व्यस्त दिनचर्यामा हामीलाई कहिलेकाही यस्तो मानसिक थकान हुन्छ की, मनले भन्छ – टाढा कतै जान पाए हुन्थ्यो। त्यस्ता बेला पदयात्रा मानसिक र शारीरिक ऊर्जा प्राप्तिको ठूलो स्रोत हो। के तपाइँले यस्तो अनुभव गर्नुभएको छ? काठमाडौंबाट निस्किएर हामीले एउटा यात्रामा त्यस्तो अनुभव गरेका छौं।
हाम्रा लागि मर्दी ट्रेक केवल एउटा शब्द थिएन, त्यो एउटा यात्रा थियो – शरीरको मात्र होइन, मनको पनि। ट्रेकिङका हरेक पाइला, हरेक दृश्य र हरेक सासमा एउटा ‘मेडिटेशन'(ध्यान) लुकेको थियो। जब हिमालको छेउमा पुगिन्छ, त्यहाँ कुनै मन्त्र होइन, केवल मौनता नै ध्यान जस्तो लाग्छ।
२०८२ कात्तिक ६ गतेको साँझ, भाइटीकाको दिन। हामी चार जना साथीहरू – तीन पुराना मित्र र एकजना नयाँ अनुहार, रातको बसमा काठमाडौँबाट तातोपानी हुँदै बागलुङतर्फ निस्कियौं। कुनै ठोस योजना थिएन, बजेट पनि खास थिएन, साथमा थियो त केवल हिँड्ने जोश।
बसमा हिँड्दा कुराकानी चल्यो — कोरी जाउँ कि मर्दी, कि अन्नपूर्ण बेसक्याम्प (एबीसी)? धादिङको धार्के पुग्दा रातको ७ बजेको थियो। छलफल गर्दागर्दै अन्ततः एबीसी जाने निर्णय भयो। तर समयले हाम्रा लागि बनाएको योजना त्यो थिएन। कुरिनटारमा रातको खाना खाँदै गर्दा मैले पोखरामा रहेका साथीलाई फोन गरेँ। उनले भने, ‘एबीसी अहिले धेरै भीड छ, बरु मर्दी जानु, शान्त र सुन्दर छ।’ त्यो एक वाक्यले हाम्रो पूरा यात्रा मोडिदियो। अब हाम्रो गन्तव्य स्पष्ट भयो – मर्दी हिमाल।

पहिलो दिन : अँध्यारो बाटो, टर्चको उज्यालो र अनिश्चितताको साहस
रातको १ बजे काँडेमा बसले हामीलाई झारिदियो। पोखराको चिसो रात, सुनसान बाटो र हावा चल्दा बग्ने पातहरूको आवाजले सहरका हल्ला हराएका थिए। पर्यटकीय सहरलाई छिचोलेर हामी अघि बढेका थियौं। हामीसँग एउटा मात्र टर्च थियो, त्यही उज्यालोले बाटो देखाइरहेको।
१५ मिनेट हिँड्दा एउटा सानो घर भेट्यौं, जहाँ मानिसहरू भाइटीकाको रमाइलो गर्दै थिए। त्यहीँ चिया खाँदै बाटो सोध्यौं। कसैले भन्यो, ‘मर्दी नगए पनि हुन्छ, देउरालीबाट लान्द्रुक पुगिन्छ।’ फेरि मन दोधारमा पर्यो। तर अन्ततः हामीले भन्यौं- ‘मर्दी नै जाउँ, एबीसी अर्को पटक जाउँला।’
अँध्यारोबाट सुरु भएको यात्रा फेवातालको झिलिमिल बत्तीहरू हेर्दै अघि बढ्थ्यो। टर्चको उज्यालोले मात्र बाटो देखिन्थ्यो, तर हाम्रो मनमा उत्साहको ज्योति बलिरहेको थियो। अँध्यारो जंगल, किराहरूको आवाज, अनि कहिलेकाहीँ आमा-बाबुको सम्झना।
बिहान ५ बजे जब पहिलो उज्यालोले आकाश रंग्यायो, हामी लभली हिल पुगेका थियौं। त्यहाँबाट अन्नपूर्ण दक्षिण र हिमचुली हिमालको टुप्पोमा बिहानको घामको किरण पर्यो। त्यो क्षण, सारा थकान हरायो।
हामी शान्त भएर केवल त्यो दृश्यमा हरायौं। टिबेटन ब्रेड, अण्डा र कालो चियाको नास्ता खाँदै सूर्यलाई स्वागत गर्यौं। होटलकी साउनीले हाँस्दै भनिन्, ‘तपाईंहरू यति छिटो यहाँ आइपुग्ने पहिलो ट्रेकर हुनुहुन्छ।’ त्यो सुन्दा हिम्मत अझै बढ्यो।

