिलिन्द कुमारले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिँदा सहाब आलम र सन्तोष यादवले समान १ विकेट लिए।
एनपीएलमा मंगलबार दुई खेल हुँदैछन्। मध्यान्ह पौने १२ बजे सुरु हुने खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् भने दिउँसो ४ बजे सुरु हुने खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।