काठमाडौं। सुनको मूल्य घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ। मंगलबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ३७ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रति तोला २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।
मंगलबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रति तोला २ हजार ९ सय २० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रति तोला २ हजार ९ सय ८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ३९७६.१३ डलरमा आएको छ। चाँदी प्रति औंस ४६.६९ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस ४०६९.९९ डलर र चाँदी प्रति औंस ४८.०३ डलर थियो।
सुनलाई संकटको समयमा सुरक्षित लगानी मानिन्छ। जब विश्व बजारमा युद्ध, द्वन्द्व वा व्यापारिक तनावहरू कम हुने संकेत देखिन्छ, लगानीकर्ताहरू सुनबाट जोखिमयुक्त तर बढी नाफा हुने सेयर बजार वा अन्य सम्पत्तिमा आफ्नो पैसा सार्न थाल्छन्। अमेरिकाले विभिन्न मुलुकमाथि भन्सार शुल्क बढाउँदा सेयर बजारमा लगानी कारोबारको वातावरण तनावपूर्ण बनेको थियो। जसको असर सुनको भाउमा परेको थियो।
अमेरिका र चीन बीचको व्यापारिक वार्तामा सकारात्मक प्रगतिको संकेतसँगै सुनको माग घट्न थालेको छ। जसले विश्वबजारमा सुनमाथिको लगानी घट्न थालेको हो।