BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो, अमेरिका-चीन वार्ताअघि ३ सातायताकै न्यूनतम विन्दुमा

२०८२ कात्तिक १२

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो, अमेरिका-चीन वार्ताअघि ३ सातायताकै न्यूनतम विन्दुमा
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो, अमेरिका-चीन वार्ताअघि ३ सातायताकै न्यूनतम विन्दुमा

अमेरिका-चीन व्यापार वार्ताको एक दिनअघि सुनको मूल्य ३ साताको न्यूनतम स्तरमा झरेको छ। सुरक्षित लगानीको रूपमा चिनिने सुनप्रति लगानीकर्ताको आकर्षण घटेको हो

Tata
GBIME
Nepal Life

लगानीकर्ताहरूको ध्यान अब अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को ब्याजदर सम्बन्धी निर्णयतर्फ केन्द्रित छ।

सुन हाल १.३६ प्रतिशतले घटेर प्रति औंस ३,९५०.९७ डलरमा कारोबार भइरहेको छ। अक्टोबर ६ पछि पहिलोपटक सुनको मूल्य यति न्यून स्तरमा पुगेको हो।

यस वर्ष सुनको मूल्य ५१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। भू-राजनीतिक तनाव, व्यापार अस्थिरता र अमेरिकी ब्याजदर घट्ने अपेक्षाले सुनलाई निरन्तर मजबुत बनाएको थियो। तर, हाल अमेरिका-चीन व्यापार तनावमा सुधारको सम्भावनाले सुरक्षित लगानीका धातुहरूमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूले जनाएका छन्।

किटको मेटल्सका वरिष्ठ विश्लेषक जिम वाइकफले अमेरिका र चीनबीच व्यापार तनाव निकै घटेको बताए।

‘यो साता राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति ट्रम्पबीच हुने बैठकपछि सम्भावित व्यापार सम्झौताले सुन र अन्य सुरक्षित लगानी धातुहरूका लागि कमजोर संकेत दिएको छ,’ उनले भने।

यो साता शीर्ष अमेरिकी र चिनियाँ आर्थिक अधिकारीहरूले सम्भावित व्यापार सम्झौताका लागि रूपरेखा तय गरेका छन्। उक्त रूपरेखालाई दुवै देशका राष्ट्रपतिले बिहीबार हुने बैठकमा समीक्षा गर्ने अपेक्षा गरिएको छ। यसले विश्व बजारमा आशा जगाएको छ।

सोमबार वाल स्ट्रिटका मुख्य सूचकांकहरू नयाँ रेकर्ड विन्दुमा खुलेका थिए। लगानीकर्ताहरू अब फेडरल रिजर्भको दुईदिने नीतिगत बैठकको परिणामको प्रतीक्षा गरिरहेका छन्। अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुले कटौती गर्ने सम्भावना उच्च रहेको बजार विश्लेषकहरूको धारणा छ।

तर, सुनको भविष्य अझै अस्पष्ट रहेको बताइन्छ। केही विश्लेषकहरूले सुनको मूल्य अझै उकालो लाग्ने विश्वास राखेका छन् भने केहीले सावधानी अपनाउन सुझाव दिएका छन्।

लन्डन बुलियन मार्केट एसोसिएसनको वार्षिक बैठकमा सहभागीहरूले आगामी १२ महिनामा सुनको मूल्य प्रति औंस ४ हजार ९८० डलर पुग्ने अनुमान गरेका छन्। तर, सिटी बैंक र क्यापिटल इकोनोमिक्सले भने सोमबार आफ्ना सुन मूल्य पूर्वानुमान घटाएका छन्।

बैंक अफ अमेरिकाले जारी गरेको एक नोटमा भनिएको छ, ‘बजार अत्यधिक तातिएको अवस्थामा पुगेको थियो, जसले यस साता मूल्यमा देखिएको सुधार ल्यायो।’

बैंकले सुनको मूल्य चौथो त्रैमासमा प्रति औंस ३ हजार ८०० डलरको बियरिस लक्ष्य नजिक पुगेको उल्लेख गरेको छ।

सुनसँगै अन्य कीमती धातुहरूको मूल्यमा पनि मिश्रित प्रभाव परेको छ। स्पट सिल्भर ०.७ प्रतिशतले बढेर प्रति औंस ४७.२१ डलर पुगेको छ। यसअघि यो सेप्टेम्बर २६ पछि पहिलोपटक न्यून मूल्यमा पुगेको थियो। यस्तै, प्लाटिनम स्थिर रही प्रति औंस १ हजार ५८९.८७ डलरमा कारोबार भयो भने पेलाडियम ०.१ प्रतिशत घटेर १ हजार ४०१.६३ डलरमा पुगेको छ।

सुनको मूल्य घटे पनि बजारले यसलाई अस्थायी सुधारको रूपमा लिएको छ। व्यापारिक वार्ता र ब्याजदर निर्णयपछि बजार पुनः उतार-चढावमा जान सक्ने विश्लेषकहरूको अनुमान छ।