हालै नेपालमा भएको जेन जी आन्दोलन अनायसै जन्मिएको आक्रोशको परिणाम थिएन। बितेका केही वर्षहरुदेखि नै विश्वका धेरै स्थानहरुमा नयाँ पुस्ताबाट मौन क्रान्ति र विद्रोह सुरु हुँदै गरेको महसुस भइसकेको थियो। न्यूयोर्कदेखि न्यूरोडसम्म, सिओलका फराकिला सडकहरुदेखि काठमाडौंका साँघुरा गल्लीहरुसम्म देखिँदै गरेको शान्त विद्रोहलाई कुनै राजनीतिज्ञ वा कर्पोरेट जायन्टहरुले नेतृत्व गरिरहेका थिएनन् बरु संकटको युगमा जन्मिएको र सामाजिक सञ्जालमार्फत विश्वसँग जोडिएको नयाँ पुस्ताभित्र दबिइरहेको चरम निराशाको परिणाम थियो।
अर्थतन्त्रसँग नयाँ पुस्ताले गरेको अनेकन अपेक्षामा अनिश्चय, उनीहरुले देखेको भविष्यप्रतिको अनिश्चितता र राजनीतिक गतिहीनताको अवस्थाले जन्माएको परिणामसँगै जेनरेसन जेड अर्थात जेन जी यस्तो विद्रोहमा होमिन पुग्यो जो स्वयं अर्थतन्त्रलाई उकास्ने जिम्मेवारीमा साझेदार रहेको पुस्ता थियो। आक्रोश र चरम बेथितीका बीच उ यसैमाथि प्रश्न गर्ने अवस्थामा पुग्दै विद्रोहलाई नेतृत्व गर्यो।
यो त्यस्तो पुस्ता हो जसले अत्याधुनिक समाज र सभ्यता निर्माणको प्रतिबद्धताका आधारहरु धरासायी भएको देख्नुपर्यो। उनीहरुले विश्वास र इमान्दारिता डगमगाएको देखे। शिक्षाले रोजगारीलाई सुनिश्चित गर्छ भन्ने विश्वास भत्किएको देखे। प्रगति सँधै न्यायोचित, निष्पक्ष र एकैरेखामा अघि बढ्छ भन्ने आशा पनि उनीहरुले गुमाए।
बरु उनीहरुले आफूलाई त्यस्तो अर्थतन्त्रको जगमा उभिएको पाए जहाँ शैक्षिक प्रमाणपत्रहरुमा धुलो जम्छ। उनीहरुको महत्वाकांक्षा भन्दा बढी त मुद्रास्फितीको ग्राफ उकालो लाग्छ। जहाँ उनीहरुले चाहेको जस्तो सुरक्षित भविष्यको सपना अनिश्चितताको खाडलमा पुरिन्छ। उनीहरु नै हुन् जसले सेयर बजार उकालो लाग्दै गर्दा आफ्नो तलब भने कहिल्यै नबढेको वास्तविकता सामना गरे। देशहरु धनी बनिरहँदा पनि यो पुस्ताले आफ्नै भविष्य भने थप गरिबीतर्फ उन्मुख भइरहेको देखे। उनीहरुका लागि अर्थतन्त्र अंकहरुको विज्ञान थिएन उनीहरुको विश्वासको अंकगणित थियो जुन समयक्रमसँगै दुर्लभ हुँदै गैरहेको उनीहरुले महसुस गरिरहेका थिए।

यो नेपालको मात्रै कुरा थिएन। विश्वभरकै जेन जीले यस्तो महसुस गर्दै आफ्नो संवादको लय बदल्न थालिसकेका थिए। यूरोपमा उनीहरुले अनन्त उपभोग नै खुशीको स्रोत हो भन्ने अवधारणालाई इन्कार गर्न थालिसकेका थिए। अमेरिकामा उनीहरुले ऋण र असमानताको कुरा गर्दा नैतिकताबारे प्रश्न गर्न थालिसकेका थिए। यस्तै एसियामा पनि यो पुस्ताले पुरातन संस्थाहरुको नैतिक धरातलमा प्रश्न गर्दै स्टार्टअपहरुको प्रतिश्पर्धात्मक र सचेत उदयलाई प्रोत्साहन गरिरहेका थिए।
यो पुस्ताले वृद्धिलाई मात्र पूरा गर्ने वा पक्षपोषण गर्ने सोच राखेन बरु सँधै त्यसको उद्देश्यलाई प्रश्न गरिरह्यो। जलवायू परिवर्तनका मुद्दाहरुलाई उठाउँदै यो पुस्ताले प्रश्न गर्न थाले- सिंगो पृथ्वी नै नष्ट हुने जोखिम निम्त्याउँदै गरिएको समृद्धिको के अर्थ? मानव समुदायको मानसिक स्वास्थ्य नै गिर्ने गरी भएको प्रगति किन चाहिन्छ? अनि संरचनागत रुपमै असमानताले जरो गाडिरहँदा सफलताको मानक के हो?
नेपालमा हालै भएको जेन जी आन्दोलन र त्यसपछिको रुपान्तरणले केही पुनरावृत्तिको भान हुन्छ। हाम्रा युवा पुस्ता राजनीतिक आर्थिक र मनोवैज्ञानिक संक्रमणकालमा हुर्किएका हुन्। उनीहरुले सँधैजसो सरकारहरु परिवर्तन भएको देखे तर उनीहरुले सुशासन, समावेशीता र न्यायको प्रतिबद्धता पूरा भएको कहिल्यै महसुस गर्न पाएनन्। सरकार परिवर्तन भइराख्ने तर शासन परिवर्तन नहुने दु:खद् अवस्था रहिरह्यो।
निराशाका बीच उनीहरुले टिकट काट्दै अन्तराष्ट्रिय विमानस्थललाई नै आफ्नो सारा सपनाहरु थाती राखेर बाहिरिने प्रस्थानविन्दू बनाए। युवाहरु बैदेशिक रोजगारीका लागि लर्को लागेर जाने हरेक उडानले देश र अर्थतन्त्रको बहिखातामा नोक्सानी नै बढी भइराखेको हुन्थ्यो। तर जति युवाहरु देशमै बसिरहेका थिए त्यो जमात नजानिँदो गरी यो पुन: आविष्कारको खाका कोरिरहेको रहेछ जसले आजको रुपान्तरणलाई बल पुर्यायो।
अबको यो युवा पुस्ताले नेपालका लागि नयाँ किसिमको स्वनिर्माणमा आधारित, डिजिटल र उनीहरुको हृदयको भाषा बोल्ने गरीको नवीनतम अर्थतन्त्र निर्माण गर्न लागिपरिसकेका छन्। यसका लागि उनीहरुले आफ्ना घरलाई होम स्टेमा बदल्दैछन्। क्याफेमा बसेर कोडिङ गरिरहेका छन् र परम्परागत फेसनलाइनको व्यापार सुरु गरेका छन्। कोही राजनीतिक गफ गर्ने थलोका रुपमा पडकास्टलाई विकास गरिरहेका छन्। कोही एपबाटै गाउँका बालबालिकालाई अंग्रेजी भाषा सिकाइरहेका छन् भने कोही मौलिक हस्तकलाका सामाग्रीहरु विदेशी बजारमा बेचिरहेका छन्। उनीहरुले चलाएका उद्यम भलै सानै हुन्, ती उद्यमहरु आयातित होइनन् आफ्नै कल्पनाले सिर्जना गरिएका छन्, जीवन्त छन् र मुख्य गरी नेपाली पहिचान बोकेका छन्।
आफ्ना भन्दा अघिका पुस्ताले जसरी पद, जग्गा जमीन र विप्रेषणलाई योग्यता र पुँजीसँग दाँजे त्यो भन्दा फरक यो पुस्ताले सोचिरहेछ। उनीहरु आवरण हेरेर मूल्यांकन गर्दैनन्, आधिकारिकता हेर्छन्। स्थिर बस्नुभन्दा गतिशिलतालाई प्राथमिकता दिन्छन् र भौतिक पर्याप्तता खोज्दैनन्, बरु जे छ त्यसैलाई अर्थपूर्ण बनाउन चाहन्छन्।

उनीहरु बरु बढी मूल्य तिर्नु परोस् तर उत्पादन दीगो होस् भन्ने सोच्छन्। कुनै उद्देश्यसहितको साझा प्लाटफर्म सिर्जना गर्छन् र कसैको आदेशको भरमा नभई कामप्रतिको लगावका कारण राती अबेरसम्म पनि काम गर्छन्। यो यस्तो पुस्ता हो जसका लागि अन्तरआत्माको आवाज नै स्वपुँजी हो, त्यसैले उनीहरु केवल आफ्नो आत्माको सुन्छन्।
