काठमाडौं। नेपाल स्काउटले लैनचौरस्थित आफ्नो जग्गामा रहेको संरचना र सामग्री जफत गर्न सात दिने सार्वजनिक सूचना जारी गरेको छ।
स्काउटको काठमाडौं महानगरपालिका-२६ लैनचौरमा रहेको ३ रोपनी रैकर जग्गा पूर्वऊर्जामन्त्री दीपक खड्का संचालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०६५ सालमा १० वर्षका लागि भाडामा लिएको थियो। सम्झौताको अवधि २०७५ सालमा समाप्त भए पनि कम्पनीले जग्गा फिर्ता नगरी विवाद उठाएको थियो।
सो सम्बन्धमा जिल्ला अदालत र उच्च अदालत पाटन दुवैले नेपाल स्काउटको पक्षमा फैसला गरेका थिए। अदालतको आदेश र पटक-पटक गरिएको पत्राचारको अवज्ञा गर्दै कम्पनीले जग्गा नछोडेको स्काउटले जनाएको छ।
यसअघि ३५ दिने सार्वजनिक सूचना जारी गरिएको भए पनि निर्णय कार्यान्वयन नभएपछि स्काउटले संरचना सिलबन्दी गरेको थियो।
नेपाल स्काउटले बाँकी भाडा रकम ७ दिनभित्र बुझाउन अन्तिम मौका दिएको छ। तोकिएको समयमा रकम नतिरे खड्का ल्यान्ड डेभलपमेन्टले बनाएका सबै भवन र सामग्री जफत गरिने सूचनामा भनिएको छ।
स्काउटले आवश्यक परे बक्यौता रकम कम्पनीका अन्य सम्पत्तिबाट समेत असुल गरिने जनाएको छ।