BIZMANDU
www.bizmandu.com

जग्गा लिज प्रकरणमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ, ठगी र विश्वासघातमा अनुसन्धान

२०८२ कात्तिक २२

जग्गा लिज प्रकरणमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ, ठगी र विश्वासघातमा अनुसन्धान
जग्गा लिज प्रकरणमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ, ठगी र विश्वासघातमा अनुसन्धान


काठमाडौं। नेपाल ट्रष्टको नाममा रहेको दरबारमार्गको जग्गा लिज सम्झौतामा अनियमितताको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एकजना पूर्व सहसचिवलाई पक्राउ गरेको छ। भरतपुर-१५ बस्ने ६६ वर्षीय लेखबहादुर कार्की छन्।

Tata
GBIME

ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धानका लागि नेपाल ट्रष्ट कार्यालयका तत्कालिन सहसचिव कार्कीलाई शुक्रबार पक्राउ गरेको सीआइबीले जनाएको छ।

ब्यूरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार कार्कीमाथि नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा अनियमितता गरेको आरोप छ। अनुसन्धानमा देखिएअनुसार, सम्झौतामा उल्लेखित कित्ता नं. ४६०६ को सट्टा सोसँगै रहेको कित्ता नं. ४६०५ समेत गैरकानुनी रूपमा लिजमा समावेश गरिएको थियो।

२०७४ जेठ १४ गते गरिएको उक्त करारमा बोट मोडल निर्माणका लागि ३ वर्षका लागि लिज दिने निर्णय भए पनि, विना स्वीकृति ३० वर्षको लागि लिज सम्झौता गरिएको पाइएको छ। यसबाट नेपाल ट्रष्टमार्फत नेपाल सरकारलाई दीर्घकालीन आर्थिक हानि पुगेको अनुसन्धानबाट देखिएको ब्युरोले जनाएको छ।

लिज सम्झौता प्रक्रिया अघि बढाउँदा नेपाल ट्रष्टका तत्कालीन पदाधिकारी, सरकारी कर्मचारी र अन्य व्यक्तिहरूले मिलेमतो गरी गैरकानुनी लाभ लिएको र यसमा थप संलग्न व्यक्ति र लाभग्राहीहरूबारे पनि अनुसन्धान जारी रहेको सीआइबीको विज्ञप्तिमा छ।

नेपाल ट्रष्टको सम्पत्तिसँग सम्बन्धित विवादित सम्झौताका कारण राष्ट्रको स्वामित्वमा रहेका जग्गामा दीर्घकालीन हानि पुगेको भन्दै प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ।