काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कामना सेवा फुट्सल कपको पाँचौं सिजनमा पुरुषतर्फ सिद्धार्थ बैंकले प्राइम कर्मसियल बैंकलाई २-० ले हराउँदै उपाधि जितेको छ।
त्यस्तै, शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई १-० ले हराउँदै यस सिजनको उपाधि जितेको छ।
कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुट्सल कप आयोजना गर्दै आएको छ। विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ।
बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरेका थिए। खेलमा पुरुषतर्फ कुल १७ र महिलातर्फ कुल ९ टिमको सहभागिता थियो।
उक्त प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरू उपस्थित थिए। बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको दिन बिहीबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ।