काठमाडौं। भदौ २४ गते जेनजीको नाममा काठमाडौंभित्र प्रहरीको कार्यालय जलाउने, तोडफोड गर्ने र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
जिल्ला अदालत काठमाडौंको आदेशमा वृत्त जनसेवामा आगजनीका आरोपित रोहित सरावगी र नीरज पोदारलाई थुनामा पठाइएको हो। त्यस्तै महाजगञ्ज वृत्तमा कार्यरत प्रहरीको हत्या अभियोगमा बुद्धिलाल थिङ, होमप्रसाद पौडेल, युवराज क्याप्छाकी र टिकाराम विकलाई थुनामा पठाइएको हो।
महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो। प्रहरीले अहिलेसम्म काठमाडौंबाट मात्र १ सय १० जनालाई पक्राउ गरेको छ। देशभर भने २ सय ४० जनाभन्दा बढी समातिएका छन्।
काठमाडौंमा समातिएकामध्ये ७२ जनालाई हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए। ‘केहीको अनुसन्धान सकिएको छ भने धेरैको अझै अनुसन्धान बाँकी छ। अझै केही समातिरहेका छौं,’ एसपी भट्टराईले भने।
त्यस्तै ३२ जना अझै हिरासतमा राखेर अनुसन्धानका क्रममा छन्। विभिन्न वृत्तहरूमा पहिले पनि मुद्दा रहेकाले उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो।