काठमाडौं। मष्टा ग्रुप प्रा. लिका संचालक जीवन चलाउने विरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो।
चलाउने विरुद्ध यसअघि ६१ किलो सुन प्रकरणमा पनि अदालतमा मुद्दा दायर रहेको छ। चलाउने भने विगत एक वर्षदेखि फरार रहेका छन्।
प्रहरीले रेड कर्नर नोटिस जारी गरेको भए पनि उनी समातिएका छैनन्। उनी सहकारी ठगीका पनि फरार अभियुक्त हुन्। काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित युनिफाइड बचत तथा ऋण सहकारी ठगीमा उनको संलग्नता देखिएको छ।
सुन तस्करीबाट कमाएको रकमले उनले देशका विभिन्न जिल्लामा जग्गा खरिद गरेको देखिएको छ। झापा, काठमाडौं, रौतहट, काभ्रेपलान्चोकमा जग्गा भएको देखिएको छ।
३२ वटा कित्ताको मूल्य करिब १५ करोड ३० लाख ५१ हजार मूल्यको जग्गा उनले खरिद गरेका थिए। काठमाडौंको गोठाटारमा रहेक घर जग्गा चलाउनेले अरुकै नाममा खरिद गरेको देखिएको छ।
चलाउनेले २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको हो।
अभियोगपत्रमा भनिएको छ ‘खरीदको कुल मूल्य समेत गर्दा हुन आउने कुल रकम रु. १,४५,५४,०३,९४८/- तथा विदेशबाट अवैध तरिकाले आयात गरेको सुन ६० के. जी. ७१६ ग्रामको तत्कालीन अवस्थाको मुल्य प्रति तोला रु.१,१२,५००/- का दरले हुन आउने कुल मुल्य रु.५८,५६,०९,५६८/-, र हिमालयन बैंकमा निजका नाउँमा रहेको नं. ००२१०५५००१९००१३ को खातामा कसूरबाट प्राप्त गरी जोर जम्मा गरी कारोबार गरी निःसर्ग गरेको रकम रु.३,५२,००,०००/-, समेत गरी हुन आउने कुल रकम रु.२,०७,६२,१३,५१६/- (दुई अर्व सात करोड वैसठ्ठी लाख तेह्र हजार पाँचसय सोह्र रुपैंया मात्र) प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि हुन आयो।’