काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर निरन्तर घटाउँदा त्यसको असर बीमा कम्पनीहरूको ब्यालेन्स सिटमा परेको छ। ब्याजदरमा गिरावटले आम्दानी घट्दा अधिकांश बीमा कम्पनीको ब्यालेन्स सिट बिग्रिएको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नाफा थोरै बढे पनि निर्जीवन कम्पनी नोक्सानीमा गएका छन्। ब्याज आम्दानी खुम्चिनुका साथै जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा माग दाबी ह्वात्तै बढेपछि निर्जीवन बीमा कम्पनी नोक्सानीमा गएका हुन्।
पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले १ अर्ब ९७ करोड रुपैयाँ नाफा गरेका छन्। यो नाफा पोहोर सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो। जीवन बीमा कम्पनीले पोहोर पहिलो त्रैमासमा १ अर्ब ९२ करोड रुपैयाँ नाफा गरेका थिए।
पहिलो ३ महिनामा १० वटा जीवन कम्पनीले नाफा बढाउँदा ४ वटाको खुम्चिएको छ। रिलायबल नेपाल लाइफले सबैभन्दा धेरै २५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा कम १२ लाख १२ हजार छ। नाफा धेरै बढाउनेमा भने सन नेपाल छ।
नेसनल लाइफ इन्स्योरेन्सका सीइओ सुरेशप्रसाद खत्रीले बैंकको ब्याजदर घटेको प्रभाव इन्स्योरेन्सको नाफामा देखिएको बताए।
‘बैंकको ब्याजदर घटेर निकै तल आएको छ। त्यसको असर इन्स्योरेन्स कम्पनीको नाफामा देखिएको हो,’ उनले भने, ‘लगानी गर्ने नयाँ ठाउँ छैन। भएकै निक्षेप पनि बैंकहरूले लिन सक्ने अवस्था छैन।’
बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन्। अधिक तरलताका कारण कतिपय बैंकले त संस्थागत निक्षेप लिनै अस्वीकार गरिरहेको स्थिति छ।
जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा
| जीवन बीमा कम्पनी | २०८२/८३ को पहिलो त्रैमासको नाफा (रुपैयाँमा) | २०८१/८२ को पहिलो त्रैमासको नाफा (रुपैयाँमा) | फरक % |
| नेसनल | १४०८८५६६१ | १३८३८५४६६ | १.८१ |
| नेपाल | २१५५५१६६४ | २०५४०५२९० | ४.९४ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | १०८३७००९२ | ७८८३२६३९ | ३७.४७ |
| एसियन | १५२५१३०४२ | १३२९७२७४० | १४.६९ |
| हिमालयन | १२७७५९५२९ | २५३७५५०६० | -४९.६५ |
| सूर्यज्योति | १२८०२०५७१ | ११५३३४५५० | ११. |
| प्रभु महालक्ष्मी | ६३७७४९०५ | १२६२३७८०५ | -४९.४८ |
| सानिमा रिलायन्स | १४९६०८०४६ | १३२९४४३७० | १२.५३ |
| आइएमई | १५८३१४०६० | १४५०१३५४५ | ९.१७ |
| रिलायबल नेपाल | २५८५०२१६८ | १९९३८८७९७ | २९.६५ |
| सन नेपाल | २३९२७७६१९ | १६६१४१२४७ | ४४.०२ |
| सिटिजन | १३१४८९५९० | १३०९२९२६६ | ०.४३ |
| राष्ट्रिय जीवन बीमा कम्पनी | १२१२०९३ | २२६७९१८ | -४६.५५ |
| मेट लाइफ | ९७१८०२७६ | ९६५१९१४५ | ०.६८ |
| जम्मा | १९७२४५९३१६ | १९२४१२७८३८ | २.५१ |
निर्जीवन बीमा कम्पनीको ब्यालेन्स सिट ध्वस्त भएको छ। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले करिब २ अर्ब रुपैयाँ नोक्सानी बेहोरेका छन्।
१४ मध्ये १२ कम्पनीको नाफा ऋणात्मक देखिएको छ। दुई कम्पनीले भने नाफा बढाएका छन्। नेसनल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले नाफा बढाएका हुन्। पोहोर यसै अवधिमा ४ कम्पनी नोक्सानीमा गएका थिए।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीइओ चंकी क्षत्री जेनजी आन्दोलनका क्रममा बढेको दाबीका कारण कम्पनीहरू नोक्सानीमा गएको बताए।
‘जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण माग दाबी एकाएक बढ्यो,’ उनले भने, ‘दाबी बढेर खर्च बढ्दा त्यसको असर ब्यालेन्स सिटमा देखिएको हो।’
जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा बीमा कम्पनीहरूमा साढे २३ अर्ब रुपैयाँको दाबी परेको छ। सीइओ क्षत्रीले बैंकको ब्याजदर घटेर आम्दानी प्रभावित हुँदा त्यसले पनि ब्यालेन्स सिट बिग्रिएको बताए।
‘बैंक तथा वित्तीय संस्थाहरूले ब्यादर निरन्तर घटाएका कारण ब्याज आम्दानी उच्च दरले घटेको छ। त्यसले पनि ब्यालेन्स सिटमा असर पर्यो,’ उनले भने।
निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको पहिलो त्रैमासमा आर्जन गरेको मुनाफा (रु हजारमा)
| निर्जीवन बीमा कम्पनी | २०८२/८३ को पहिलो त्रैमासको नाफा (रुपैयाँमा) | २०८१/८२ को पहिलो त्रैमासको नाफा (रुपैयाँमा) | फरक % |
| नेपाल | -९६३७८६७८ | १०४१००७४ | – |
| राष्ट्रिय बीमा कम्पनी | -९९५०९८३० | १५६५७५८८७ | – |
| हिमालयन एभरेष्ट | -१०९३३७३९९ | ६६१८०५४८ | – |
| युनाइटेड अजोड | -१५११९३३३२ | -१८१४५६०५ | – |
| सिद्धार्थ प्रिमियर | -२९८५४१७६७ | ६४००३०४६ | – |
| नेको | -८३१३४६५७ | ७०४६८४६८ | – |
| प्रभु | ६३१३९७५० | ५६०१४४७१ | १२.७२ |
| सगरमाथा लुम्बिनी | -२६७३७२२१४ | -८९५०९८८३ | – |
| आइजीआई | -२०७६०१५१२ | ६१०६५१६० | – |
| शिखर | -१५८५८६४१९ | ११५२३५६७३ | – |
| एनएलजी | -१०१०५२२८१ | ४८९०५६२८ | – |
| सानिमा जीआईसी | -२००२०३६२५ | ५०८७०५०५ | – |
| ओरियण्टल | -२८४८६०७३६ | -२४५१०६३६२ | – |
| नेसनल | ३८१७७०६५ | -१८०३८५८८६ | – |
| जम्मा | -१९५६४५५६३५ | १६६५८१७२४ | -१२७४.४७ |