काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वीरगंज नाका भएर ३८ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा एक अर्ब ६ करोड रुपैयाँ रकमले कमी आएको आएको छ।
जबकी गत आर्थिक वर्षको तीन महिनाको अवधिमा भने ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आर्थिक वर्षको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताए।
वीरगंज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १५ अर्ब ७२ करोड मूल्य पर्ने एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ। सो डिजेल आयातबाट ६ अर्ब ९६ करोड राजस्व संकलन भएको छ।
चालु आर्थिक वर्षको तीन महिनामा १० अर्ब ७२ करोड मूल्य पर्ने एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात भएको छ। सो पेट्रोल आयात हुँदा ७ अर्ब ९ करोड राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ७ अर्ब ४९ करोड मूल्य पर्ने सात करोड ३९ लाख ७७ हजार २७१ किलोग्राम एलपि ग्यास आयात भएको छ। रासस