काठमाडौं। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा आयकर संकलनमा ९ प्रतिशतको गिरावट देखिएको छ।
अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोजसम्म ४६ अर्ब ९० करोड ६८ लाख रुपैयाँ आयकर संकलन भएको छ। गत आवको पहिलो त्रैमासमा ५१ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ आयकर संकलन भएको थियो।
भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्त:शुल्क र गैरकरलगायत अन्य सबै राजस्व शीर्षकमा वृद्धि देखिंदा आयकर संकलन भने करिब ५ अर्ब रुपैयाँले घटेको हो।
आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले पछिल्लो समय घरजग्गा कारोबार तथा सेयर बजारमा मन्दीका कारण पुँजीगत लाभकर संकलनमा गिरावट आएको बताए। ‘यसले समग्र आयकर प्रभावित बनाएको हो,’ उनले भने।
गत आवको पहिलो तीन महिनामा ८ अर्ब ७३ करोड रुपैयाँ ब्याज कर संकलन भएकामा यसपालि ७ अर्ब १६ करोड मात्रे उठेको छ।
पूर्वअर्थसचिव विद्याधर मल्लिक पनि ब्याज आम्दानीमा गिरावट र सेयर बजारको सुस्तताले आयकर प्रभावित भएको बताउँछन्। ‘पछिल्ला २/३ वर्षदेखि ब्याज आम्दानी ओरालो लागेको छ। सेयर कारोबारबाट उठ्ने कर पनि घटेको देखिन्छ,’ उनले भने।
सरकारले चालु आवको पहिलो तीन महिनामा ७१ अर्ब २२ करोड आयकर संकलन गर्ने लक्ष्य लिएकामा ६६ प्रतिशतमात्रै उठेको छ।

सामान्यतया वर्षको सुरुवातमा पुँजीगत खर्च निकै सुस्त हुन्छ। विकास निर्माणका कार्यले गति लिंदैन। तर पहिलो त्रैमासमा दसैंजस्ता ठूला चाडबाड हुने र यो बेला बजार माग अत्यधिक हुने समय हो। भन्सार विभागका अनुसार चालु आवको तीन महिनामा आयात १९ र निर्यात ९० प्रतिशतले बढेको छ।
यही कारण भन्सारतर्फको महसुल संकलन गत आवकोभन्दा बढी छ। गत आवको पहिलो तीन महिनामा ५१ अर्ब ९७ करोड संकलन भएको भन्सार महसुल चालु आवको असोजसम्म ५६ अर्ब ८६ करोड रुपैयाँ उठेको छ।
भन्सार महसुल, भ्याट र अन्त:शुल्कजस्ता कर वस्तु तथा सेवाको उपभोगसँग जोडिएका हुन्छन्। माग बढ्दा यी शीर्षकमा कर संकलनमा वृद्धि हुन्छ।
मन्त्रालयका अनुसार यसपालि असोजसम्म भ्याट ८ प्रतिशतले बढेको छ। गत आवको पहिलो त्रैमासमा ७५ अर्ब ८ करोड संकलन भएको भ्याट चालु आवको सोही अवधिमा ८१ अर्ब २३ करोड रुपैयाँ उठेको छ।
त्यसैगरी अन्त:शुल्क संकलन १९ प्रतिशतले बढेको छ। यसपालि तीन महिनामा ४७ अर्ब ८३ करोड रुपैयाँ अन्त:शुल्क संकलन भएको छ। यो रकम गत वर्ष पहिलो तीन महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँमा सीमित थियो।