काठमाडौं। मध्यरातमा साथमा भएको पैसा लुटेर भिडियो बनाउँदै २० लाख नदिए मारिदिने धम्की दिएको आरोपमा प्रहरीले संखुवासभामा ६ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चैनपुर-७ का ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय लव आले मगर, राजु भनिने यससिख यसमाली मगर, प्रदीप समाल मगर, २९ वर्षीय ऐम वीरेन यसपाली मगर र प्युठान नौवाहिनी-६ घर भइ चैनपुरमा आफन्तकहाँ बस्ने ३० वर्षीय केबी पुन मगर छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उनीहरुले सुनसरीको गढी-५ घर भइ चैनपुरमा काम गर्न डेरा गरि बस्ने अक्षय चौधरीलाई लुटेको जाहेरीका आधारमा पक्राउ गरिएको हो। उनीहरुले गत बुधबार राति करिब १० बजे चौधरीलाई रोकेर उनको मोटरसाइकलको चाबी थुतेर साथमा रहेको ८१ हजार रुपैयाँ लुटेका थिए।
पैसा लुटेपछि उनीहरुले गाली गर्दै चौधरीलाई यसमाली मगरको घरतर्फ लगेका थिए। त्यहाँ सिसाको बोतल फुटाएर आफूहरुले भनेअनुसार बोल्न लगाइ मोबाइलमा भिडियो खिचेका थिए। त्यसपछि २० लाख रुपैयाँ ल्याएर नदिए मारिदिने र भिडियो पनि मिडियमा हाल्ने धम्की दिएका थिए। राति ५ घण्टा रोकेर मानसिक यातना दिँदै भोलिपल्ट पैसा लिएर आउने सर्तमा उनीहरुले चौधरीलाई छाडेका थिए।
पीडित चौधरीको जाहेरीमा खोजतलास सुरु गर्दा उनीहरुलाई संखुवासभाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। पक्राउपछि सोमबार सार्वजनिक गरिएका ६ जनामाथि आपराधिक लाभको कसुर मुद्दा चलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।