काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विकासशील मुलुक (एलडीसी)मा स्तरोन्नतिको समय तीन वर्ष थप गर्नका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल विकासशील मुलुक (एलडीसी)मा स्तरोन्नति हुने विषयमा पुनर्मूल्यांकन आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय योजना आयोगले सोमबार राखेको अन्तर्क्रियामा ढकालले एलडीसीमा स्तरोन्नतिको समय कम्तीमा तीन वर्ष थप्नका लागि पहल गर्न सरकारलाई आग्रह गरे। उनले नेपाल गरिब मुलुकको सूचीबाट हटेर स्तरोन्नति हुने कुरा खुशीको विषय भए पनि स्तरोन्नतिपछि देशमा पर्ने प्रभावबारे नीति निर्माता र योजनाविद्हरु संवेदनशील हुनुपर्ने बताए।
‘यो संवेदनशील विषयलाई सरकारले गम्भीरतापूर्वक लिनेछ भन्ने मैले विश्वास लिएको छु। अहिलेको अवस्थfमा जबरजस्ती धनी हुने गरी निजी क्षेत्रको उत्पादन र रोजगारीमा गम्भीर असर पर्नेतिर जानु हुँदैन,’ उनले भने।
नेपाल २०८३ मंसिरमा अतिकम विकसित मुलुकबाट एलडीसीमा स्तरोन्नति हुँदैछ।
महासंघका अध्यक्ष ढकालले वास्तविक रुपमा आम्दानी नबढी धनी हुँदा नेपालसामु धेरै चुनौति आउनेतर्फ सरकार सचेत हुनुपर्ने बताए।
‘अहिले औसत आयको सीमा पुगेको छ। तर यसमा हामी खुशी हुनु पर्ने कारण किन पनि छैन भने अहिले पछिल्लो प्रदर्शनका कारण व्यवसायीको मनोबल कमजोर भएको छ। न्युन मागका कारण अर्थतन्त्रमा जोखिम थपिएको छ,’ उनले भने, ‘एलडीसीमा स्तरोन्नति हुँदा निजी क्षेत्रलाई असर पर्छ। विशेष गरी साना उद्यमी र महिलाको रोजगारी गुम्ने खतरा उत्पन्न हुन्छ। त्यसैले यसमा सरकार गम्भीर हुनेछ भन्ने विश्वास लिएको छु।’
ढकालले साफ्टा अन्तर्गत उत्पत्तिको नियम सम्बन्धी हुने कडा सर्तले पार्ने प्रभावको मूल्यांकन नगरिएको तथा तयारी पोशाकमा हुने दुई तहको उत्पादन चक्रको असरलाई सूक्ष्मरुपमा नहेरिएको बताए।