BIZMANDU
www.bizmandu.com

जहाजको इन्जिनको भाडा नतिरेको विषयमा क्यानले एनएसीसँग माग्यो जवाफ

२०८२ कात्तिक १७

जहाजको इन्जिनको भाडा नतिरेको विषयमा क्यानले एनएसीसँग माग्यो जवाफ
जहाजको इन्जिनको भाडा नतिरेको विषयमा क्यानले एनएसीसँग माग्यो जवाफ


काठमाडौं। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगम (एनएसी)सँग इजरायली कम्पनी आईएआईलाई लिजमा लिएको इन्जिनको भाडा नतिरेको विषयमा जवाफ मागेको छ।

Vigo
GBIME
Tata

क्यानले सोमबार एनएसीलाई पत्र पठाइ न्यारोबडी जहाजमा प्रयोग गरेको लिजको इन्जिन फिर्ता नगरेको र भाडा नतिरेको विषयमा जवाफ मागेको हो।

‘लिज सम्झौता रद्द भइसक्दा पनि इन्जिन किन फिर्ता नगरेको हो? आईएआईलाई भुक्तानी गर्नुपर्ने लिजबापतको रकम किन भुक्तानी नगरिएको हो?,’ क्यानले लेखेको पत्रमा प्रश्न गरिएको छ। क्यानले तीन दिनभित्र जवाफ दिन भनेको छ।

‘सरकारको पूर्ण स्वामित्वमा रहेको निगमबाट भएको यस प्रकारको कार्यबाट नेपालको हवाई क्षेत्रको प्रतिष्ठामा पर्न सक्ने नकरात्मक प्रभावलाई समेत दृष्टिगत गरी यस सम्बन्धमा पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्ट प्रतिक्रिया उपलब्ध गराई दिनु हुन आदेशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।

आफूले उपलब्ध गराएको इन्जिनको भाडा नपाएपछि आईएआईले करिब दुई साताअघि एनएसीलाई लिज सम्झौता रद्द गरेको पत्र पठाएको थियो। आईएआईका अनुसार उसले इन्जिन लिजबापत ३१ लाख ३६ हजार ५१२ डलर अर्थात साढे ४४ करोड रकम भुक्तानी पाउन बाँकी छ।

आईएआईले आफ्नो इन्जिन पनि मागेको छ। यो कम्पनी एनएसीले आफ्ना जहाज मर्मत सम्भार गर्दै आएको कम्पनी हो। एनएसीका यसअघिका अध्यक्ष युवराज अधिकारीमाथि कमिसनका लागि आईएआईबाट लिजमा इन्जिन ल्याएको आरोप लाग्दै आएको छ। उनको चार वर्षे कार्यकाल यही कात्तिक ७ गते सकिएको थियो।