काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा बाटामा हिँडिरहेकाहरुको घाँटीमा रहेको सुनको सिक्री लुट्ने ग्याङलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको छ। एक जनाले मोटरसाइकल चलाउने र अर्को जना पछाडि बसेर सिक्री लुट्ने गरेको देखिएको छ।
पक्राउ पर्नेमा लुटपाटमा संलग्न र ती गरगहना किन्नेसहित पाँच जना छन् । पक्राउ परेकामध्ये सिन्धुली हरिहरगढी-६ का २८ वर्षीय राज लामा र उदयपुरको ताप्ले-४ का २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर मुख्य लुटेरा रहेको प्रहरीले जनाएको छ। लामा मोटरसाइकल चलाउने र पछाडि सवार दुर्गाले बटुवाका घाँटीको सुनको सिक्री तान्ने गर्थे।
लुटिएको सिक्री खरिद गर्ने गरेको आरोपमा पक्राउ पर्नेमा सल्लाघारीस्थित श्री लक्ष्मी ज्वेलर्सका सञ्चालक रामेछापको लिखु तामाकोसी-६ का ३२ वर्षीय कोदिलबहादुर बिक, सरस्वतीनगरमा बागलुङ कालिका ज्वेलर्स सञ्चालन गर्दै आएका ४० वर्षीय गोविन्द सुनार र कामपा-२२ का २२ वर्षीय दीपेश रसाइली छन्। सुनार बागलुङको गलकोट-२ का हुन् भने रसाइली काठमाडौं-२२ को मनु जेम्स एण्ड ज्वेलर्स सञ्चालक सन्तोष सुनारका छोरा हुन्। बिक, सुनार र रसाइलीले लुटिएको सामान किन्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
यो लामा र मगरको समूहले विभिन्न मितिमा काठमाडौं उपत्यका भित्र सुनको सिक्री लुटेको देखिएको छ। ७ वटा घटनाको जाहेरी आएपछि प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो। मगर र लामा यसअघि पनि आपराधिक घटनामा पक्राउ परेर कारागारबाट छुटेको खुलेको छ।
पक्राउ परेकाहरुलाई बरामद सुनका गरगहना, मोबाइल, मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी पवनकुमार भट्टराईले बताएका छन्।