काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का पूर्वकार्यकारी अध्यक्ष युवराज अधिकारीले बिहीबार केही कर्मचारीलाई आफू फर्किने भन्दै टेलिफोन गरे।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार र अनियमितताको दलदलमा परेका अधिकारीलाई कुनै हालतमा नल्याउने स्पस्ट सन्देश दिएपछि केही हच्किएका उनले बिहीबार अचानक आफू फर्किन सक्ने भन्दै टेलिफोन गरेपछि कर्मचारीहरु आश्चर्यचकित बने।
‘तपाइँहरु राम्रोसँग काम गर्नुहोला। आज क्याविनेट मिटिङ छ। म फेरि आउँछु,’ उनले कर्मचारीसँग गरेको कुराकानी उद्धृत गर्दै एक कर्मचारीले बिजमाण्डूसँग भने।
अधिकारीले कर्मचारीलाई टेलिफोन गरेको विषय नकारेनन्। ‘मैले काम गरेको संस्था हो। राम्रो गर्नुस् भनेर भन्नु मेरो कर्तव्य नै होइन र,’ उनले बिजमाण्डूसँग भने, ‘म फर्किने कुरा सोचेको छैन र गरेको पनि छैन।’
अधिकारीको चार वर्षे कार्यकाल कात्तिक ७ गते सकिएको थियो। कार्यकाल सकिनुअगावै अधिकारीले फेरि दोहोरिन दौडधुप गरेका थिए। तर, प्रधानमन्त्री कार्कीले विवादित व्यक्तिलाई कुनै हालतमा नबोक्ने सन्देश दिइन्।
त्यति मात्र होइन, प्रधानमन्त्रीको सचिवालयले अधिकारीलाई अख्तियारले मुद्दा दायर गर्ने तयारी गरिरहेको जानकारी पनि दियो। त्यसपछि अधिकारी हच्किएका थिए।
चार वर्षे कार्यकालमा अनेकौं विवादमा परेका अधिकारीलाई विभागीयमन्त्रीले कारबाहीको हिम्मत गरेनन्। बरु एकपछि अर्को पर्यटनमन्त्रीले अधिकारीलाई बोक्ने काम गरे।
एनएसीका कर्मचारीका अनुसार कुनै समस्या आए खुट्टै समातेर रुनसक्ने र पर्यटनमन्त्रीको ह्याउ र स्वभाव अनुसार ‘सर्भ’ गर्नसक्ने खुबी अधिकारीसँग छ।
कतै त्यही खुबी देखाएर अधिकारी फेरि दोहोरिन लागेका त होइनन् भन्ने भय एनएसीका कर्मचारीमा उनकै टेलिफोनबाट उत्पन्न भएको छ। ‘नेपालको राजनीतिमा सबैभन्दा फिट पात्र उहाँ हुनुहुन्थ्यो। त्यस्तो व्यक्तिले अहिलेको सरकारसँग पनि केही मिलाएर आउने वातावरण तयार पारे की,’ ती कर्मचारीले संशकित हुँदै भने।
तर, प्रधानमन्त्री कार्की निकट स्रोतहरुले अधिकारी दोहोरिने सम्भावना नरहेको स्पस्ट पारेको छ। ‘अहिलेको सरकारले कुनै मोलाहिजामा परेर निर्णय गर्छ भन्ने नसोच्नु होला। त्यसमा पनि चार वर्ष निगमलाई दोहन गरेर ठूलो संकटमा पार्नेलाई नियुक्ति दिने कुरा सोच्न पनि सकिंदैन,’ स्रोतले भन्यो, ‘उहाँले कल्पना गर्न चाहिं पाउनुहुन्छ।’
नयाँ नेतृत्व नआउँदा खेल्ने ठाउँ
अधिकारीको कार्यकाल सकिएपछि सरकारले कसैलाई पनि कार्यबाहककव जिम्मेवारी दिएको छैन। अधिकारीले अवकाश पाउनु केही दिनअघि कात्तिक ४ गते उपप्रबन्ध निर्देशक डोलेश्वर कोइरालालाई निमित्त दिएका थिए।
अधिकारीले आफूसँग निकट रहेर काम गरेकै आधारमा कोइरालालाई निमित्त दिएका हुन्। एनएसीभित्र कोइराला भन्दा सिनियर जनक कालाखेती हुन्। कालाखेती सुरुवातदेखि नै अधिकारीको कार्यशैलीको विरोधमा थिए।
विवादास्पद अधिकारीले कोइरालालाई निमित्त दिए पनि पर्यटन मन्त्रालयले आधिकारिकरुपमा केही भनेको छैन। पर्यटन मन्त्रालय अहिले प्रधानमन्त्री कार्कीसँगै छ।
पर्यटनमन्त्री नियुक्त नभएका कारण पूरानै नेतृत्वले खेल्न खोजिरहेको स्रोतले बतायो। ‘मन्त्रालयले निर्णय नगर्दा एनएसीको दैनिक कामकारवाहीमा समेत अप्ठेरो अवस्था आइसकेको छ,’ एक कर्मचारीले भने, ‘४२ करोड भुक्तानी नगरेको भन्दै इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड(आईएआई)ले सम्झौता रद्द गरेको छ। त्यो जहाज ग्राउण्डेड हुने अवस्था आएको छ। तर, यहाँ नेतृत्व नहुँदा यस्ता निर्णय गर्न अप्ठेरो परिसकेको छ।’
आईएआईले बुधबार इमेलमार्फत इन्जिन भाडा सम्झौता रद्द भएको जानकारी दिएको थियो। ती कर्मचारीले वायुसेवासँग जोडिएको संवेदनशील मुद्दामा सरकारले तत्कालै निर्णय गर्नुपर्नेमा ढिलाई हुँदा झन् समस्या भएको छ।
‘दैनिक सेवा दिने त्यो पनि वायुसेवा जस्तो संवेदनशील संस्थामा नेतृत्व तत्कालै दिनुपर्ने हो। ढिलाई हुँदा झन् बिग्रिन्छ,’ ती कर्मचारीले भने।
पर्यटन मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म प्रधानमन्त्री कार्कीले कुनै निर्देशन दिएकी छैनन्। ‘एनएसीको नेतृत्वका विषयमा कुनै निर्देशन आएको छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘एनएसीमा नेतृत्व नहुँदा समस्या आउँछ भन्ने हामीले पनि बुझेका छौं। तर, उताबाट केही निर्देशन नआए केही गर्नसक्ने अवस्था भएन।’