काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डबारे चासो राखेकी छन्।
उनले बिहीबार सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असरबारे अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न निर्देशन समेत दिएकी छन्।
सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र यस विषयमा कूटनीतिकरुपमा समाधान खोजिनुपर्ने बताए। प्रधानमन्त्री कार्कीले सचिव पुष्करलाई परराष्ट्र र अर्थ मन्त्रालयसँग पनि समन्वय गर्न भनेकी छन्।
नेपालमा हाल करिब १२०० वटा म्यानपावर कम्पनी रहेकामा ९०० वटाले मलेसियामा श्रमिक पठाउँदै आएका छन्।
तर, मलेसियाले नेपालसहित ५ वटा स्रोत देशबाट श्रमिक पठाउने म्यानपावर कम्पनीका लागि १० बुँदे मापदण्ड निर्धारण गरेको छ। तोकिएको मापदण्ड पूरा नगर्ने म्यानपावर कम्पनीबाट मलेसियाले श्रमिक लाने छैन। नयाँ मापदण्ड अनुसार करिब एक दर्जन ठूला कम्पनी मात्र मलेसियामा श्रमिक पठाउन योग्य हुनेछन्।
मलेसियाले तोकिएको मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीको सूची कात्तिक २९ गतेभित्र उपलब्ध गराउन सरकारलाई पत्र समेत पठाइसकेको छ।