BIZMANDU
www.bizmandu.com

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नगर्ने निर्णयपछि सडकमा खेलाडी, एन्फाको गेटमा बाँधे मेडल

२०८२ कात्तिक २०

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नगर्ने निर्णयपछि सडकमा खेलाडी, एन्फाको गेटमा बाँधे मेडल
यो वर्ष पनि ‘ए’ डिभिजन लिग नगर्ने निर्णयपछि सडकमा खेलाडी, एन्फाको गेटमा बाँधे मेडल

काठमाडौं। नेपालमा शहीद स्मारक ‘ए’ डिभिजन लिग नभएको ३ वर्ष पुग्न लागेको छ। यो वर्ष पुसमा लिग गराउने घोषणा गरेको एन्फाले अर्को वर्षका लागि सार्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ।

Tata
GBIME
Nepal Life

एन्फामा चुनावी माहोल सुरु भइसक्दा लिग गराउनभन्दा नगराउन फाइदा देखेपछि एन्फा र क्लब सहमतिमा आएका थिए। केही महिना ‘होम एण्ड अवे’को हौवा पिटिए पनि तयारी नपुग्ने भन्दै लिग अर्को वर्षलाई लिग सारिएको हो।

यसको सट्टा राष्ट्रिय लिग गराउने भनेर एन्फाले जनाएको छ। तर, कागजमा मात्र फुटबल गराइरहेको एन्फालाई पत्याइहाल्ने आधार भने भेटिँदैन।

खेलाडीको प्रदर्शन, पदाधिकारी गायब

बिहीबार एन्फामा खेलाडीहरू प्रदर्शन गर्न पुगे। फुटबल खेलाडी संघको आह्‍वानमा ए, बी, सी डिभिजनका खेलाडीसँग राष्ट्रिय टोलीका अञ्जन बिष्ट, मणी लामा, रोहित चन्द लगायतका खेलाडी पनि पुगेका थिए।

एन्फा नजिकैको टेनिस कोर्टमा खेलाडी भेला भएका थिए। त्यहाँ उनीहरूले पम्प्लेटहरू बनाए र एन्फा परिसरमा गएर शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेर ब्यानर र पम्प्लेट लिएर एन्फा पुगेका थिए।

एन्फामा बिहानैबाट गेट लगाइएको थियो। साथै त्यहाँ प्रहरीको बाक्लो उपस्थिति पनि थियो। खेलाडीहरूलाई एन्फाको परिसरमा प्रवेश गर्न दिइएन। उनीहरू गेटमै केही घण्टा प्रदर्शन गरेका छन्।

खेलाडीले सडकबाट आवाज उठाइरहँदा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई र सीइओ इन्द्रमान तुलाधर एन्फामा थिएनन्। उनीहरूले केन्द्रीय सदस्य तथा प्रवक्ता सुरेश शाहलाई पठाए। उनले खेलाडीसँग नेगोसिएसन गरे। तर, खेलाडीहरू यसमा सन्तुष्ट थिएनन्।

एन्फा गेटमा मेडल बाँधेर फर्किए खेलाडी

दुई घण्टाको प्रदर्शन पछि खेलाडीहरूले गेटमा ताला लगाए। त्यहाँ विरोध स्वरुप ब्यानरहरू झुण्डाए। उनीहरूले त्यो ब्यानरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण प्रतियोगितामा जितेको मेडलले बाँधे।

उनीहरूले तुरुन्त लिग तोकिएको समयमै गर्नुपर्ने माग राख्दै एन्फालाई यो विरोधको सुरुवात मात्रै भएको भन्दै चेतावनी दिएका छन्।

खेलाडीहरूको समर्थनमा पूर्व राष्ट्रिय खेलाडी, प्रशिक्षण लगायतको बाक्लो उपस्थिति थियो।

के भने खेलाडीले?

प्रदर्शनका दौरान खेलाडीहरूले एन्फाले खेलाडीलाई आफ्नै आगनमा प्रवेश गर्न नदिएको भन्दै आक्रोश पोखे। राष्ट्रिय टोलीका विंगर अञ्जन बिस्ट अहिले नेपाल आएका छन्। बंगलादेशको लिग खेल्ने उनी आफ्नो दाई र नजिकका साथीहरू विदेश पलायन भइसकेको भन्दै एन्फाले लिग नगराएकोमा आक्रोश पोखे।

‘यतिका वर्ष शीर्ष लिग नहुँदा धेरै गाह्रो भएको छ। अहिले त म बंगलादेशमा लिग खेलिरहेको छु। मेरो साथीहरू, दाइहरू खेल्न नपाउँदा दु:ख लाग्छ। मेरो दाइ पनि विदेशिएको छ,’ उनले भने।

सम्बन्धित समाचार: ए डिभिजन लिग नगर्ने सहमतिले खेलाडी हतास, ‘हामीलाई जिउँदै नमार्नुस्’

खेलाडीको माग लिग हुनु पर्छ भन्ने भएको भन्दै यसकै लागि सडकमा उत्रिएको डिफेन्डर रोहित चन्दले बताए।

‘फुटबल गतिविधि हुनुपर्‍यो। राम्ररी व्यवस्थित हुनुपर्‍यो। कम्तीमा आउने पुस्तालाई एउटा राम्रो प्लेटफर्म बनोस,’ चन्दले भने।

त्यस्तै, गोलकिपर विकेश कुथुले खेलाडीहरू लिग नहुँदा रोजिरोटीका लागि रेस्टुराँ र पठाओ चालकका रुपमा काम गर्नुपर्ने अवस्थामा पुगेको बताए।

२ दशकभन्दा बढी फुटबल खेल्दै गर्दा खेलाडी यसरी सडकमा आउनुपर्ने अवस्था देख्नु अत्यन्त पीडादायी भएको बताउँछन् नेपाली टोलीका पूर्वकप्तान विराज महर्जन।

‘खेलाडीहरूलाई आफ्नै घर प्रवेश गर्ने रोक लगाइएको छ। यो नेपाली फुटबलका लागि एकदमै दुखदायी कुरा हो,’ राष्ट्रिय टोलीका पूर्वकप्तान महर्जनले भने।

गोलकिपर विशाल श्रेष्ठ कहिले लिग हुन्छ भन्दाभन्दै उमेर बितिसकेको भन्दा नयाँ पुस्ताको अवसरका लागि पनि सडकमा उत्रिएको बताउँछन्।