BIZMANDU
www.bizmandu.com

सचिवहरुलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन, ‘जनतालाई सुशासनको प्रत्याभूति गराउनू’

२०८२ कात्तिक १७

सचिवहरुलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन, ‘जनतालाई सुशासनको प्रत्याभूति गराउनू’
सचिवहरुलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन, ‘जनतालाई सुशासनको प्रत्याभूति गराउनू’

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरु र सुक्षा निकायका प्रमुखलाई १४ बुँदे निर्देशन दिएकी छन्।

Tata
GBIME
Nepal Life

कार्कीले सोमबार अपराह्न सिंहदरबारमा सचिवहरु र सुरक्षा निकायका प्रमुखलाई बोलाएर जेनजी आन्दोलनको भावनाअनुसार सुशासनको प्रत्याभूतचि हुने गरी काम गर्न निर्देशन दिएकी हुन्।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहमा उल्लेख्य सुधार भएको अनुभूति हुने गरी सबै मन्त्रालयलाई ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न भनेकी छन्। उनले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन पनि भनेकी छन्।

‘भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ कार्कीले भनिन्, ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्नुहोस्।’

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न पनि निर्देशन दिएकी छन्।

‘निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस्,’ उनले भनिन्, ‘आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुहोस्।’

कार्कीले कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन, आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन तथा निर्वाचनको पूर्वतयारीका लागि आआफ्ना जिम्मेवारीका कार्य चुस्त दुरुस्त रूपमा सम्पादन गर्न निर्देशन दिएकी छन्।

‘निर्वाचनको वातावरण बनाउन मैल निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेकी छु। निर्वाचनको पूर्वतयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्नुहोस्,’ उनले भनिन्।

कार्कीले कानुनको शासन प्रत्याभूत गराउनका लागि कुनै सम्झौता नगर्न तथा अनावश्यक देखिएका संरचना खारेज गर्ने काम सुरु गर्न पनि भनेकी छन्।

‘कानुनको शासन प्रत्याभूत गर्न सबैखाले आपराधिक क्रियाकलाप नियन्त्रण गर्नु पर्नेछ। यसमा कुनै सम्झौता नगर्नुहोस्,’ उनले भनिन्, ‘अनावश्यक देखिएका संरचना खारेज गर्ने गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्नुहोस्।’

कार्कीले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको ग्यारेन्टी गर्ने जिम्मा सचिवहरुकै भएकी बताएको उनको सचिवालयले जनाएको छ।