जंगलको बाटो हाइ क्याम्प
लभली हिलबाट ८ बजे अघि बढ्यौं। जंगलका बीचबाट हिँड्दा रुखबुटाका पातमा हिउँका स–साना कण झुन्डिएका थिए। कहिले खोला, कहिले गाउँ, कहिले उकालो, कहिले भीरपाखा, प्रकृतिको सबै रूप देख्न पाइन्थ्यो।
फरेस्ट क्याम्प पुग्दा बिहान १० बजिसकेको थियो। त्यहाँ साना होटलहरू, धुँवाको गन्ध र यात्रुहरूको हाँसो। बाटोमा चराहरूको स्वर, पानीको कलकल र रुखबीच छिरेको घामले यात्रा सजिलो बनाइरहेको थियो।
दिउँसो १ बजे रेस्क्यू क्याम्प पुग्यौं। त्यहाँको भेज खाना – दाल, साग, भात र अदुवाको पानी। सायद जीवनकै स्वादिलो। कान्छो भाइलाई टाउको दुखेको थियो, होटलवालाले दिएको अदुवा–लसुन पानीले औषधिको काम गर्यो।
त्यसपछि उकालो ओरालो गर्दै हाइ क्याम्पतिर बढ्यौं। बादल तल झरिरहेका थिए, हामी भने आकाशमा हिँडेजस्तो महसुस गरिरहेका। जब बादल डाँडा पुग्यौं, घाम डुब्दै थियो, र हिमाल सुनौलो रङमा झल्किरहेको। त्यो दृश्यले सारा थकान बिर्सायो।
हामी त्यो रात होटल मर्दी पिक मा बस्यौं। न्यानो कोठा, स्वादिलो डिनर र शान्त वातावरण। केही साथीले लोकल जाँडको स्वाद पनि लिए। बाहिर ताराहरूले ढाकेको आकाश, भित्र चिसो हावा र हामी गफाडीका हाँसो। लाग्थ्यो, सारा संसार यहीँ आएर रोकिएको छ।

दोस्रो दिन : भ्यु पोइन्टमा घामको पहिलो किरणसँग भेट
रातको ३:३० बज्यो। म निदाउन सकिनँ। उत्साहले सुत्नै दिएन। सबैलाई उठाएँ, ४ बजे बाटो समात्यौं। अँध्यारो, चिसो र गहिरो मौनतामाझ हामी माथि चढ्दै थियौं।
हातमा टर्च, मनमा गीत – ‘बनेको छ पहराले यो छाती मेरो…’
त्यो गीतले हरेक पाइलामा अघि बढिरहने हिम्मत थप्दै थियो।
साढे ५ बजेतिर मर्दी भ्यु पोइन्ट पुग्यौं। त्यहाँको दृश्य शब्दभन्दा धेरै गहिरो थियो। जब पहिलो सुनौलो किरण मर्दी, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको टुप्पोमा पर्यो, हामी सबै चुप भयौं। त्यो मौनता नै सबैभन्दा ठूलो ध्यान थियो।
चिसो हावामा तातो चियाको कप हातमा लिएर हामी चार साथी ती हिमालहरूलाई हेर्दै बस्यौं – न हिँड्ने थकान बाँकी, न त कुनै कुरा गर्नुपर्ने। त्यो क्षणमा जीवन शान्त, सुन्दर र पूरा लागिरहेको थियो।
फर्कने बाटो, नयाँ साथी र अन्तिम मुस्कान
हाइ क्याम्पबाट फर्किंदा हामीले नयाँ बाटो रोज्यौं – सिधिङ। बाटो गाह्रो थियो, तर रमाइलो पनि। बीचमा भक्तपुरकी नर्स भेटिइन्, उनले भनिन्, ‘सिदिङबाट नफर्कनुस्, बाटो धेरै ओरालो छ।’ तर हामी हठी थियौं।
गीत गाउँदै, हाँस्दै तल झर्यौं। लो क्याम्पमा खाना खायौं (रु.७०० प्रति व्यक्ति) र २:३० बजे सिदिङ पुग्यौं। त्यहाँबाट ८ जना मिलेर पोखरा जाने जीप लियौं (रु.८७५ प्रति व्यक्ति)। जीप हल्लिन्थ्यो, तर मन रमाइरहेको थियो।

पोखरामा हल्का नास्ता (रु.१८०) खायौं र साँझ माइक्रोमा काठमाडौँ फर्कियौं।
मलेखुमा डिनर (रु.३००) र अन्ततः राति ११ बजे सहर फर्कियौं – थकित शरीर, तर मुस्कानसहितको मन।
मर्दी भ्यु पोइन्टमा बिताएको त्यो बिहान सुनौलो घाम, हिमालको चुम्बन, चियाको न्यानोपन र सन्तुष्ट मुस्कान। सायद जीवनको सबैभन्दा शान्त ध्यान थियो।
किनकि अन्ततः यात्रा भनेको केवल पुग्ने कुरा होइन, महसुस गर्ने कुरा रहेछ। हामी फर्कियौं, तर मर्दीले भने मनको एउटा टुक्रा सधैंका लागि त्यहीँ राखिदियो।
-शुक्र गिरी र निराजन शाह