काठमाडौं। हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पश्चिमी वायुको सक्रिय प्रभाव तथा अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तोमा वर्षाका कारण विभिन्न नदीहरूमा पानीको सतह बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क गराएको छ।
‘मोन्था’ चक्रबातको प्रभावले आगामी तीन दिन कोशी, मधेश र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसअनुसार कोशी, बागमती, कमला, कन्काई, पूर्वी राप्ती र तीसँग सम्बन्धित सहायक नदीहरूको बहाव सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको महाशाखाको विशेष बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख छ।


बिहीबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
शुक्रबार र शनिबार पनि कोशी, मधेश र बागमती प्रदेशका केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ। महाशाखाले सतर्क रहन र बाढी प्रभावित हुन सक्ने क्षेत्रमा आवश्यक तयारी गर्न आग्रह गरेको छ।