ललितपुर। अर्थमन्त्री रामेश्वर खनालले विकास साझेदारहरूले प्रक्षेपण गरेअनुसार आर्थिक वृद्धिदर नघट्ने बताएका छन्।
विश्व बैंकले बिहीबार गरेको कार्यक्रममा अर्थमन्त्री खनालले अक्टोबरमा पर्यटन आगमन सर्वाधिक बढेको र एकाध बाहेक होटल तथा पर्यटन क्षेत्रले पूर्ववत् अवस्थामा सेवा दिइरहेकाले विकास साझेदारहरूले प्रक्षेपण गरेअनुसार आर्थिक वृद्धिदर नघट्ने बताए।
‘आन्दोलनका कारण क्षति भए पनि पुनर्निर्माण सुरु भइसकेको छ। क्षति भएकामध्ये पनि अधिकांशले सेवा सुरु गरिसकेका छन्,’ उनले भने।
खनालले आयकरबाहेक भन्सार र आन्तरिक कर संकलनमा सन्तोषजनक वृद्धि रहेको बताए। ‘आयकरको सुस्तता पनि ब्याजदर र पुँजीगत करमा आएको कमीले भएको देखिन्छ,’ उनले भने, ‘विकास खर्च हुने समय भर्खरै सुरु भएको छ। धेरै आयोजना यही वर्ष सकिने चरणमा पुगेका छन्।’
यस्तो अवस्थामा आर्थिक वृद्धिदर असाध्यै न्यून नहुने उनको भनाइ छ।
विश्व बैंकले नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ मा २.१ प्रतिशत र आव २०८३/८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। यसअघि आव २०८२/८३ मा ५.२ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको थियो।
आन्दोलनका कारण सिर्जित अवस्थाले अर्थतन्त्रमा हुने संकुचनले आर्थिक वृद्धि अपेक्षाकृत नहुने विश्व बैंकको भनाइ छ।