काठमाडौं। शनिबार साँझ ५ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण बन्द छ। रनवे लाइटिङ सिस्टमको समस्याका कारण चार घण्टादेखि उडान अवतरण बन्द भए पनि समस्या दिउँसो मध्यान्हदेखि नै देखिएको पाइएको छ।
दिउँसो १२ बजेदेखि नै लाइटिङ समस्या पत्ता लागे पनि तत्काल पहिचान र निर्माणमा भने ढिलाइ भएको हो।
‘साँझदेखि लाइटिङ समस्या देखिए पनि समस्या दिउँसो १२ बजे नै थाहा भएको थियो। समस्याको पहिचान र निर्माणमा भने केही समय लागेको पाइएको छ’, विमानस्थल स्रोतले भन्यो।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले समस्या समाधान हुने क्रममा रहेको र चाँडै विमानस्थल सञ्चालनमा आउने बताए।
शनिबार साँझदेखि भने सबै उडान र अवतरण रोकिएका छन्।
लाइटिङ समस्या देखिएपछि काठमाडौंमा अवतरण गर्न आएका विभिन्न उडान ओभरसुट भएका छन्। कोरियाबाट आएको कोरियन एयरलाइन्स, दुबईबाट आएको फ्लाई दुबई, दोहाबाट आएको कतार एयरलाइन्स, जनकपुर र सुर्खेतबाटआएका बुद्ध एयरका उडानहरू समेत ओभरसुट भएका छन्।
फ्लाई दुबईको जहाज नेपाली आकाशमा ९ फन्को लगाएर लखनउ डाइभर्ट भएको छ।