काठमाडौं। डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र शिखर इन्स्योरेन्सले “सहारा हेल्थ इन्स्योरेन्स” योजना ल्याएका छन्। नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बीमा योजनामा इसेवा र शिखर इन्स्योरेन्सले सहकार्य गरेका हुन्।
यस बीमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा प्रदान गर्नु रहेको इसेवाले जनाएको छ। यो योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकहरूका लागि उपलब्ध हुनेछ।
कम्पनीका अनुसार सहारा हेल्थ इन्स्योरेन्सअन्तर्गत बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षणदेखि दुर्घटना उपचारसम्मको सेवा सुविधा प्राप्त गर्न सक्नेछन्। यो बीमा योजना २ लाख, ३ लाख र ६ लाख रुपैयाँ बीमांकका विकल्पहरूमा उपलब्ध छ भने यसको प्रारम्भिक प्रिमियम मात्र १ हजार ३९९ रुपैयाँबाट सुरु हुन्छ।
यस सहारा हेल्थ इन्स्योरेन्सअन्तर्गत नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर क्यास रिइम्बर्समेन्ट गर्न सकिने इसेवाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
‘बीमित व्यक्तिले देशभरका शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ। यसले आकस्मिक अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ। साथै, यस योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ। जसले बीमितलाई स्वास्थ्य सल्लाह लिन अझ सजिलो बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ।
ग्राहकले इसेवा एप मार्फत केही मिनेटमै यो बीमा खरिद गर्न सक्नेछन् भने यसको प्रक्रिया सहज, छरितो र पूर्ण रूपमा डिजिटल हुने कम्पनीको भनाइ छ। केही सरल चरणहरू पूरा गरेपछि बीमा पोलिसी तुरुन्तै एसएमएस र इमेलमार्फत प्राप्त हुन्छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सहारा हेल्थ इन्स्योरेन्सको सुरुवात बीमा डिजिटलाइजेसनको दिशामा अर्को महत्त्वपूर्ण कोशेढुङ्गा भएको जनाउँदै यसले स्वास्थ्य बीमालाई अझ सुलभ, सरल र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे।