काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि नयाँ सुरक्षा निर्देशन जारी गरेको छ।
क्यानले बुधबार अल्टिच्युड एयरको ‘नाइनएन–एएमएस’ हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनाग्रस्त भएपछि हेलिकप्टर कम्पनीहरूलाई नयाँ सुरक्षा निर्देशन जारी गरेको हो।
क्यानले हिउँले ढाकेको वा बाक्लो कुहिरो रहेको अवस्थामा व्यावसायिक उडान नगर्न तथा हिउँले ढाकेको ठाँउमा अवतरण गर्दा स्किडमा ‘वेयर पाज’ अनिवार्य प्रयोग गर्न भनेको छ।
त्यस्तै, उच्च स्थानमा हुने उडानका लागि सम्भव भएसम्म ‘मार्सलर’ (ग्राउन्ड गाइड) राखेर उडान र अवतरण गराउन पर्ने छ। हेलिप्याडमा उडान र अवतरण गर्नु अगाडि हिउँ तथा अन्य वस्तु हटाउनु पर्नेछ।
एयर डाइनेष्टी, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर, फिष्टेल एयर, हेली एभरेष्ट, कैलाश हेलिकप्टर, मनाङ एयर, माउन्टेन हेलिकप्टर, मुस्ताङ हेलिकप्टर, प्रभु हेलिकप्टर, श्री एयरलाइन्स र सिम्रिक एयरले क्यानको नयाँ निर्देशन कार्यान्वयन गर्नुपर्नेछ।
