काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को पूर्वसंध्यामा कीर्तिपुरमा सबै फ्लडलाइट बालिएको छ। शहरीविकास मन्त्री कुलमान घिसिङले फ्लडलाइट बाल्दै स्टेडियम एनपीएलका लागि हस्तान्तरण गरे।
क्रिकेट स्टेडियमको पहिलो चरणको काम सकेर एनपीएल हुन लागेको हो। गुरुयोजनाबमोजिम भने अझै बाहिरको काम एनपीएलपछि हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तयारी टुंग्याएको जनाएको छ।
पहिलो संस्करणमा समर्थकहरुले दिउँसोको समयमा चौरमै बसेर एनपीएल हेरेका थिए। यसपटक भने स्टेडियमको प्यारापिटमा बसेर रात्रीकालीन क्रिकेट हेर्ने अवसर मिल्नेछ।
सोमबारबाट यही मैदानमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने भएसँगै दोस्रो संस्करणको एनपीएल सुरु हुनेछ। एनपीएलमा यसपटक पनि ८ टोली उपाधिका लागि भिड्नेछन्।






