BIZMANDU
www.bizmandu.com

‘नास-आइटी एक्स्पो’मा सहभागी हुँदैछन् एचआर टेक र ट्यालेन्ट म्यानेजमेन्ट क्षेत्रका यी चार कम्पनी

२०८२ कात्तिक २०

‘नास-आइटी एक्स्पो’मा सहभागी हुँदैछन् एचआर टेक र ट्यालेन्ट म्यानेजमेन्ट क्षेत्रका यी चार कम्पनी
‘नास-आइटी एक्स्पो’मा सहभागी हुँदैछन् एचआर टेक र ट्यालेन्ट म्यानेजमेन्ट क्षेत्रका यी चार कम्पनी

काठमाडौं। नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘नास-आइटी एक्स्पो २०२५’ले देशका प्रविधि कम्पनीहरूलाई आफ्नो नवीनतम प्रविधि प्रदर्शन गर्ने अवसर दिएको छ।

Tata
GBIME
Nepal Life

यस एक्स्पोमा एचआर टेक र ट्यालेन्ट म्यानेजमेन्ट क्षेत्रमा कार्यरत चार नेपाली कम्पनीहरूले रोजगार व्यवस्थापन र जनशक्ति विकासमा प्रविधिको प्रभावकारी प्रयोगको बारेमा प्रस्तुत गर्ने तयारी गरेको आयोजक नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी)ले जनाएको छ।

सुविधा टेक, ट्यालेन्ट कनेक्ट्स, अर्कबो टेक्नोलोजी र रिगो एचआरले आफ्ना सोलुसन्स् प्रदर्शन गर्दैछन् ।

सुविधा टेक प्रालि एण्ड जबइजीका प्रबन्धक अजय भट्टका अनुसार कम्पनीले २०१७ देखि रोजगार सिर्जना र दक्ष जनशक्ति विस्तारमा काम गर्दै आएको छ।

उनले भने, ‘हामी प्रविधिमार्फत जनशक्ति र अवसर बीचको दूरी घटाउँदैछौँ। जबइजीमार्फत सहज र छिटो भर्ती प्रक्रिया सम्भव बनाइरहेका छौँ।’

कम्पनीले मुलुकका गतिशील कम्पनीहरूको सहयोगमा श्रमशक्ति व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने उद्देश्य राखेको छ।

ट्यालेन्ट कनेक्ट्स प्रालिका बिजनेस डेभलपमेन्ट प्रतिनिधि अभिशेक प्रताप सिंहले कम्पनीले आफ्नो नयाँ उत्पादन, ट्यालेन्ट कनेक्ट्स एप्लिकेसन ट्राकिङ सिस्टम एक्स्पोमा प्रस्तुत गर्ने जानकारी दिए।

यस प्लेटफर्मले भर्ती प्रक्रिया स्वचालित पार्ने र यसका कारण कम्पनीहरूले ५० प्रतिशत समय र ६० प्रतिशत सञ्चालन खर्च बचाइरहेको उनको भनाइ छ। यसलाई नेपालकै पहिलो लिङ्क्डइन-इंटिग्रेटेड हाइरिङ प्लेटफर्मको रूपमा प्रस्तुत गरिएको छ।

आर्कबो टेक्नोलोजीका संस्थापक भुषणराज गिरी कम्पनीले २०२३ देखि लर्निङ म्यानेजमेन्ट सिस्टम, अनलाइन परीक्षा, र कम्पिटेन्सी म्याचिङ सोलुसनमा काम गर्दै आएको बताउँछन्। कम्पनीले बैंक र बीमा क्षेत्रका लागि जनशक्ति विकास प्रणाली प्रदान गर्दै आएको छ।

उनले भने, ‘नेपालमै यस्तो सोलुसन नहुँदा हामीले आर्कबो स्थापना गरेका छौँ।’

रिगो एचआर प्रालिका वित्तीय निर्देशक प्रजेश वास्तोलाका अनुसार कम्पनीले २०१० देखि नेपाली श्रम बजारका आवश्यकतालाई सम्बोधन गर्दै एचआर सफ्टवेयर विकास गर्दै आएको छ। रिगो एचआर प्रणालीले तलब, बिदा, सेवा र सुविधासम्बन्धी सम्पूर्ण जानकारी पारदर्शी बनाउँछ र कर्मचारीहरूको प्रदर्शन मूल्याङ्कनलाई निष्पक्ष बनाउन नयाँ मोडेल तयार गरिएको छ।

नास-आइटी एक्स्पो २०२५ मा यी चार कम्पनीहरूको सहभागितासँगै नेपालको एचआर टेक र ट्यालेन्ट म्यानेजमेन्ट क्षेत्रमा प्रविधिको प्रयोगले नयाँ युगको सुरुवात गर्ने संकेत गरेको आयोजकको विश्वास छ। यी कम्पनीहरूले स्मार्ट र डेटा-ड्रिभन मानवसंसाधन व्यवस्थापनको सम्भावना उजागर गर्दै दक्ष जनशक्ति विकास, पारदर्शी भर्ती प्रक्रिया, र अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमशक्तिको पहुँच विस्तार गर्ने उद्देश्य राखेका छन्।