BIZMANDU
www.bizmandu.com

जेनजीका प्रतिनिधि चुनावको पक्षमा, प्रधानमन्त्री कार्कीले भनिन्- देश हामीले नबनाए कसैले बनाइदिँदैन

२०८२ कात्तिक १२

जेनजीका प्रतिनिधि चुनावको पक्षमा, प्रधानमन्त्री कार्कीले भनिन्- देश हामीले नबनाए कसैले बनाइदिँदैन
जेनजीका प्रतिनिधि चुनावको पक्षमा, प्रधानमन्त्री कार्कीले भनिन्- देश हामीले नबनाए कसैले बनाइदिँदैन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले देश सबैले मिलेर बनाउनुपर्ने बताएकी छन्।

Tata
GBIME
Nepal Life

उनले निर्वाचनको वातावरण बनाउने पहलस्वरुप बुधबार बालुवाटारमा आफूले राखेको त्रिपक्षीय बैठकमा सरकार, राजनीतिक दल र जेनजीबीच बारम्बार सम्वाद हुनुपर्ने पनि बताइन्।

‘मुलुक हाम्रो हो। हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन,’ कार्कीलाई उद्यृत गर्दै उनका प्रेस संयोजक रामबहादुर रावलले भने, ‘एकपटकको कुराकानीले हुँदैन। बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ। सबै विचारको आदानप्रदान गरौँ।’

बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीका अलावा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्।

यस्तै जेनजीका तर्फबाट मोनिका निरौला, रक्षा बम, मिराज ढुंगाना, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, दिवाकर दंगाल, सागर ढकाल, अमित खनाल र राजन रानामगर सहभागी रहेको प्रधामन्त्री कार्कीको सचिवालयले जनाएको छ।

राजनीतिक दलका तर्फबाट विभिन्न दलका नेता सहभागी छन्। कांग्रेसका तर्फबाट डा. प्रकाशशरण महत र वसन्त कुशवाहा, एमालेका तर्फबाट महेश बर्तौला र क्षितिज थेबे, रास्वपाका तर्फबाट डा. स्वर्णिम वाग्ले र निशा डाँगी, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा सहभागी छन्।

यस्तै राप्रपाका राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र प्रकाश ज्वाला तथा जसपाका प्रकाश अधिकारी र दीपक कार्की छलफलमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा जेनजीका प्रतिनिधिले चुनाव गर्नुपर्नेमा जोड दिएका छन्।

‘हामीलाई चुनाव चाहिएको छ, गर्नुपर्छ। तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’जेनजी प्रतिनिधिको भनाइ उद्यृत गर्दै रावलले भने, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। भष्टाचारविरुद्ध कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’