काठमाडौं। ऋण असुली समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाको पुँजी क्षयीकरण हुन थालेको छ। ऋण नउठेपछि बढेको खराब कर्जाले नोक्सानी थपिंदा बैंक तथा वित्तीय संस्थाको पुँजी क्षयीकरण हुन थालेको हो।
लगानीयोग्य रकम (तरलता) पर्याप्त भए पनि खराब कर्जामा वृद्धिले पुँजीकोष संकुचित हुन थालेको छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा वाणिज्य बैंकहरुको लगानी क्षमता ११ खर्ब रुपैयाँभन्दा बढी भए पनि पुँजी क्षयीकरणले व्यवसाय विस्तार प्रभावित हुने देखिन्छ।
गत असार मसान्तमा वाणिज्य बैंकहरुको प्राथमिक पुँजीकोष अनुपात १०.०५ प्रतिशत रहेकामा अहिले ९.८८ प्रतिशतमा झरेको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ ऋण असुली प्रभावित भएकाले त्यसले प्रोभिजनिङ बढेर पुँजीकोष संकुचन भएको बताउँछन्।
‘कर्जाको माग बढ्न सकेको छैन। ब्याजदर घटेर ऋणीहरुको लागत आधा नै घटे पनि ऋण असुली भइरहेको छैन्,’ खालिङले भने, ‘पुरानो ऋण उठाउन गाह्रो भइरहेका बेला जेनजी आन्दोलनपछि नियमित कर्जा असुलीमा समेत समस्या देखिएको छ।’
ऋण असुली प्रभावित हुँदा खराब कर्जा बढेर नोक्सानी थपिएकाले पुँजीकोष घट्दै गएको उनको भनाइ छ।
‘गत वर्षदेखि प्रणालीमा निरन्तर तरलता बढ्दै आइरहेको छ। तर कर्जा प्रवाह र असुली ठप्प जस्तै छ। कर्जा नजाने, अनि असुली पनि प्रभावित भएपछि त्यसले पुँजी संकुचित हुन पुगेको छ,’ खालिङले भने।
अधिक तरलता भए पनि पुँजीकोष चाप भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी बढाउन सक्दैनन्। अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.५३ प्रतिशत छ। यसलाई हेर्दा बैंकहरुको लगानी क्षमता राम्रो देखिन्छ।
तर, एडुकेसी फेमवर्क २०१५, अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले साढे ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ।
पुँजीकोषको सीमा कायम गर्न नसके उनीहरुले ऋण असुली गरेर मात्रै व्यवसाय विस्तार गर्न पाउँछन्। बैंकहरुको ऋण असुली बिग्रिंदै जाँदा बढेको खराब कर्जा नोक्सानी थपिंदा पुँजीकोष घट्दै गइरहेको छ।
राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनाल लगानीयोग्य रकम पर्याप्त भए पनि ऋण असुली प्रभावित हुँदा त्यसले पुँजीकोष दबाब बढाएको बताउँछन्।
‘हाम्रो सीडी रेसियो ६० प्रतिशतको हाराहारीमा छ। यसले हाम्रो लगानी क्षमता ३० प्रतिशत देखिन्छ,’ खनालले भने, ‘तर, ऋण असुली प्रभावित हुँदा पुँजीकोष विस्तारै संकुचित भइरहेको छ।’
पुरानो मात्रै नभएर नियमित कर्जामा देखिएको समस्याले अधिकांश बैंकहरुमा पुँजीकोष घटेर व्यवसाय विस्तारमा समस्या आउने देखिएको उनको भनाइ छ।
‘निक्षेपको ब्याजदर उच्च दरले घटेको छ। त्यसले बैंकहरुको लागत घटाउन मद्दत पुगेको छ। तर, ऋण असुली सुधार नहुँदा खराब कर्जा बढिरहेको छ,’ खनालले भने, ‘खराब कर्जा बढ्दा कर्जा नोक्सानी थपिएर पुँजीकोषमा चाप देखिएको हो। जसले गर्दा लगानीमा समेत असर गर्छ।’
चालु आर्थिक वर्ष कात्तिक पहिलो सातासम्म वाणिज्य बैंकहरुबाट ४१ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ। सोही अवधिमा २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
कर्जाको सुस्त माग र नियमित असुली प्रभावित हुँदा वाणिज्य बैंकहरुको नाफा भदौमा संकुचित भएको छ।