यति हुँदा हुँदै पनि यो पुस्ता जागरण बोझले थिचिएको छ। यो नवीनतम् आविष्कारको संघारमा पनि उनीहरु थाकेका छन्। यो थकान महिनौंसम्म उनीहरुले नपाएको तलबको हो, उनीहरुको सिर्जनशीलतामाथि गरिएको बेवास्ताको हो, अनि उनीहरुले गरिरहनुपरेको निरन्तरको दौडधुपको हो।
अहिले जुन प्रविधिले उनीहरुलाई सशक्त बनाइरहेको छ त्यही प्रविधिले नै उनीहरुलाई दास पनि बनाइरहेको छ। धेरै युवाहरु विरोधाभाषमा बाँचिरहेका छन्। एकातिर मुद्रास्फितीले उनीहरुको उत्साह र सकारात्मकतालाई मारिदिन्छ। अर्कोतर्फ कर्मचारीतन्त्रले उनीहरुको सिर्जनाशीलतालाई मारिदिन्छ। कति धैर्य गर्नु! उनीहरुमा धैर्यको बाँध टुट्ने गरी कर्मचारीतन्त्र हावी भइदिन्छ। तर बिर्सन नहुने कुरा के पनि छ भने उनीहरुकै धैर्यताको बलमा विश्वको डिजिटल भविष्य निर्माण भएको हो।
यतिभन्दा भन्दै पनि सबैले मनन गर्नुपर्ने के हो भने यो पुस्ता यसै असाधारण भएका पक्कै होइनन्। उनीहरु सहजै निराशालाई स्वीकार गर्नेवाला छैनन्। हार मान्नेवाला पनि छैनन्। उनीहरु परिवर्तन चाहिरहेछन् त्यसैले त आलोचना गरिरहेका छन्। उनीहरुले यो आन्दोलन अराजकताका लागि गरेका होइनन् बरु सकारात्मक बाटोमा अघि लैजानका लागि गरेका हुन्।
उनीहरु यस्तो समाज चाहन्छन् जहाँ आत्मसम्मान, न्याय र समावेशिता होस्। न कि यसभन्दा अघिको पुस्ताले भोगेजस्तो होस्। उनीहरु अर्थतन्त्रलाई अंकसँग मात्र होइन संवेदनाहरुसँग जोडेर हेर्छन्। उनीहरु जति खुलेर पैसाको बारेमा गफ गर्छन् त्यति नै खुलेर मानसिक स्वास्थ्यका बारेमा पनि बोल्छन्। उनीहरु सफलतालाई कमाइसँग मात्र जोडेर हेर्दैनन् बरु कमाउने क्रममा कस्तो महसुस गरे त्यसको पनि मापन गर्छन्।
अर्थतन्त्र कुनै समय नैतिक दर्शनशास्त्रकै एक हाँगा थियो जसले सीमितताबीच पनि कसरी राम्रो समाजको निर्माण गर्ने बारेमा अध्ययन गर्थ्यो। कालान्तरमा यो विधा अमूर्त बन्दै गयो जहाँ मानवीयपन भन्दा बढी अंक हावी हुन थाल्यो।
तर नयाँ पुस्ता अर्थात् जेन जीले लोप भएको त्यही मानवीय पनलाई फिर्ता ल्याइरहेको छ। अबका पुस्ता कस्ता छन् भने कुनै एक युवती काठमाडौंमा रहेको कामदारमाथि शोषण गर्ने कम्पनीमा काम गर्न सहजै अस्वीकार गर्छिन् भने दाङको कुनै युवा वैदेशिक रोजगारीमा जानका लागि वर्किङ भिसा खोज्नुभन्दा गाउँमै बसेर जलवायू परिवर्तनका विषयमा जनचेतना जगाउने एप बनाइरहन्छ। अबको पुस्ताले यस्तो गर्नुलाई कुनै विद्रोहका रुपमा हेर्दैन बरु अर्थतन्त्रबाट गुमेको आत्मा र बजारको लय पुनर्प्राप्तिको बाटोका रुपमा पहिचान गर्छ।
