पर्वतारोही जिम मोरिसन सगरमाथाको उत्तरी क्षेत्रमा स्की गर्दै बायाँतिर उफ्रिए, जसले खोल्साहरुमा हिउँका टुक्राहरु झार्यो। त्यसपछि उनी दायाँतिर उफ्रिए – हावामा अक्सिजनको मात्रा न्यून थियो, त्यसले उनको सास फुलेको थियो।
उनको तलतिर करिब ९,००० फिट (२,७०० मिटर) गहिरो हिउँ, बरफ र ढुंगाको भीर झरिरहेको थियो – पृथ्वीको सबैभन्दा निर्दयी स्की रन।
त्यो मार्ग मोरिसन अघि कहिल्यै कसैले स्की गरेको थिएन, मोरिसनले त्यो बाटो खोले।
‘यो भयावह हिउँमा स्की गर्दै बिताएको चार घण्टाको अद्भुत अनुभव थियो,’ मोरिसनले अक्टोबर १५ का दिनको ऐतिहासिक स्की अवतरणबारे मंगलबार एसोसिएटेड प्रेसलाई बताए।
मोरिसनले सगरमाथाको कुख्यात उत्तरमुख (नर्थ फेस) हुँदै हर्नबाइन कूलोयरबाट १० अन्य पर्वतारोहीहरू र चलचित्रकर्मी जिम्मी चिनसँगै आरोहण गरे। चिनले मोरिसनको यो यात्राबारे वृत्तचित्र बनाउँदैछन्। उनी नै ‘फ्री सोलो’ नामक चर्चित वृत्तचित्रका निर्देशक हुन्, जसमा एलेक्स होन्नोल्डले योजेमिटी पार्कको एल क्यापिटान पर्वत डोरीबिनै आरोहण गरेका थिए।
यो यात्रा स्कीइङको फ्री सोलो बराबर भएको चिन बताउँछन्।
भन्छन्, ‘यदि स्कीको धार चिप्लियो वा तपाइँ सन्तुलन गुमाउनुभयो भने, तपाइँ समाप्त, नौ हजार फिट तल झर्नुहुन्छ।”
यो स्की रन सगरमाथाको २९,००० फिट (८,८०० मिटर) माथिबाट सुरु हुन्छ, जसलाई ‘डेथ जोन’ भनिन्छ, जहाँ मानिस धेरैबेर बाँच्न सक्दैनन्।
‘ठूला पर्वत र आरोहणको कुरा गर्दा, यो चन्द्रमामा झर्ने जस्तै हो,’ लेखक जेरेमी इभान्स भन्छन्, जसले २००२ मा यसै मार्गबाट स्की गर्न खोज्ने अन्तिम व्यक्ति मार्को सिफ्रेडी बारे किताब लेखेका छन्। सिफ्रेडी त्यस समयमा बेपत्ता भएका थिए।
यो साहसिक योजना मोरिसन र उनको जीवनसाथी, प्रख्यात स्की पर्वतारोही हिलारी नेल्सनले सँगै गरेका थिए। उनीहरू दुवै मिलेर यो यात्रा गर्न चाहन्थे, तर २०२२ मा नेल्सनको मृत्यु भएको थियो। घटना विश्वकै आठौं अग्लो पर्वतमा स्की गर्दैगर्दा भएको थियो। त्यसपछि यो यात्रा मोरिसनले उनी दुवैको सपना पूरा गर्नका लागि गरे।
सगरमाथाको फेदमा, शिखरसम्म चार दिनको आरोहण अघि, उनीहरूले टाउको माथि उठाएर त्यो भीषण पर्खाल हेरे।
‘हामीले जीवनभर ठूला पर्वतहरू चढ्यौं,’ चिनले भने, ‘तर यो जस्तो डर लाग्दो आरोहण लक्ष्य मैले अहिलेसम्म देखेको छैन।’
यस मार्गबाट केवल पाँच जना मानिसले मात्र पहिले आरोहण गरेका थिए,र १९९१ पछि कसैले पनि गरेको थिएन। अन्य लोकप्रिय मार्गहरू पर्वतको रेज पछ्याएर जान्छन्, तर यो ‘सुपर डायरेक्ट’ मार्ग हो, सीधा माथि, र फेरि सीधा तल।
१२ सदस्यीय टोलीले हिउँ, ढुंगा र बरफका टुक्रा हुँदै आरोहण सुरु गर्यो, जहाँ ढुंगाझर र हिमपहिरोको खतरा सधैं थियो।
उनीहरूले यस्तो समय छाने जसमा स्की गर्न पर्याप्त हिउँ होस् र अवस्था पनि सुरक्षित होस्। रातमा उनीहरूले हिउँ र बरफमा स–साना ठाउँ काटेर सुत्ने ठाउँ बनाउँथे, सधैं रस्सीमा बाँधिएर।
एक रात, हावाले उनीहरूको टेन्ट उडाउन खोज्दा हिउँ झरी पर्न थालेको थियो, चिन सम्झन्छन्।
मोरिसन सुत्न गए। चिनलाई पनि सुत्नै थियो — उनीहरूले सकेसम्म पर्वतमा सुरक्षित बाँधिएका थिए।
‘त्यसैले मैले कानमा इयरप्लग राखें,’ चिन भन्छन्, ‘किनभने यदि हामी उड्यौं भने, मलाई थाहा नहोस् भनेर।’
सूर्य उदायो।
मोरिसनले स्की गर्नुपर्ने हिउँ परीक्षण गर्दै अघि बढे। ‘जे देख्थें, सबै डर लाग्दो देखिन्थ्यो। हिउँको अवस्था अत्यन्त खराब थियो,’ उनले भने। तर मोरिसन अघि बढिरहे – मनमा हिलारीको सम्झना लिएर।

‘जति माथि पुग्थेँ, डेथ जोनमा जति गइरहन्थेँ, त्यति म उनको नजिक हुँदै गइरहेको महसुस हुन्थ्यो,’ उनी भन्छन्।
शिखरमा सूर्य चम्किरहेको थियो। चारैतिर हिमालयका पर्वतहरू फैलिएका थिए। उनीहरूले उत्सव मनाए, सेल्फी खिचे। मोरिसनले हिलारीका केही अस्थी छरे।
त्यसपछि मोरिसनले स्की लगाएर सहयात्रीहरूतर्फ हेर्दा महसुस गरे, ‘अब म अर्कै संसारमा छु। म पूर्ण रूपमा एक्लो छु।’
उनी तल झरे, नियन्त्रित भएर उफ्रेर मोड्दै।
उनले वर्षौंदेखि अध्ययन, कल्पना, अवलोकन र सपना देखेको बाटो उनको मनमा चलिरहेको थियो। उनले पतनको होइन, केवल अर्को मोडको सोच गरिरहेका थिए।
त्यो उचाइमा हरेक सास कठिन थियो। पछि उनले साथीहरूलाई म्यासेज पठाए – ‘अवस्था भयानक थियो, तर म धेरै ठाउँ स्की गर्न सफल भएँ।’
कतिपय ठाउँमा उनले रस्सी प्रयोग गरे, तर अपेक्षाभन्दा कम।
अन्त्यतिर पुग्दा, सुरक्षित क्षेत्रमा प्रवेश गर्दा, उनले गहिरो सास फेरे।
उनी कराए, रोए, र हिलारीसँग कुरा गरे।
भोलिपल्ट बिहान उनले फर्केर त्यो नर्थ फेस हेरे।
‘मलाई महसुस भयो – हिलारी त्यहाँ थिइन्, बिलकुल माथि, संसारको शिखरमा,’ उनले भने। (एपी)