BIZMANDU
www.bizmandu.com

हेलिकोप्टर कम्पनीलाई एकपछि अर्को धक्का, दुई सिजनमा गुमाए सवा अर्बको व्यवसाय

२०८२ कात्तिक १७

हेलिकोप्टर कम्पनीलाई एकपछि अर्को धक्का, दुई सिजनमा गुमाए सवा अर्बको व्यवसाय
हेलिकोप्टर कम्पनीलाई एकपछि अर्को धक्का, दुई सिजनमा गुमाए सवा अर्बको व्यवसाय


काठमाडौं।  हेलिकप्टर कम्पनीको व्यवसाय खस्किएको छ। सिजनको सुरुमा भएको जेनजी आन्दोलन र त्यसपछि मौसममा खराबीका कारण व्यवसाय २० प्रतिशतले घटेको हेलिकप्टर कम्पनीहरुले बताएका छन्। 

Tata
GBIME
Nepal Life

हिमाली तथा पहाडी क्षेत्रको पदयात्रामा निस्कने विदेशी पर्यटकले हेलिकोप्टर प्रयोग गर्दा सिजनमा भ्याइनभ्याइ हुने गरेकामा यसपालि सेप्टेम्बर महिनामा बुकिङ नै रद्ध भइ आम्दानी गुमेको व्यवसायीहरु बताउँछन्।

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जेनजी आन्दोलनका कारण सेप्टेम्बरमा पर्यटकको आगमन घट्दा त्यसको असर हेलिकोप्टर व्यवसायमा परेको बताए।

‘हेलिकोप्टर कम्पनीका लागि मार्चदेखि मे तथा सेप्टेम्बरदेखि नोभेम्बर मुख्य सिजन हो। तर यसवर्ष मार्च अप्रिलमा सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान गर्न रोकेका कारण व्यापार भयो। सेप्टेम्बर सुरु भएको एक सातामा भएको जेनजी आन्दोलनका कारण पर्यटकहरुले बुकिङ रद्ध गरे। अक्टोबरको सुरु र अन्तिममा मौसममा खराबीले असर पुग्यो,’ कार्कीले भने, ‘यो वर्ष दुई वटा सिजनमा गरेर सवा अर्बको व्यवसाय गुमेको छ।’

जेनजीको आन्दोलनको असरस्वरुप सेप्टेम्बरमा पर्यटक आगमन १८ प्रतिशतले घटेको थियो। अक्टोबरमा भने अपेक्षा गरेविपरीत पर्यटकहरु ओइरिएका कारण व्यवसायीहरु आशावादी छन्।

‘सिजन अझै सकिएको छैन। अक्टोबरको पर्यटक आगमनले हामीलाई आशावादी बनाएको छ,’ कार्कीले भने, ‘मौसममा पनि सुधार आएका कारण बुकिङ बढ्न थालेको छ।’ अक्टोबरमा पोहोरभन्दा ४ हजार बढी अर्थात १ लाख २८ हजार पर्यटक भित्रिएका छन्।

नेपालमा हाल १२ वटा हेलिकोप्टर कम्पनी संचालनमा छन्। ती कम्पनीले ३० वटा हेलिकोप्टरमार्फत सेवा दिंदै आएका छन्। 

हेलिकोप्टर प्रयोगबापत प्रति घण्टा भाडा विदेशी पर्यटकका लागि २४ सय अमेरिकी डलर छ। यसमा भ्याट अलग्गै तिर्नुपर्छ। नेपाली नागरिकले विदेशीले भन्दा १५ प्रतिशत कम तिरे हुन्छ। व्यावसायिक र उद्धार उडान दुवैको भाडा दर एउटै हो।