जेन जीका यस्तै कामलाई विश्वले मात्र नभई नेपालले पनि पर्याप्त रुपमा अंगिकार गर्नका लागि वर्तमान चुनौती भनेको हाम्रा संस्थाहरु नैतिक धरातलमा उभिएर परिवर्तनका लागि कत्तिको छिटो तयार हुन सक्छन् भन्ने नै हो। हाम्रा नीतिहरु यसरी तयार पारिएका छन् कि युवाहरुलाई अझै पनि आश्रित पुस्ताकै रुपमा हेरिएको छ न कि साझेदारका रुपमा। अर्कोतिर जेन जी पुस्ताले यतिबेला सहानुभूति मागिरहेका छैनन्, इमानदार साझेदारी चाहिरहेका छन्।

उनीहरु चाहन्छन् आफूहरुलाई प्राथमिकतामा राखेर कुनै माग पूरा गर्न नपरोस् बरु त्यसमा सक्रिय सहभागी हुन पाइयोस्। उनीहरुको संलग्नतामा भविष्यको खाका कोरियोस्। हामीले यतिबेला स्विकार्नै पर्ने हुन्छ कि अबको पुस्ता हामीले देखेको भन्दा सुन्दर ढंगले भविष्यको खाका कोर्न सक्षम छन्।.
जेन जी पुस्ताले गरेको क्रान्ति केवल विध्वंशमात्र होइन। यो त तटस्थ र तरल भएका मानवीय प्रणालीहरुमा सुधार ल्याएर नयाँ संरचनाको निर्माणतर्फको यात्रा हो भन्ने बुझ्नुपर्छ। उनीहरुलाई जसरी ‘लस्ट जेनरेसन’को ट्याग लगाइएको छ, त्यो सर्वाधिक गलत छ। उनीहरु त चरम बेथिती विरुद्ध लड्ने साहस भएका पहिलो पुस्ता हुन् जो सँग आक्रोश र समानूभूति दुवै छ।
उनीहरुको विद्रोह मन र मष्तिष्क दुवैबाट निस्किएको हो जसमा आलोचनात्मक चेत, संवेदना र प्रचुर साहस छ। यो पुस्ताले यथास्थितीमा बस्नलाई जसरी इन्कार गर्याे र नयाँ र विशेष परिस्थिती निर्माणका लागि जन्मिएको पुस्ताका रुपमा आफूलाई उभ्यायो। यसबाट विश्वले अब के बुझ्नुपर्छ भने जेन जी पुस्ता नै हो जसले विश्व अर्थतन्त्रलाई जोगाउन सक्छ। यो पुस्ताले अर्थतन्त्रलाई जीवनको सिकाइ बनाएर अघि बढ्न सक्छ।
अब नेपालले यो पुस्ताको आवाजलाई सुन्ने हो भने देशले राजनीतिक दस्तावेजहरुमा मात्र नभई आम मानिसकै जीवनमा अहिलेसम्मकै ठूलो रुपान्तरण ल्याउन सक्छ किनभने जेन जी पुस्ताको उदय नै सार्थकताको खोजीका लागि भएको हो।
सबैले बिर्सिसकेको एउटा सत्य उनीहरुले अझै बिर्सेका छैनन्- ‘उद्देश्य बिनाको समृद्धिले मात्र यो विश्वबाट गरिबी कहिल्यै हराउँदैन।’
(रश्मी पन्त त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधी गरिरहेकी छन्।)