काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको अध्याय बन्द भएकोले विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन्।
केन्द्रीय समितिमा बिहीबार धारणा राख्दै महामन्त्री थापाले अधिकांश नेताहरुले नियमित महाधिवेशन निर्वाचनअघि सम्भव नदेखिएको बताएकाले अब विशेषमै जानुपर्ने बताएका हुन्।
आफूले सबैलाई हात जोड्दै नियमित महाधिवेशन गरौं भने पनि नमानेपछि यो निष्कर्षमा पुगेको उनको भनाई थियो।
‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने तपाईंहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो। अब म के निष्कर्षमा पुगे भने अब निर्वाचनअघि नियमित अधिवेशनको च्याप्टर क्लोज गरौं। अब एउटै मात्र विकल्प छ, मंसिर २७ र २८ गते विशेष अधिवेशन गरौं।यो गर्दिनँ भन्न त पाइँदै पाइन्न’, थापाले भने।
थापाले कांग्रेस अब अधिवेशनबाट नयाँ भएर आउने बताए। उनले कांग्रेस एमालेजस्तो उत्तेजना फैलाउने पार्टी नभएको उल्लेख गर्दै देशलाई सही दिशा दिने जिम्मा कांग्रेसको काँधमा आएको बताए।
‘कांग्रेस एमालेजस्तो उत्तेजना फैलाउने पार्टी हैन। देश सम्हाल्ने हो’, थापाले भने।
देउवाले विधान बमोजिम नै १५औं महाधिवेशन गरेर बिदा हुन खोज्दा केही नेताले रोकेको गगनले आरोप लगाए।