BIZMANDU
www.bizmandu.com

यूएईलाई नेपालले दियो २३४ रनको लक्ष्य, कप्तान पौडेलको संयमित शतक

२०८२ कात्तिक १३

यूएईलाई नेपालले दियो २३४ रनको लक्ष्य, कप्तान पौडेलको संयमित शतक
यूएईलाई नेपालले दियो २३४ रनको लक्ष्य, कप्तान पौडेलको संयमित शतक

काठमाडौं। नेपाली क्रिकेट टोलीले यूएईसामू २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

त्रिदेशीय सिरिज अन्तर्गत यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा टस जितेर नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिए। उनैको शतकप्रेरित नेपाललाई घरेलु टोलीसामू ठीकठाक लक्ष्य सेट गर्न सफल भयो।

ओपनर कुशल भुर्तेल ४.१ ओभरमा पहिलो विकेटका रुपमा ७ रन बनाउँदै हैदर अलीको बलमा बोल्ड आउट भएर पभेलियन फर्किए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्की ३ रन बनाएर मोहम्मद रोहिदको बलमा ७.३ ओभरमा एलबीडब्लु आउट भए। त्यसबेला नेपाल ७.३ ओभरमा २६-२ को अवस्थामा थियो।

चौथो नम्बरमा आएका कप्तान रोहितको पहिलो साझेदारी जम्यो ओपनर आशिफ शेखसँग। यी दुईले ५८ बलमा ३५ रनको साझेदारी गरे। १७.१ ओभरमा ३५ रन बनाएका आशिफ शेख जुनैद सिद्धिकीको बलमा क्याचआउट हुँदा पहिलो साझेदारी टुट्यो। भाइ आशिफ शेखको स्थानमा क्रिज सम्हाल्न आइपुगे उनका दाजु आरिफ।

आरिफ र रोहितले चौथो विकेटका लागि ९३ बलमा ७० रनको साझेदारी गरे। ३२.४ ओभरमा आरिफ सिद्धकीकै बलमा बोल्ड आउट भए। त्यसपछि आएका उपकप्तान दीपेन्द्रसिंह ऐरीले २३ रन बनाउने क्रममा पौडेलसँग ५२ बलमा ५४ रनको साझेदारी गरे। उनी २३ रन बनाएर रनआउट भए।

ऐरी लगत्तै आएका गुल्सन झा डकआउट हुँदा सोमपाल कामीले १३ रन बनाए।

नेपालका लागि सर्वाधिक १०९ रन बनाएका कप्तान रोहितकुमार पौडेलले नेपालको इनिङ्स अघि बढाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेले। उनले १३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।

रोहितको यो दोस्रो ओडीआई शतक हो। यसअघि उनले पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए। त्यसबेला उनले १२६ रन बनाएका थिए।  

अन्तिम ओभरमा दुई बाउन्ड्री प्रहार गरेका करण केसीले १३ रन बनाउँदा सन्दीप लामिछाने ३ रनमा अविजित रहे। इनिङ्सको अन्तिम दुई बलमा करण केसी र ललित राजवंशीको विकेट गुम्यो।

यूएई केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।