BIZMANDU
www.bizmandu.com

संसद् पुनर्स्थापनाका लागि एमालेले शक्ति प्रदर्शन गर्ने, महाधिवेशन प्रतिनिधि एकै दिन छान्ने

२०८२ कात्तिक १५

संसद् पुनर्स्थापनाका लागि एमालेले शक्ति प्रदर्शन गर्ने, महाधिवेशन प्रतिनिधि एकै दिन छान्ने
संसद् पुनर्स्थापनाका लागि एमालेले शक्ति प्रदर्शन गर्ने, महाधिवेशन प्रतिनिधि एकै दिन छान्ने

काठमाडौं। नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशभर शक्ति प्रदर्शन गर्ने भएको छ। वडादेखि केन्द्रसम्मै आन्दोलन गर्ने एमालेको सचिवालयको शनिबारको बैठकले निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

भदौ २७ गते प्रतिनिधि सभा विघटन भएर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएकोप्रति विरोध जनाउँदै एमालेले आन्दोलनको घोषणा गरेको हो। ‘संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि जनपरिचालन अन्तर्गत ६ हजार ७४३ वडामा कात्तिक २२ गते जनभेला गर्ने निर्णय भएको छ’, उपमहासचिव प्रदीप ज्ञवालीले भने।

कात्तिक २५ गते पालिकामा तथा कात्तिक २९ गते जिल्लामा शक्ति प्रदर्शन गर्ने एमालेको निर्णय छ। मंसिर ६ गते काठमाडौंमा शक्ति प्रदर्शनस्वरुप आमसभा गर्ने ज्ञवालीलेले बताए। एमालेले सुशीला कार्की नेतृत्वको सरकारको विकल्पमा सर्वपक्षीय अर्को सरकार गठन गरेर मात्रै चुनावमा जानुपर्ने प्रस्ताव अघि सारिसकेको छ।

एकै दिन प्रतिनिधि छनोट
एमालेले मंसिर २७ देखि २९ गते एघारौं महाधिवेशन गर्ने निर्णय यसअघि नै केन्द्रीय कमिटीबाट गरेको थियो।महाधिवेशनस्थल भने पोखराबाट काठमाडौं सार्ने निर्णय सचिवालयले गरेको छ।

महाधिवेशन प्रतिनिधि मंसिर १३ गते एकै दिन चयन गरिने भएको छ। ‘६ लाख ६७ हजार ६३० पार्टी सदस्य मध्यबाट मंसिर १३ गते देशैभर एकैसाथ प्रतिनिधि चयन हुनेछ,’ ज्ञवालीले भने। मंसिर १५ गतेभित्र चयन भएका प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ।

एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गर्न लागेको हो। एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १२ सय पार्टी सदस्य बराबर २ जना खुला प्रतिनिधि चयन हुने छन्। ‘एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ४ जना प्रतिनिधि हुनेछन्,’ उनले भने।

त्यसबाहेक ८०० सदस्य थपिंदै जाँदा थप १ जना प्रतिनिधि चयन हुनेछन्। त्यसमध्ये पहिलो महिला अनिवार्य हुनेछ भने न्यूनतम एक तिहाइ महिला सुनिश्चित गर्ने एमालेको भनाइ छ।

दलित पार्टी सदस्यका लागि जिल्ला इकाई हुनेछ। हरेक ५ सय दलितबाट एक प्रतिनिधि निर्वाचित हुनेछन्। ट्रेड युनियनका लागि प्रदेशलाई इकाई मानिने छ। जसअनुसार प्रदेशबाट २ जना महिला र ५ जना खुला गरेर ७ जना हरेक प्रदेशबाट ट्रेड युनियनबाट प्रतिनिधि निर्वाचित हुनेछन्।

२३ जनसंगठनमध्ये प्रत्येकबाट २ जना महिला र ३ जना खुला गरेर ५ जना अनिवार्य प्रतिनिधि चयन गर्ने एमालेको निर्णय छ। ‘महासंघीय ढाँचाका जनसंगठनबाट ७ जना निर्वाचित हुनुहुने छ। ३२ वटा विभागबाट हरेकबाट एक जना र केन्द्रीय कार्यालयबाट १ जना चयन हुनेछन्,’ प्रतिनिधि चयनको ढाँचाबारे एमालेले भनेको छ।

प्रदेश कमिटीबाट ३ जना खुला र २ जना महिला गरेर ५ जना निर्वाचित हुनेछन्। प्रवासमा ६ वटा महादेशस्तरबाट प्रत्येकबाट ५ जनाका दरले निर्वाचित हुनेछन्। निर्वाचित र पदेन गरी करिब २१ सय हाराहारी प्रतिनिधि चयन गर्न लागिएको हो।