काठमाडौं। एनआईसी एशिया बैंकले पनि अबदेखि नेपालपे कार्ड जारी गर्ने भएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले बैंकसँग एनपीएस-नेसनल कार्ड स्विच तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको जनाएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। त्यसपछि बैंक वित्तीय संस्थाहरू एनपीएस-एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका कम्पनीले जानकारी दिएको छ।
नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात् एनआईसी एशिया बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछ।
एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ। उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्धन हुने एनसीएचएलको अपेक्षा छ।