काठमाडौं। उपत्यकाबाहिरका तारे होटल पर्यटकले भरिभराउ भएका छन्। विवाहको सिजन र अरु सामाजिक कार्य तथा क्यासिनोका कारण तारे होटल फुल अकुपेन्सीमा चलेका हुन्।
झापास्थित पाँच तारे होटल द किङ्सबरी एक सातायता पर्यटकले भरिभराउ छ। होटलका म्यानेजर अनिल ओलीले अहिले कोठा दिन सक्ने अवस्था नरहेको बताए।
‘हामीले जेनजी आन्दोलनपछि होटल एक हप्ता बन्द गरेका थियौं। अहिले होटलमा एक्कासी पाहुनाको फ्लो बढेको छ,’ ओलीले भने, ‘विवाह लगायत अरु सामाजिक कार्यक्रमका कारण होटल प्याक छ। आज सोमबार होटलमा पूरै अकुपेन्सी छ। कोठा दिन सक्ने अवस्था छैन।’
किङ्सबरीमा पर्यटकको ओइरो लाग्नुको कारण क्यासिनो पनि हो। होटलको क्यासिनो २४ घण्टा नै चलिरहेको छ। ओलीका अनुसार होटलमा खासगरी भारतीय पर्यटक धेरै छन्। ‘अन्य देशका र स्वदेशी पर्यटक पनि होटलमा छन्,’ कार्कीले भने।
झापामै रहेको अर्को पाँच तारे डिलक्स होटल मेची क्राउनले पनि आफ्ना कोठा ३ दिन सोल्ड आउट गर्यो। होटलकी सेल्स एण्ड मार्केटिङ म्यानेजर निस्मा सुब्बाले होटल तीन दिन लगातार सोल्ड आउट भएको बताइन्।
‘६,७ र ८ तारिखमा होटलको अकुपेन्सी फुल थियो। पर्यटकहरु आइतबारदेखि निस्किन थालेका अकुपेन्सी घटेको छ,’ उनले भनिन्, ‘जेनजी आन्दोलनपछि कुनै कुनै दिन ८० प्रतिशतसम्म कोठा भरिएकामा त्यसपछि पहिलो पटक गत साता अकुपेन्सी फुल भएको हो।’
नेपालगन्जको पाँच तारे सोल्टी वेस्टेन्ड होटलमा पनि अकुपेन्सी बढ्न थालेको छ। होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रतीक श्रेष्ठले अकुपेन्सी बढेर ६० प्रतिशत नाघेको बताए।
‘अघिल्लो महिना होटलमा अकुपेन्सी ४० प्रतिशत हाराहारी मात्रै थियो। आजको दिनमा ६० प्रतिशतभन्दा बढी अकुपेन्सी छ,’ उनले भने, ‘कर्पोरेट गेष्ट र भारतीय पर्यटक धेरै छन्।’
चितवनस्थित चार तारे होटल सिराइचुली पनि अहिले पर्षयटकले भरिभराउ छ। होटलका म्यानेजर विनय बुढाथोकीले शुक्रबार र शनिबार ८० कोठा बिक्री भएको जानकारी दिए।
‘जेनजी आन्दोलनपछि हामीलाई होटल संचालन गर्न निक्कै कठिन भएको थियो। अहिलेको अकुपेन्सीले त्यतिखेरको घाटालाई पिकअप गरेको छ,’ उनले भने, ‘नोभेम्बर उसै पनि विदेशी पर्यटक आउने महिना हो। हामीकहाँ अहिले विदेशीका साथै स्वदेशी पर्यटक पनि आइरहेका छन्। अहिले पनि ६० प्रतिशत अकुपेन्सी छ।’
जेनजी आन्दोलनपछि अक्टोबरमा मात्र १ लाख २८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या पोहोर सोही महिनाको तुलनामा ४ हजार बढी हो।
भैरहवाका तारे होटलले भने काठमाडौं बाहिरका अन्य होटललले जस्तो पर्यटकलाई स्वागत गर्न पाएका छैनन्। लुम्बिनीमा अहिले बौद्धमार्गी पर्यटकहरुको संख्या निक्कै पातलो रहेकाले त्यसको असर आफ्नो व्यवसायमा परेको होटल व्यवसायीहरुले बताए।
‘लुम्बिनी घुम्न आउने पर्यटकमध्ये धेरै थाइल्यान्ड र म्यानमारका हुन्। त्यहाँबाट अहिले पर्यटक आएका छैनन्। तैपनि हाम्रो होटलमा ५० प्रतिशत अकुपेन्सी छ,’ भैरहवास्थित पाँच तारे होटल सिद्धार्थ भिलासाका निर्देशक अरुण कुमार पुरीले भने।
चार तारे होटल निर्भाना बाई लक्जरीले पनि थाइ पर्यटक नआएका कारण आफ्नो व्यापार घटेको बताएको छ। होटलकी सेल्स म्यानेजर लक्ष्मी कार्कीले होटलमा अहिले ५० प्रतिशत अकुपेन्सी रहेको जानकारी दिइन्।
‘अहिले विदेशी पर्यटक भित्रिने सिजन भए पनि लुम्बिनीमा आउने बौद्धमार्गीको संख्या धेरै छैन। त्यसैले अकुपेन्सी ५० प्रतिशतबाट बढ्न सकेको छैन,’ उनले भनिन्।